कांग्रेसको इतर समूहबाट मन्त्री को-को, शपथ कहिले ?

काठमाडौँ । वर्तमान पुष्पकमल दाहाल नेतृत्वको गठबन्धन सरकारमा प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले गठबन्धनमा आबद्ध दलहरूको सहमतिमा ८ मन्त्री र एक राज्यमन्त्री पाएको थियो ।
कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा‚ सहरी विकास‚ युवा तथा खेलकुद‚ संघीय माकिला तथा सामान्य प्रशासन‚ स्वास्थ्य तथा जनसंख्या र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय पाउने सहमति १६ चैतमा भएको थियो । तर, पार्टीभित्रको आन्तरिक सहमति नमिल्दा अहिलेसम्म कांग्रेसले ५ मन्त्रीमात्रै सरकारमा पठाएको छ ।
पार्टीभित्रको संस्थापन र संस्थापन इतर समूहबीच सहमति नहुँदा अहिलेसम्म आफूले पाएका पूरै मन्त्रालयमा कांग्रेसले नाम पठाउन नसकेको हो ।
कांग्रेसबाट उपप्रधानमन्त्रीसहित सरकारमा पार्टीको तर्फबाट नेतृत्व गरेर उपसभापति पूर्णबहादुर खड्का गएका छन् । त्यस्तै अर्थमन्त्रीमा प्रकाशशरण महत, परराष्ट्रमन्त्रीमा नारायणप्रकाश (एनपी) साउद, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा रमेश रिजाल र सहरी विकासमन्त्रीमा सीता गुरुङलाई सभापति शेरबहादुर देउवाले मन्त्री बनाएर पठाएका छन् । साउदलाई बैशाख ३ गते र अन्य चार मन्त्रीलाई १७ चैतमा प्रधानमन्त्री दाहालले मन्त्री बनाएका थिए ।
सरकारमा कांग्रेसबाट सहभागी सबै मन्त्री संस्थापन पक्षमा हुन् ।
बाँकी तीन मन्त्रालय संस्थापन इतर समूहलाई दिन देउवाले सहमति जनाइसकेका छन् । तर उपनिर्वाचनको आचारसंहिता रहेकाले अहिले मन्त्रीहरू सिफारिस नभएको कांग्रेसले बताएको छ । सहमहामन्त्री जविन परियारले उपनिर्वाचन लगत्तै पार्टीबाट जाने मन्त्रीहरू सिफारिस गरिने बताए ।
संस्थापन इतर समूहको भागमा परेको तीन मन्त्रालयमा इतर समूहका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाले भागबण्डा गरेका छन् । नेता कोइरालालाई दुई र थापालाई एक मन्त्रालयको भागबण्डा समूहबीच भएको एक नेताले जानकारी दिए ।
नेता कोइरालाले आफ्नो भागमा परेका दुई मन्त्रीमा उपसभापति धनराज गुरुङ र सांसद डिगबहादुर लिम्बुलाई मन्त्री बनाउने निर्णय गरिसकेका छन् । तर महामन्त्री थापाले भने कसलाई पठाउने भन्ने निक्र्यौल गरिनसकेको एक नेताले बताए ।
महामन्त्री थापा प्रदीप पौडेललाई मन्त्री सिफारिस गर्ने तयारी गरे पनि सभापति देउवाले पौडेललाई राज्यमन्त्री मात्रै दिन सक्ने बताएपछि अर्को पात्र खोजिरहेको तर नाम सिफारिस गरिनसकेको गगन निकट स्रोतले बतायो ।
स्रोतका अनुसार ११ बैशाखमा बाँकी मन्त्रीलाई शपथ खुवाउने तयारी प्रधानमन्त्री दाहालको रहेको र त्यसै अनुसार नाम सिफारिस गरिने देउवाको सचिवालयले जानकारी दियो ।
आफ्नो समूहमा परेका मन्त्रीहरूको नाम सभापति देउवाले सिफारिस गरिसकेको, अर्को समूहका भागमा परेका मन्त्रीहरूको नाम मागिएको तर प्राप्त नभएको सचिवालय स्रोतले बतायो ।
अब कांग्रेसको भागमा परेका मन्त्रालय मध्य संघीय मामिला तथा सामान्य प्रशासन, कानुन न्याय तथा संसदीय मामिला र युवा तथा खेलकुद मन्त्रालय बाँकी छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा माओवादी सांसद अमनलाल मोदी मन्त्री छन् । यो मन्त्रालय कांग्रेसको भागमा परेकाले उनलाई अर्को कुनै मन्त्रालयमा सारेर कांग्रेसलाई यो मन्त्रालय दिने तयारी प्रधानमन्त्रीको छ ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
प्रतिक्रिया