कांग्रेसमा देउवाबाट पेलिए महामन्त्रीद्वय थापा र शर्मा
आठ मन्त्री बनाउँदा मधेशी, दलित, थारू, मुस्लिम, पिछडिएको क्षेत्र समेटिएन

काठमाडौँ । प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा एकलौटी गरेका छन् ।
पार्टीका तर्फबाट गठबन्धन सरकारमा मन्त्री सिफारिस गर्दा देउवाले इतर समूहका नेता डा. शेखर कोइरालालाई केही भाग दिए पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पूरे बाइपास गरेका छन् ।
देउवाले ८ मन्त्री सिफारिस गर्दा पार्टीमा सभापति पछिको शक्तिशाली पद महामन्त्रीद्वयले दिएको सुझाव पूरै लत्याए । त्यसले पार्टीमा असन्तुष्टि बढाएको छ ।
थापा र शर्माले १० बैशाखमा भएको उपनिर्वाचनको हारले नेता–कार्यकर्तामा पारेको मनोवैज्ञानिक असरमा मलमपट्टी लगाउनु पर्ने बताइरहँदा देउवाले भने आफ्नो पुरानै कार्यशैलीलाई निरन्तरता दिएका छन् ।
उनीहरूले पार्टीमा आशाको सञ्चार छर्न दलितबाट सहमहामन्त्री जीवन परियार, पिछडिएको क्षेत्रबाट सहमहामन्त्री बद्री पाण्डे र राजधानीबाट प्रतिनिधित्व गर्ने प्रदीप पौडेलमध्येबाट मन्त्री बननाउन सुझाएका थिए । यसले जनअपेक्षा, समावेशी र आन्तरिक शक्ति सन्तुलन मिल्ने उनीहरूको सुझाव थियो । तर, देउवाले उनीहरूको सुझावलाई पूरै लत्याएर महामन्त्रीद्वयले दिएको सुझाव बाहेककालाई मन्त्रीमा सिफारिस गरे ।
देउवाको सिफारिसको महामन्त्रीद्वय थापा र शर्माले बिहीबार बसेको पदाधिकारी बैठकमा विरोध गरेका छन् । मन्त्रीहरूको सिफारिसमा न्याय गर्न नसकेको तथा समावेशी सिद्धान्त र जनमतलाई उपेक्षा गरेको आरोप उनीहरूको छ ।
थापा र शर्माले देउवाले बारम्बार गरेका गल्तीको भारी आफूहरूले बोक्ने नसक्ने पनि धम्की दिएका छन् ।
नेविसंघ, तरुण दल, महिला संघ बनाउँदा, केन्द्रीय समितिलाई पूर्णता दिँदा, राष्ट्रिय सभामा उम्मेदवार बनाउँदा एकलौटी गरेको आरोप उनीहरूको छ ।
देउवाले ८ मन्त्री सिफारिस गर्दा मधेशी, दलित, थारू, मुस्लिम, पिछडिएको क्षेत्रबाट गरेनन् । देउवाले सिफारिस गरेका ८ मन्त्रीमध्ये ५ खस आर्य र ३ जनजाति छन् । कांग्रेसबाट मन्त्री भएका धनराज गुरुङ, डिकबहादुर लिम्बू र सिता गुरुङ जनजाती हुन् । बाँकी पूर्णबहादुर खड्का, डा. प्रकाशशरण महत, एनपी साउद, रमेश रिजाल र मोहनबहादुर बस्नेत खस आर्यतर्फका हुन् ।
थापा र शर्माले सबै मिलाएर मन्त्री बनाउँदा राम्रो सन्देश जाने देउवालाई सुझाएका थिए ।
त्यतिमात्र होइन, देउवाले ८ मन्त्री बनाउँदा २ मन्त्रीमात्रै संस्थापन इतरलाई दिएर २० प्रतिशतमा खुम्च्याइदिएका छन् ।
कांग्रेसका मन्त्रीमध्ये धनराज गुरुङ र डिकबहादुर लिम्बू मात्रै संस्थापनइतरका हुन् ।
देउवाले नयाँलाई मन्त्री बनाउन पनि अनिच्छा देखाए । त्यसमा पनि महामन्त्रीद्वय थापा र शर्मा मात्रै होइन संस्थापनकै नेताहरू असन्तुष्ट देखिएका छन् ।
देउवाले सिफारिस गरेकामध्य संस्थापनमा रमेश रिजाल मात्र नयाँ हुन् । इतर समूहका गुरुङ र लिम्बू दुवै पहिलो पटक मन्त्री बनेका हुन् ।
प्रतिक्रिया