मंगलबार, माघ २०, २०८२

नक्कली भुटानी शरणार्थी प्रकरण

पक्राउ परेकाहरूको थुनछेक बहस शुक्रबारबाट

पूर्पक्षका लागि थुनामा राख्ने कि, छोड्ने निर्णय लिन १० दिन लाग्न सक्ने

मेरोन्यूज २०८० जेठ ११ गते १२:१४

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको थुनछेक बहस शुक्रबारबाट सुरु हुने भएको छ ।

उनीहरूविरुद्ध बुधबार सरकारी वकिलको कार्यालय काठमाडौँले जिल्ला अदालत काठमाडौँमा अभियोजन दर्ता गरेको थियो ।

सरकारी वकिल कार्यालयले पक्राउ परेका १६ सहित ३० जनाविरुद्ध ४ कसुरमा अभियोजन पत्र दायर गरेको छ । बुधबार अबेर अभियोजन पत्र दायर भएको र बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा भएकाले शुक्रबारबाट थुनछेक बहस सुरु भएको हो ।

एक आरोपितको बयान लिन कम्तीमा २ देखि ३ घण्टा लाग्ने भएकाले १० दिनसम्म थुनछेक बहसका लागि लाग्ने अधिवक्ताहरू बताउँछन् । सरकारी वकिल कार्यालयमा पूर्वगृहमन्त्री बालकृष्ण खाणले करिब ९ घण्टा र पूर्वमन्त्री टोपबहादुर रायमाझीले साढे ५ घण्टा बयान दिएकाले त्यो समय थप लम्बिन सक्ने देखिन्छ ।

बयान सकिएपछि मात्र थुनछेक बहस सुरू हुने भएकाले पनि समय झन लम्बिने छ । सरकारी वकिल र १६ जना प्रतिवादीका कानून व्यवसायी बहसमा सहभागी हुनेछन् । यो प्रकरणमा सचिव, सांसद, पूर्वगृहमन्त्रीजस्ता प्रतिवादी भएका कारण एकै प्रतिवादीले धेरै जना कानूनी व्यवसायीलाई बहसमा राख्ने छन् ।

बहस सुनिसकेपछि न्यायाधीशले साधारण तारेख, धरौटी माग्ने र कारागार चलान गर्नेमध्ये एउटा आदेश गर्ने कानुनी प्रावधान छ ।

भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भनेर २८ करोडभन्दा बढी ठगिएको भन्दै १ सय १५ जना पीडितहरूले उजुरी दिएका थिए ।

यस प्रकरणमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत १२ गते ३ जनालाई पक्राउ गरी यो घटनामा अनुसन्धान सुरू गरेकाले कानुनी प्रावधान अनुसार पक्राउ गरिएको ६०औँ दिनमा बुधबार अभियोग पत्र अदालतमा दर्ता गरिएको हो ।

प्रतिक्रिया