सोमबार, मंसिर १५, २०८२

सन्दीप लामिछाने दक्षिण अफ्रिकामा हुने अभ्यास खेलमा नजाने

मेरोन्यूज २०८० जेठ १६ गते १७:५७

काठमाडौँ । एक दिवसीय विश्वकप छनोटअघि दक्षिण अफ्रिकामा हुने अभ्यास खेलको अन्तिम तयारीमा सन्दीप लामिछाने नजाने भएका छन् ।

जिम्बाव्वेमा हुने एक दिवसीय विश्वकप छनोटका लागि तयारी गर्न नेपाल टिम मंगलबार राति दक्षिण अफ्रिका जाँदै छ ।

बालिका बलात्कारको आरोपमा मुद्दा खेपिरहेका क्रिकेटर लामिछानेलाई अदालती प्रक्रियाका कारण दक्षिण अफ्रिका जान नपाउने भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको हो ।

विश्वकप छनोटका लागि प्रशिक्षक मोन्टी देशाईले घोषणा गरेको १६ सदस्यीय टिममा सन्दीपसमेत परेका छन् । तर, प्रक्रिया पूरा भए उनी विश्वकप छनोट प्रतियोगिताभित्र टिममा सहभागी हुने सम्भावना रहेको छ ।

काठमाडौँ जिल्ला अदालतमा मंगलबार पनि सन्दीपविरुद्धको मुद्दामा सुनुवाइ भएको थियो । न्यायाधीश शंकरबहादुर राईले पीडितको तर्फबाट अन्तरिम राहतका लागि क्षतिपूर्ति माग गरी दिएको निवेदनउपर सुनुवाई गरेपछि मात्र मूल मुद्दाको सुनुवाइ गर्ने बताएपछि रोकिएको हो ।

पछिल्लो दिनहरूमा लामिछानेविरुद्ध मुद्दा नियमित पेशीमा चढे पनि अन्तिम सुनुवाइ र फैसला हुन सकेको छैन ।

नेपालले जिम्बाव्वेमा ३० र ३२ जेठमा ओमान र यूएईसँग अभ्यास खेल खेल्ने छ । विश्वकप छनोट तीन असारदेखि सुरु हुनेछ ।

नेपालले पहिलो खेलमा टेष्ट मान्यताप्राप्त घरेलु टिम जिम्बाव्वेको सामना गर्नेछ । ५ असारमा अमेरिका, ७ असारमा वेष्ट इण्डिज र ९ असारमा नेदरल्याण्ड्ससँग खेल्ने भएको छ ।

प्रतिक्रिया