बिहीबार, वैशाख १७, २०८३

काठमाडौँ महानगरले छुट नदिने ६८ अस्पताललाई कारबाही गर्न स्वास्थ्यमन्त्रीलाई गर्‍यो सिफारिस

मेरोन्यूज २०८० जेठ १७ गते ९:२५

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले छुट विवरण नबुझाउने ६८ स्वास्थ्य संस्थालाई कारबाही गर्न स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई सिफारिस गरेको छ । महानगर प्रमुख बालेन्द्र साहले काठमाडौँ महानगरपालिकाले छुट सुविधा सम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाहरुको संलग्न विवरण अनुसार नियमन र कारबाही गर्न अनुरोध गरेको जानकारी दिए ।

Advertisement
NiccNicc

‘स्वास्थ्यमा सर्वसाधारणको पहुँच अभिवृद्घि गर्दै सबैका लागि सर्वसुलभ स्वास्थ्य उपलब्ध गराउने र विद्यमान कानुन अनुसार नागरिकले पाउने स्वास्थ्य सम्बन्धी छुट सुविधाहरु उपलब्ध गराउने तर्फ माननीय मन्त्रीज्यूको ध्यानाकर्षण गराउँदै,’ प्रमुख साहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘काठमाडौँ महानगरपालिकाले छुट सुविधा सम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाहरुको संलग्न विवरण अनुसार नियमन र कारबाही गर्न अनुरोध गरेको छौ ।’

प्रमुख साहले स्वास्थ्यमन्त्री बस्नेतले ७ दिनभित्र कानुनी दायरामा नल्याए महानगर अस्पताल प्रशासन बन्द गर्न बाध्य हुने पनि उल्लेख गरेका छन् । ‘मन्त्रीज्यूले ७ दिन भित्र उहाँहरुलाई कानुनी दायरामा ल्याउनु भएन भने हामी अस्पताल प्रशासन बन्द गर्न बाध्य हुनेछौ,’ साहले लेखेका छन् ।

काठमाडौँ महानगरपालिका क्षेत्रभित्र रहेका अस्पताल लगायत विभिन्न स्वास्थ्य संस्थाहरुले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ एवं प्रचलित स्वास्थ्य सम्बन्धी कानुन अनुसार विपन्न एवं लक्षित वर्गहरुलाई दिनुपर्ने कुल शैयाको १० प्रतिशत छुट्याई निशुल्क उपचार गर्नुपर्ने लगायतका स्वास्थ्य सुविधाहरु उपलब्ध गराउन जेठ ६ गने सार्वजनिक सूचना जारी गरेर आग्रह गर्दै नगरेमा कारबाही गर्ने चेतावनी दिएको थियो ।

नेपालको संविधान र प्रचलित कानुनमा आधारभूत स्वास्थ्य सम्बन्धी मौलिक हक राज्यले प्रत्याभूति गर्नुपर्ने र सो अधिकारको कार्यान्वयन गर्ने दायित्व तीनै तहको सरकारको रहेको उल्लेख छ ।

प्रतिक्रिया