बुधबार, माघ २१, २०८२

नक्कली शरणार्थी प्रकरणः पूर्वमन्त्रीहरू रायमाझी र खाँणसहित १६ जनालाई थुनामा पठाउन आदेश

मेरोन्यूज २०८० असार १ गते १८:१५

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका दुई जनाबाहेक सबै अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ ।

प्रहरीले मुद्दा चलाएका दुई जनाबाहेक सबै अभियुक्तलाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । अदालतले लक्ष्मी मर्हजनलाई ५ लाख र टंक कुमार गुरुङलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा भएको बहस र सुनुवाइपछि नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने १६ जनालाई थुनामा पठाउन आदेश दिएको हो । यो मुद्दामा १२ जना फरार हुँदै आएका छन् ।

अभियुक्तहरूले अमेरिका लैजाने भन्दै करोडौं रकम असुलेको देखिएको प्रारम्भिक ठहरसहित पुर्पक्षमा पठाउने आदेश भएको हो । गत जेठ २१ देखि अदालतमा थुनछेक बहस शुरु भएको थियो ।

पूर्वउपप्रधानमन्त्री तथा एमालेका नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले जेठ १० मा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो ।

उनीहरुविरुद्ध राष्ट्रहित प्रतिकूल, संगठित अपराध, ठगी र कीर्तेका दफा लगाएर बिगो, कैद र जरिवानाको मागदाबीसहित मुद्दा दायर गरिएको थियो । उनीहरूविरुद्ध कम्तीमा २८ करोड ८१ लाख रुपैयाँ ठगी गरेको अभियोग लगाइएको थियो ।

पूर्वउप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री खाँण, बहालवाला सचिव पाण्डे, तत्कालीन सुरक्षा सल्लाहकार राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हज समितिका अध्यक्ष शमशेर मियाँ, कांग्रेसका पूर्वसांसद आङटावा शेर्पासहितलाई प्रतिवादी बनाइएको थियो ।

त्यसमध्येका १४ जना फरार थिए । प्रहरीले ३३ जनालाई प्रतिवादी बनाएर रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाए पनि मुद्दा दायर गर्दा तीन जना छुटेका थिए ।

प्रतिक्रिया