आइतबार, चैत २२, २०८२

गौतमबुद्ध विमानस्थल पूर्ण रुपमा सञ्चालनमा नआउँदा ८० अर्ब लगानी डुब्ने जोखिममा

मेरोन्यूज २०८० असार २ गते १२:२२

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनमा आउन नसक्दा निजी क्षेत्रले लगाएको ८० अर्ब बराबरको लगानी जोखिममा परेको भन्दै निजी क्षेत्र चिन्तित देखिएको छ।

Advertisement
nepal life insurencenepal life insurence

नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल २०७९ जेठ २ गते उद्घाटन भई सञ्चालनमा आउँदा निकै खुशी र आशावादी देखिएको निजी क्षेत्र यतिबेला चिन्तित छ। विमानस्थल सञ्चालनमा आएको एक वर्षसम्म पनि कुनै अन्तर्राष्ट्रिय उडान अहिलेसम्म नियमित हुन नसकेको भन्दै निजी क्षेत्र निराश बनेको हो। यतिबेला विमानस्थललाई लक्षित गरी निजी क्षेत्रले विभिन्न क्षेत्रमा गरेको ८० अर्ब भन्दा बढी लगानी डुब्ने चिन्ता यस क्षेत्रका उद्योगी व्यवसायीहरुले व्यक्त गरेका छन्।

विमानस्थल पूर्ण क्षमतामा नचल्दा निजी क्षेत्रको ८० अर्बको लगानी खेर जान लागेको भन्दै तत्काल विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने वातावरण सरकारले बनाउन निजी क्षेत्रले माग गरेका छन् । विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि सरकारबाट नै पहल नभएको आरोप निजी क्षेत्रको छ । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले विमानस्थललाई आधार बनाएर निजी क्षेत्रले लुम्बिनीमा होटल,पर्यटन क्षेत्रमा अर्बौं लगानी गरेको बताए। उनले निजी क्षेत्रले अर्बौंको लगानी गरेपनि विमानस्थल राम्रोसँग सञ्चालनमा आउन नसक्दा निजी क्षेत्र निराश रहेको बताए।

अध्यक्ष शर्माले विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान भर्ने वातावरण सरकारले बनाउन नसक्दा उद्योगी व्यवसायीहरुमा आफ्नो लगानी डुब्ने त्रास दिनप्रतिदिन बढ्दै गएको बताए। उनले विमानस्थललाई आधार बनाएर लगानी गरिसकेकाले सरकारले विमानस्थल सञ्चालनको लागि पहल गर्न आवश्यक रहेको बताए।

अध्यक्ष शर्माले ठूला तारे होटलदेखि साना किराना पसल, सेवा तथा पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न निर्माण सामग्री बिक्रेता, साजसज्जाका सामान बिक्री गर्ने ठूला व्यावसायिक प्रतिष्ठानमा लगानी भएको दाबी गरे। विमानस्थल सञ्चालनमा आएसँगै २० हजार मानिसहरुको आवातजावत लुम्बिनीमा हुने अपेक्षाले व्यवसायीहरुले लगानी वृद्धि गरेपनि लगानी अलपत्र रहेको उनले बताए। उनले उद्योगी व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको ऋण समेत जोखिममा परेको बताए।

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्रीको भारत भ्रमणमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका विषयमा भारत सरकारसँग पहल गरेकाले आशाको संकेत देखिएको बताए। उनले विमानस्थल सञ्चालनसँगै पर्यटन क्षेत्रमा उद्योगी व्यवसायीहरुले धेरै ठूलो लगानी भएकाले तत्कालको लागि जोखिम देखिएको बताए।

सरकारले विमानस्थल पूर्णरुपमा सञ्चालनमा ल्याएर निजी क्षेत्रको अर्बौंको लगानी सुरक्षित बनाउन आवश्यक रहेको ढकालले बताए। उनले विमानस्थल पूर्णरुपमा सञ्चालनमा आएर मानिसहरुको चहलपहल बढ्दा लुुम्बिनी क्षेत्रको व्यापार व्यवसायमा वृद्धि हुने अपेक्षाका आधारमा निजी क्षेत्रले लगानी गरेको बताए। प्रधानमन्त्रीको भारत भ्रमणमा भएको सहमतिले केही समयमा नै परिणाम आएर निजी क्षेत्रले लगाएको ८० अर्बको लगानी सुरक्षित हुने विश्वास रहेको उनले बताए।

विमानस्थल सोचेअनुसार सञ्चालनमा आउन सकेको छैन । केही समय पहिला अलजजिराले अन्तर्राष्ट्रिय उडान भरेपनि अहिले उडान भर्न छाडेको छ । गत मंगलवार नेपाल वायुसेवा निगमको मेलेसियाबाट आएको एउटा जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । अब निगमले एउटा उडान उक्त विमानस्थलबाट गर्ने तयारी गरिरहेको छ । विमानस्थल निर्माणसँगै भैरहवा आसपासका क्षेत्रमा तारे होटल र साना–ठूला गरी एक सय ४६ वटा होटल सञ्चालनमा छन् ।

प्रतिक्रिया