आइतबार, चैत २२, २०८२

खनिज डटकम : जहाँ जुम्लाको मार्सीदेखि लुक्लाको सिमीसम्म पाइन्छ

नरेन्द्र रौले २०८० असार २ गते १९:२७

काठमाडौँ । अचेल स्वदेशमै सम्भावना देख्ने युवाहरू भेट्टाउन मुस्किल पर्छ । त्यसमाथि नेपालमै उद्यम गर्न खोज्नेहरूको संख्या त अझै कम भेटिन्छ । जसरी हुन्छ, विदेश गएर पैसा कमाउन चाहनेहरूको भिडमा सुरज खनाल, २८ र अनिश घिमिरे, २७ भने फरक लाग्छन् ।

Advertisement
nepal life insurencenepal life insurence

रुपन्देही देवदह नगरपालिका ७ शितलनगर स्थायी घर सुरज र अनिश सानै उमेरदेखिका लगौटिया यार हुन् । ‘प्लस टु’सम्म सँगै पढेका उनीहरूले त्यसपछि फरक कलेजमा पढ्न थाले । तर, दोस्ती भने उस्तै रहिरह्यो । अहिले त मिलेर सँगै अनलाइन व्यापारको थालनी गरिसकेका छन् ।

कोरोना महामारीको असरले बजारमा आर्थिक मन्दी छाइरहेको छ । यस्तो बेला सुरज र अनिशले अनलाइन सपिङको व्यापार थालेका छन् । गत वैशाखबाट उनीहरूको लगानीमा खनिज डटकम सञ्चालनमा ल्याएका हुन् । यसको वेवसाइट र एप्स दुवै प्लेटफर्ममा उपलब्ध छ ।

‘खनिज’को प्लेटफर्ममार्फत उपभोक्ताहरूले कस्मेटिक, डेकोरेसन, इलेक्टिक, हर्बल, कृषि, ग्रोसरी, फर्निचर लगायतका सामान अर्डर गर्न सक्छन् । यसमा एक हजारभन्दा भेराइटी उपलब्ध रहेका छन् । ‘अझै थपिदै जाने क्रममा छ,’ सुरज र अनिसले एक स्वरमा भने, ‘एपमा जे जति सामान छन्, वेवसाइटमा पनि त्यति नै सामान उपलब्ध छन् ।’

एप्स र वेवसाइटको काम पूरा गर्न चार महिनाको समय लाग्यो । सुरज एक्लैले वेवसाइट र एप्स तयार गरे । र, खनिजको कारोबार गत वैशाखदेखि सुरु भयो ।

सुरजले आइटी विषय नै पढेको हुनाले प्राविधिक काममा उनलाई कठिनाइ भएन । बुटवलको कान्ति माविबाट २०६९ मा एसएलसी दिएका उनले साइन्स विषय लिएर प्लस टु पढे । ब्याचलर्स अफ कम्प्युटर एप्लिकेसन (बीसीए) चितवनको अक्सफोर्ड कलेज अफ इञ्जिनियरिङ एण्ड म्यानेजमेन्ट कलेजबाट पूरा गरे ।

सन् २०१८ देखि २०१९ सम्म चितवनको बिहानी टेकमा सफट्वेयर डेभ्लपरका रुपमा काम गरे । उनको सामान्य खर्च चल्थ्यो । घरबाट माग्नु पर्दैनथ्यो । ७५ प्रतिशत फि तिर्न यही कामले पुग्थ्यो । त्यो एक वर्षको अवधिमा कसरी काम गर्ने, के कसरी म्यानेजमेन्ट गर्नु पर्छ भन्ने उनलाई सिकायो ।

सुरजले काठमाडौँ प्रवेश गरेको एक वर्ष भयो । हाल अमृत साइन्स क्याम्पसमा मास्टर्स अफ इन्फरमेसन टेक्नोलोजी (एमआइटी) गर्दै छन् । खासमा प्लस टुपछि लहलहैमा उनले अष्ट्रेलियाको भिसा एप्लाइ गरेका थिए । तर, भिसा रिजेक्ट भयो । त्यसपछि उनले कुनै देश भिसा एप्लाइ नै गरेनन् । बाहिर जाने रहर पनि हरायो ।

प्लस टुपछि कम्प्युटरमा सुरजको रहर थियो । आफूमा भएको त्यही सीप र ज्ञान उनले भरपुर सदुपयोग गरिरहेका छन् । नेपालमै केही न केही गर्छु भन्ने उनमा सपना छ । ‘बाहिर घुम्न मात्र जान्छु होला, बस्नका लागि जान्न,’ उनले भने, ‘परिवारबाट पनि विदेश जान दबाब छ, तर म भने नेपालमै बस्न चाहन्छु ।’ उनले नेपालमा प्रशस्त सम्भावना देखेका छन् । सुरुमा गा¥हो भए पनि पछि सजिलो हुँदै जानेमा ढुक्क देखिन्छन् ।

सुरजको जस्तै सोच छ, अनिस घिमिरेको पनि । नर्सरीदेखि प्लस टुसम्म सँगै पढेका साथी भएर पनि व्यापार गर्न सजिलो भइदियो । अनिस त्यसपछि सीए पढ्नतिर लागे । काठमाडौँमा बसोबास पनि सँगै भयो ।

एक वर्षअगाडि असार, साउनतिर उनीहरूले कुनै नयाँ व्यवसाय गर्नेबारे छलफल भयो । तीन महिना जति अध्ययन, अनुसन्धान गरे । बजार कस्तो छ ? डिमाण्ड कत्तिको आउँछ भन्ने बारेमा उनीहरूले राम्ररी बुझे ।

सुरुमा अनलाइन व्यापारबारे दुवै सोचेका थिएनन् । पछि एकदम राम्रो मार्केट देखे । ‘ऊ आइटी पढिरहेको थियो, म सीए पढ्दै छु, नेपालमै केही गरौँ भन्ने सोच थियो,’ सुरजले भने ‘नेपाली उत्पादनलाई बजारीकरण गर्ने मेरो सोच थियो, मैले सिकेको ज्ञान यसमै लगाउने विचार छ ।’

अनिसको बाहिर जाने सोच छैन । लहलहैमा एकपटक उनले कोरियन भाषा पढे । क्लासमा गएर होइन कोठामै बसेर पढे । सुरुमा उनी डाक्टर बन्न चाहन्थे । त्यो रहर बिचैमा तुहियो । सोच्दै जाँदा केही गर्नुपर्छ भन्ने लाग्यो । दाइ पनि पढिरहनु भएको देख्दा अनिसलाई पढ्न मन लाग्यो ।

यसरी जन्मियो खनिजको सोच

‘खनिज नाम कसरी जुराउनु भयो ?’

‘सोच्दा सोच्दै युनिक लाग्यो, के राख्ने भन्ने सोच्दा सोच्दै यही उपयुक्त लाग्यो,’ सुरजले भने, ‘अरु नाममा डोमेन पाउन पनि गार्‍हो हुन्छ, यही नाममा वेवसाइट पनि सुरु गरियो ।’

हाल पेप्सिकोलामा कार्यालय छ । यो छोटो अवधिमा सबैभन्दा बढी कस्मेटिक सामानको अर्डर आइरहेको छ । दोस्रोमा खाद्यान्न सामग्रीहरूको माग बढिरहेको उनीहरूको अनुभव छ ।

तीन, चार वटा अनलाइन सपिङबाहेक अरु त्यति विश्वसनिय लागेनन् । सेवामा कमी रहेको देखियो । ‘हामीले डेलिभरी छिटो र सामान पनि राम्रो दिनेबारे सोच्यौँ,’ उनीहरूले भने, ‘हामीले पहिले प्रोडक्ट चेक गर्छौं, त्यसपछि मात्र उपभोक्ताहरूसम्म पुर्‍याउँछौँ ।’

खनिजलाई उनीहरूले फेसबुक, इन्स्टाग्राम, टिकटकमार्फत प्रमोशन गरिरहेका छन् । अझ यसलाई व्यापक बनाउने तयारीमा छन् । वेवसाइट र एप्समा सीधै क्लिक गरेर पनि आफूलाई आवश्यक सरसामान अर्डर गर्न सकिन्छ । अहिले क्यास अन डेलिभरी सिस्टम छ ।

सुरज आफै आइटीमा भएकाले काम गर्न सजिलो भयो । कुनै प्राविधिक समस्या आइपर्दा आफै समाधान गर्न सकिन्छ । आफूसँग आइटी टिम नभएकाले कतिपय अनलाइन सपहरू बन्द भएको उनले देखेका छन् ।

आउने दिनमा कपडा, जुत्ता, कृष्टल जस्ता आइटमहरू अनलाइन सपिङमा थप्न मन छ । शिखर, गोल्ड स्टार जुत्तामा उनीहरूको ध्यान छ ।

नेपालमा उद्यम गर्न चुनौती

नेपाली प्रोडक्टभन्दा विदेशी प्रोडक्ट बढी बिक्छ । नेपाली उत्पादन र उद्यमीहरूलाई सरकारले प्रोत्साहन गरेको छैन । यी सुरज र अनिसको अनुभवमा बिचौलियाहरू धेरै छन् । नेपालमै काम गरेर खान्छु भन्नेहरूलाई खुट्टा तान्ने प्रवृत्ति बढ्दो छ । किसान मारमा छन् । र, उपभोक्ताहरू झन् मारमा छन् । फाइदामा कोही छन् भने बिचौलिया मात्र छन् ।

नेपालमै उत्पादन भएको सामग्रीहरू कफी, खाद्यान्नलगायत अन्य उत्पादनलाई खनिज डटकमको वेवसाइट र एप्समार्फत बिक्री गराउन सकिन्छ । देशको उत्पादनलाई बढावा दिने उनीहरूको सोच छ । विशेषगरी हस्तकला र नेपाली कपडा लगायतका सामान खनिजको आइटममा थपिने छ ।

दुई हजार रुपैयाँभन्दा माथिको सामान अर्डर आएमा उपत्यकाभित्र निःशुल्क डेलिभरी गर्ने व्यवस्था छ । त्योभन्दा कमको अर्डर आएमा दुरीका आधारमा डेलिभरी चार्ज लाग्छ । अहिले खनिजले उपत्यकाभित्र सेवा दिँदै आएको छ । आउने दिनमा उपत्यकाबाहिर सेवा विस्तार गर्ने तयारी छ ।

प्रतिक्रिया