सोमबार, पुष ७, २०८२

सङ्खुवासभाको हेवा खोलामा बेपत्ता भएका २२ को पहिचान खुल्यो

मेरोन्यूज २०८० असार ४ गते ७:५५

सङ्खुवासभा । सङ्खुवासभाको हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा बेपत्ता भएकाहरूको पहिचान खुलेको छ । बेपत्ता भएका २२ जनाको पहिचान खुलेको संखुवासभा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए ।

गए राति आएको बाढीले बगाउँदा पाँचखपन–९ का २६ वर्षीय सन्तोष राईको मृत्यु भएको छ । शनिबार राति वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर बेपत्ता भएका थिए ।

बाढीले चैनपुर–४ मा निर्माणाधीन सुपर हेँवा हाइड्रोपावरमा काम गर्ने १७ जना बेपत्ता भएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार वेपत्ता हुनेमा सुपर हेँवा हाइड्रोपावरका सुपरभाइजर सन्तोष ढकाल (सुनसरी), भुवनसिंह तामाङ (चैनपुर नगररपालिका) , सुवास राई (सङ्खुवासभा), फैजबहादुर कार्की (झापा), गणेश गिरी (धनकुटा), राजकुमार मगर (इलाम), मीना श्रेष्ठ (झापा), रामजतन थारु (कैलाली), राहुल थारु (बर्दिया), रोहित थारु (बर्दिया), पुलसन थारु (बर्दिया), कालीराम थारु (बर्दिया), राजराम थारु (बर्दिया), सुगत थारु (कैलाली), अमर थारु (कैलाली), सीता थारु (कैलाली) र दीपक मगर (सङ्खुवासभा) छन् ।

त्यस्तै गरी सभापोखरी गाउँपालिका–३ सुनाम्लामा गोठ बगाउँदा ६० वर्षीय गणेश राई र ६१ वर्षीया सञ्चमाया राई बेपत्ता भएका छन् । चैनपुर नगरपालिका–१ नुनढाकीमा बर्दिया नगरपालिकाका भीम चौधरी, अप्पर हेवाखोला हाइड्रोपावरका मजदुर चैनपुर नगरपालिका–४ का ५० वर्षीय ज्ञानबहादुर लिम्बू बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बाढीले बगाउँदा सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने दुई जना मजदुर घाइते भएका छन् । घाइते हुनेमा बर्दिया नगरपालिका –७ का २४ वर्षीय टीकाराम चौधरी र ३५ वर्षीय दीपकराज थारु छन् । गम्भीर घाइते दुवैको हेल्पिङ हेन्स सामुदायिक अस्पताल चैनपुरमा उपचार भइरहेको छ ।

चैनपुर नगरपालिका ४ र पाँचखपन नगरपालिका–९ मा गएको पहिरोले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठूलो परिमाणमा भौतिक संरचनाको क्षति भएको हो ।

बाढीले जिल्लाका विभिन्न स्थानमा सात घर क्षति भएको छ भने अन्य चार घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । बाढीले तीन पक्की पुलमा क्षति पु¥याएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय चैनपुर र सशस्त्र प्रहरीको टोली खटिएका छन् । बाढी भौतिक संरचना बगाउँदा करोडौँको क्षतिको भएको छ । घटनाको थप विवरण आउन बाँकी छ । (रासस)

प्रतिक्रिया