सोमबार, चैत २३, २०८२

सहरी पूर्वाधारका लागि बजेट भएन : गोकुल बाँस्कोटा

मेरोन्यूज २०८० असार ५ गते १६:२४

काठमाडौं । प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले ‘विनियोजन विधेयक, २०८० अन्तर्गत सहरी विकास मन्त्रालय शीर्षकको रकम घटाइ एक रुपैयाँ कायम गरियोस्’ भनी खर्च कटौती प्रस्ताव पेस गरेका छन्। सहरी पूर्वाधार निर्माणका लागि छुट्याइएको आगामी आर्थिक वर्षको बजेट पर्याप्त नरहेको र विगतका महत्वपूर्ण कार्यक्रममासमेत बजेट कटौती गरेको उल्लेख गर्दै प्रतिनिधिसभाको आजको बैठकमा उनले यस्तो प्रस्ताव पेस गरेका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

सहरी क्षेत्रमा आवश्यक पूर्वाधार तयार पार्नका लागि सरकारले पर्याप्त बजेट छुट्याउन नसकेको सांसद बाँस्कोटाको भनाइ छ । त्यस्तै, अघिल्लो सरकारले सुरु गरेका सहरी पूर्वाधारसँग सम्बन्धित धेरैवटा कार्यक्रमलाई चालु आर्थिक वर्षको बजेटले निरन्तरता दिन नसकेको उनले भने ।

“बसाइँसराइ, सेवा प्राप्ति र रोजगारीका लागि सहरमा जनसङ्ख्या बढिरहेको छ । तर बजेटले सहरका न्यूनतम पूर्वाधार निर्माणलाई पनि बेवास्ता गरेको देखिन्छ”, सांसद बाँस्कोटाले भने, “सहर हुनका लागि शुद्ध खानेपानी, ढलनिकास, सहज यातायात, फोहरमैला व्यवस्थापन, पार्किङ, व्यापार प्रदर्शनी केन्द्र, स्वास्थ्य र शिक्षा सेवालगायतका सुविधा चाहिने हो । त्यसका लागि यो बजेट पुग्ने देखिँदैन ।”

सरकारले सहरी विकास मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि रू ६६ अर्ब १७ करोड ५५ लाख बजेट छुट्याइएको छ । जबकि चालु आर्थिक वर्षका लागि सहरी विकास मन्त्रालयले रू ३७ अर्ब ७३ करोड बराबर मात्रै बजेट पाएको थियो ।

प्रतिक्रिया