आइतबार, चैत १५, २०८२

विश्वकप छनोट

नेपाल वेष्ट इण्डिजसँग फराकिलो रनले पराजित

मेरोन्यूज २०८० असार ७ गते २०:३९

काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकप छनोटअन्तर्गत नेपाल विश्व विजेता वेष्ट इण्डिजसँग पराजित भएको छ । टस जितेर पहिले फिल्डिङ रोजेको नेपाल १०१ रनले पराजित भएको हो

Advertisement
nepal life insurencenepal life insurence

वेष्ट इण्डिजले दिएको ३४० रनको विशाल लक्ष्य पछ्याएको नेपाल ४९.४ ओभर खेल्दै २३८ रनमा अल आउट भएको हो ।

वेस्ट इण्डिजको तीव्र बलिङअगाडि नेपाल सुरुदेखि नै दबाबमा थियो । कुशल भुर्तेल ५, भिम सार्की २ रनमै आउट भए ।

ओपनर आसिफ शेखले २८ रन बनाए । उनले ३६ बल खेलेर ३ चौका प्रहार गरे । कप्तान रोहित पौडेलले ३० रन जोडे । उनले ४३ बल खेली ३ चौका प्रहार गरे ।

कुशल मल्ल २ रनमै आउट भए । दीपेन्द्रसिंह ऐरीले २३ रन बनाए । उनले २० बल खेली २ चौका र १ छक्का प्रहार गरे । आरिफ शेख र गुल्शन झाले सातौं विकेटमा ६८ रनको साझेदारी गर्दै दुई सय रनको नजिक पुर्‍याए । गुल्शनले ५८ बल खेलेर ५ चौका र १ छक्का प्रहार गर्दै ४२ रन बनाए । सन्दीप लामिछाने १ रनमै आउट भए ।

आसिफले ६३ रन जोडे । उनले ९३ बल खेली ४ चौका र १ छक्का प्रहार गरे । करण केसी आउट हुने अन्तिम खेलाडी थिए । उनले २७ बल खेली ४ चौका र १ छक्कासहित २८ रन बनाए । ललित राजवंशी शून्य रनमा अविजित रहे ।

वेस्ट इण्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३३९ रन बनाएको थियो । कप्तान साई होप र निकोलस पुरनले शतक प्रहार गरे । यी दुई खेलाडीले चौथो विकेटमा २१६ रनको साझेदारी गरे । पुरनले १ सय १५ र होपले १ सय ३२ रन बनाए ।

ब्रेन्डन किंगलाई ३२ रनमा सन्दीपले बोल्ड गरेपछि वेस्ट इण्डिज १६ औं ओभरमा ५५–३ को स्थितिमा पुगेको थियो ।

नेपालबाट ललितले ३ विकेट लिए । खेलको पहिलो ओभर लिएर आएका उनले १० ओभरमा ५२ रन खर्चे । करण, गुल्शन, सन्दीप र दीपेन्द्रको नाममा १–१ विकेट लिए ।

प्रतिक्रिया