आइतबार, वैशाख १४, २०८२

ललिता निवासको जग्गा प्रकरण

पूर्वउपप्रधानमन्त्री, पूर्वमन्त्री र तीन पूर्वसचिव सिआइबीको निगरानीमा

मेरोन्यूज २०८० असार १४ गते ८:१५

काठमाडौँ । ललितानिवास जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले दुई पूर्वमन्त्रीसहित ५ जनालाई आवश्यक पर्दा तत्काल नियन्त्रणमा लिनेगरी निगरानीमा राखेको छ ।

सिआइबी स्रोतका अनुसार जग्गा घोटाला हुने बेलामा उपप्रधानमन्त्रीसहित भौतिक योजना तथा निर्माणमन्त्री रहेका विजयकुमार गच्छदार, भूमिसुधारमन्त्री डम्बर श्रेष्ठलाई प्रहरीले रेकी गरिरहेको छ ।

यस अनुसन्धानमा संलग्न सिआइबीका एक अधिकृतले अच्छदार र श्रेष्ठसँगै तत्कालिन भौतिक योजना मन्त्रालयका सचिव दीप बस्न्यात, भूमिसुधार मन्त्रालयका तत्कालीन सचिवद्वय छविराज पन्त र दिनेशहरि अधिकारीलाई पनि निगरानीमा राखेको छ । बस्न्यात सचिवबाट अवकाश भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त र केही समय प्रुमख आयुक्त पनि बनेका थिए ।

सिआइबीले यस प्रकरणमा मंगलबार पक्राउ गरेकाहरूलाई सोमबार जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरेपछि थप घटनामा संलग्न भएको केही प्रमाण देखिएकाहरूलाई निगरानीमा राखेको हो । प्रहरीले केही प्रमाण देखिएकाहरूविरुद्ध पक्राउ पूर्जीसमेत लिइसकेको स्रोतजे जानकारी दियो ।

सिआइबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) किरण बज्राचार्यले ललितानिवासको जग्गा हिनामिना गर्दा त्यतिवेला सम्बन्धित सरकारी निकायको कार्यकारी तहमा रहेकाहरूविरुद्ध अबको ‘अप्रेसन’ केन्द्रित हुने जानकारी दिँदै केहीविरुद्ध पक्राउ पूजीसमेत लिइसकेको जानकारी दिइन् । ‘अब सरकारी जग्गा व्यक्तिको नाममा लैजान कागजात किर्ते गर्ने निकायका ‘मेजर पोस्ट’मा रहेकाहरूविरुद्ध अबको कारबाही केन्द्रित हुनेछ । उनीहरूविरुद्ध पक्राउ पुर्जीसमेत जारी भइसकेको छ,’ एआइजीपी बज्राचार्यले भनिन् ।

सिआइबीले मंगलबार भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहसहित ७ जनालाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीले भूमिसुधार मन्त्रालयका तत्कालीन सहसचिवद्वय जितबहादुर थापा र तेजराज पाण्डे, भौतिक योजना मन्त्रालयका तत्कालीन उपसचिव (कानुन) विनोदकुमार गौतम, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक अशोकनाथ उप्रेती, भूमिसुधार तथा व्यवस्थापन विभागका तत्कालीन महानिर्देशकद्वय रुद्रकुमार श्रेष्ठ र पुष्पराज उपाध्याय पनि निगरानीमा राखेको यो अनुसन्धानमा संलग्न सिआइबीका एक अधिकृतले जानकारी दिए ।

प्रतिक्रिया