बुधबार, माघ २१, २०८२

सचिव राउतमाथि सिडियो हुँदाको ‘फेक इन्काउन्टर’ सम्बन्धी जाहेरीमा पनि अनुसन्धान हुने

मेरोन्यूज २०८० असार २७ गते ८:३८

काठमाडौँ । प्रहरीले पक्राउ गरेका सञ्चार तथा सूचना प्रविधिसचिव कृष्णबहादुर राउतमाथि सर्लाहीको प्रमुख जिल्ला अधिकारी (सिडियो) हुँदा ‘फेक इन्काउन्टर’ सम्बन्धी अर्को फैजदारी जाहेरी प्रहरीमा छ ।

ललितानिवासको जग्गा हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका सचिव राउतमाथि सर्लाहीका कुमार पौडेलको ‘इन्काउन्टर’ घटनामा परेको जाहेरी पनि प्रहरीमा छ । त्यो जाहेरीमा पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । राउतमाथि ‘फेक इन्काउन्टर’ मा पनि अनुसन्धान गरेर निष्कर्षमा पुगिने सिआइबीले जनाएको छ । यो प्रकरण पनि सिआइबीले नै हेरिरहेको छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज पौडेलको ५ असार ०७६ मा प्रहरीको गोली लागेर मृत्यु भएको थियो । त्यतिवेला राउत सर्लाहीको प्रमुख जिल्ला अधिकारी थिए ।

त्यो घटनालाई प्रहरीले इन्काउन्टर भनेको थियो । राष्ट्रिय मानव अधिकार आयोगले भने नियन्त्रणमा लिएर गोली हानी पौडेलको हत्या गरेको निष्कर्ष निकालेको थियो । घटनामा राउत प्रत्यक्ष संलग्न नभए पनि जिल्लाको सिडिओ भएका आधारमा जाहेरी परेको थियो ।

यो घटनामा राउत, मधेस प्रदेशका तत्कालीन डिआइजी हरिबहादुर पाल, सर्लाहीका तत्कालीन एसपी गोपालचन्द्र भट्टराई, बागमती नगरपालिकाका मेयर भरत थापा, इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक किरणप्रसाद न्यौपाने र इलाका प्रहरी कार्यालय नवलपुरका सइ सूर्यकुमार कार्कीविरुद्ध दर्ता जाहेरी अहिले पनि प्रहरीमा छ ।

सचिव राउतलाई आइतबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले पक्राउ गरेको थियो ।

प्रतिक्रिया