बुधबार, माघ २१, २०८२

रोजगारीका लागि कुवेत जान लागेका ११७ श्रमिक विमानस्थलबाट फिर्ता

मेरोन्यूज २०८० असार २८ गते १३:४२

काठमाडौं । रोजगारीका लागि कुवेत जान लागेका ११७ जना श्रमिकलाई विमानस्थलबाट फर्किएका छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले कुवेत जान लागेका उनीहरूलाई भिसा शंकास्पद रहेको भन्दै फर्काएको हो ।

बुधबार साँझ सलाम एयरमार्फत कुवेत जान लागेका १०१ जना र बिहीबार बिहान कुवेत एयरमार्फत कुवेतमा जान लगेका १६ जना श्रमिकलाई विमानस्थलबाट फर्काएको हो ।

विभिन्न म्यानपावर कम्पनीमार्फत विभिन्न कम्पनीहरुमा काम गर्न भन्दै वैदेशिक रोजगार विभागबाट उनीहरूले श्रम स्वीकृति पनि लिइसकेका थिए । तर, अध्यागमनले सोधपुछका क्रममा विदेशमा घरेलु श्रमिकका रुपमा लैजान लागेको देखिएको भन्दै फर्काइदिएको हो ।

अध्यागमन विभागमा महानिर्देशक झलकराम अधिकारीले श्रमिकको पासपोर्टमा एउटा खालको भिसा र ब्यागेजमा अर्को भिसाको कागजात रहेको पुष्टि भएपछि फर्काइएको जानकारी दिए । ‘घरेलु श्रमिकका रुपमा नेपालबाट कुवेतमा जान मिल्दैन, तर फरक–फरक भिसाका कागज बनाएर म्यानपावर कम्पनीले लागेको पुष्टि भएपछि उहाँहरुलाई प्रस्थान अनुमति नदिएका हौं,’ अधिकारीले भने ।

अधिकारीले केही श्रमिकले आफूहरूलाई भिसाबारे अनुसन्धान गरिदिन आग्रह गरेको बताए । राेजगारीमा जान लागेकामध्य अआधा मिहला छन् ।

बुधबार कुवेत जान हिंडेकाहरुसँग अनौपचारिक रुपमा सोधपुछ गर्दा राहदानीमा एउटा भिसा लगाएर र कागजातमा अर्कै काम गर्ने गरी जान लागेको पुष्टि भएको विभागले जनाएको छ ।

यसबारे श्रम मन्त्रालय र गृह मन्त्रालयका सचिवसन्ग छलफल गरिसकेको अधिकारीले बताए । थप अनुसन्धान गरेर सम्बन्धित निकाय (वैदेशिक रोजगार विभाग) मा सम्बन्धित म्यानपावरलाई कारबाही गर्न लेखी पठाउने उनको भनाइ छ ।

इन्डेक्स म्यानपावरबाट ४७, युथ म्यानपावरबाट ३२ र निलकलम एचआरबाट २४ जना, सुलभ म्यानपावरमार्फत ४ जना श्रमिकले कुवेतको भिसा लगाएर श्रम स्वीकृति पाएका थिए ।

आइतबार श्रम स्वीकृति लिएर जोर्डन हिंडेका १५ जनालाई अध्यागमन कार्यालयले विमानस्थलबाट फर्काएको थियो ।

प्रतिक्रिया