बिहीबार, माघ २२, २०८२

मिटरब्याज सम्बन्धी विधेयकमा एमालेले सरकारलाई सघाउने

मेरोन्यूज २०८० असार ३१ गते १२:४१

काठमाडौं । नेकपा एमालेले मिटरव्याजीलाई कारबाही गर्ने विधेयक पास गर्न सरकारलाई सहयोग गर्ने भएको छ । दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा सरकारले ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ पेस गर्दैछ ।

पेस गर्ने कार्यसूची पनि संघीय संसद् सचिवालयले सार्वजनिक गरिसकेको छ । त्यो विधेयकमा मुलुकी संहितासम्बन्धी प्रवधान छ । त्यसमा मिटरब्याजसम्बन्धी विषयबस्तु पनि समावेश छ ।

एमाले संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले विधेयक पास गर्न सहयोग गर्ने जानकारी दिए । उनले आफूहरू जनताको समस्या समाधान हुने काममा सहयोग गर्न एमाले तयार रहेको बताए ।

शनिबार बसेको नेकपा एमाले केन्द्रीय सचिवालय बैठकले मिटरव्याजबारेको प्रतिस्थापन विधेयक सरकारकै कारण निष्क्रिय भइसकेको निष्कर्ष निकालेको थियो । बैठकले अविलम्ब नयाँ विधेयक ल्याउन सरकारको ध्यानाकर्षण गराएको थियो ।

‘यो विधेयक ल्याउनुपर्छ भनेर हामीले पहिलेदेखि नै भनेका हौ । तर सरकारले यसमा सारै ठुलो हेलचेक्राई गर्‍यो । प्रक्रियामा पनि हेलचेक्राई नै गर्‍यो तर जे भए पनि हामी यसलाई अड्काउने पक्षमा कहिल्यै छैनौ’, नेता नेम्वाङले भने ।

प्रतिक्रिया