बिहीबार, माघ २२, २०८२

अनुसन्धानमा दबाब वा प्रभाव अस्वीकार्य : गृहमन्त्री श्रेष्ठ

मेरोन्यूज २०८० असार ३१ गते १७:३९

काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायलाई राजनीतिक हस्तक्षेप, आर्थिक चलखेल र शक्तिकेन्द्रको दबाबबाट मुक्त राखिने बताएका छन् ।

गृह मन्त्रालयमा ‘शान्तिसुरक्षा सुदृढीकरण’का लागि सुरक्षा निकायका पूर्व उच्च अधिकारीसँग आज भएको छलफलमा उनले संविधान, कानुन र जिम्मेवारीलाई आधार बनाएर मन्त्रालय र माहतहका संगठनलाई अगाडि बढाइने बताए ।

त्यसका लागि गृह मन्त्रालय र माहतहतका संगठनको समग्र सुधारको योजना बनिरहेको उपप्रधानमन्त्री श्रेष्ठले बताए । नेपाल प्रहरी र अनुसन्धान एकाइलाई निष्पक्ष, स्वतन्त्र र प्रभावकारी ढंगबाट घटनाहरूको अनुसन्धान गर्न निर्देशन दिइएको र कुनै दबाब वा प्रभावबाट मुक्त रहेर अनुसन्धान प्रक्रिया अगाडि बढाइने उनको भनाइ थियो ।

‘अनियमिततामा संलग्न राजनीतिक, प्रशासनिक वा व्यवसायिक व्यक्ति पक्राउ पर्दा सम्बन्धित क्षेत्रबाट सहयोगको सट्टा विरोध हुन थालेपछि कसलाई कारबाही गर्ने ?,’ उनले प्रश्न गरे, ‘के गरिब र निमुखालाई मात्रै कारबाही गर्ने ? धनीलाई छुट्टै, गरिबलाई छुट्टै ऐन कानूनको अपेक्षा गर्ने ? त्यो हुँदैन ।’

प्रहरीभित्र गुटबन्दी रहेको र त्यसले सिंगो संगठनलाई असर पारेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले मन्त्रालय त्यसलाई अन्त्य गर्न लागिपरेको बताए ।

‘प्रहरी जस्तो फौजी संगठनभित्र गुटबन्दी अन्त्य हुन सक्यो भने मात्रै राजनीतिक नेतृत्वको अनियमितता, आर्थिक चलखेल र शक्ति केन्द्रको दबाबविरुद्ध तथा ऐन र नियमको परिधिभित्र एउटा गतिका साथ काम गर्न सकिन्छ,’ उनले भने ।

त्यस क्रममा उपप्रधानमन्त्री श्रेष्ठले प्रहरी संगठनभित्र रहेको ३० वर्षे सेवा अवधि हटाउने प्रतिबद्धतासमेत व्यक्त गरे । उनले भने, ‘कानुन बनाएरै ३० वर्षे व्यवस्था हटाइने छ, प्रहरी महानिरीक्षकले पनि यो हटाउन आफूले के त्याग गर्नुपर्छ म तयार छु भन्नु भएको छ ।’

प्रतिक्रिया