बिहीबार, माघ २२, २०८२

खुला सीमाना हुँदा राष्ट्रिय सुरक्षामा चुनौति भएको सरकारको निष्कर्ष

मेरोन्यूज २०८० साउन १ गते १६:२२

काठमाडौँ । सरकारले खुला सीमाना हुनु देशको राष्ट्रिय सुरक्षामा चुनौतिको रुपमा रहेको बताएको छ ।

गृह मन्त्रालयले राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले माग गरे बमोजिमको लिखित विवरण पठाउँदै नेपालको छिमेकी दुई देशसँग खुला सीमाना हुनु राष्ट्रिय सुरक्षामा चुनौति भएको बताएको हो ।

सोमबार बसेको समितिको बैठकमा समिति सचिव सीता काफ्ले वाग्लेले गृह मन्त्रालयले पठाएको विवरण पढेर सुनाएकी थिइन् । सो विवरणमा खुला सीमानाका कारण मानव बेचबिखन, हातहतियार ओसार पसार लागु औषध ओसारपसार र सीमा पारीबाट अपराधिक व्यक्ति, समूह प्रवेश गरी लुटपाट एवं अन्य अपराधिक घटना घटाउने चुनौति रहेको उल्लेख गरिएको छ ।

त्यस्तै सीमा पारी अपराध गरेर सीमा वारी आइ लुक्ने प्रवृत्ति रहेको र भन्सार नभएका बिन्दुहरुबाट चोरी, निकासी, तस्करी हुने गरेको पनि उल्लेख गरिएको छ । खुला सीमानाको फाइदा उठाउँदै अवैध रुपमा शरणार्थीहरुको प्रवेश र तेस्रो देशका नागरिकहरुको अवैध घुसपैठ हुने गरेको पनि जनाइएको छ ।

सीमा स्तम्भहरूको नियमित रुपमा अनुगमन गरी भत्किएका, बिग्रिएका सीमा स्तम्भहरूको मर्मत सम्भार गरिएको सरकारको विवरणमा बताइएको छ ।

सशस्त्र प्रहरी बल नेपालबाट १४ हजार २१२ जनशक्ति सीमा सुरक्षार्थ परिचालन गरिएको र हालसम्म भारततर्फ २४२ र चीनतर्फ ८ गरी जम्मा २५० स्थानमा बिओपी स्थापना भई सञ्चालनमा आएको स्पष्ट पारिएको छ ।

प्रतिक्रिया