पुस्तक वार्ता
अहिलेका शासकमा चन्द्रशमशेर जत्तिको चेतना भेटिएन

नेपाली खेलकुद पत्रकारितामा नवीन अर्याल चिनाइरहनु पर्ने नाम होइन । दुई दशकभन्दा बढी पत्रकारितामा सक्रिय अर्यालले विभिन्न मिडियामा काम गरे । खेलकुदमा मात्र होइन इतिहासमा पनि उत्तिकै चाख राख्ने, कलम चलाउने उनको आफ्नै शैली छ ।
यायावरी शैलीका अर्याल कुनै संस्थामा बाँधिएर भन्दा स्वतन्त्रपूवर्क अध्ययन, अनुसन्धान गर्न रुचाउँछन् । गत असार २५ गते उनै अर्यालको ‘नेपाली खेलकुदको वृत्तान्त’ सार्वजनिक भयो । प्राध्यापक तथा वरिष्ठ पत्रकार पी.खरेलले कार्यक्रममा बोल्दै भनेका थिए, ‘पुस्तक अब्बल छ ।’
शरदचन्द्र शाह मेमोरियल फाउन्डेसनसँग सहकार्य र क्रियटिभ बुक्सको प्रकाशनमा बजारमा आएको ‘नेपाली खेलकुदको वृत्तान्त’का लेखक अर्यालसँग मेरोन्युजका लागि नरेन्द्र रौलेले गरेको कुराकानी :
तपाईंको पुस्तक बजारमा गएको केही हप्ता भइसक्यो । कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?
पाठकहरूबाट एकदम राम्रो प्रतिक्रिया पाइरहेको छु । विदेशमा बस्नेहरूले पुस्तक हामी कहिले पढ्न पाउछौँ भनेर सोधिरहनु भएको छ । राजधानीमा मात्र होइन बाहिरका जिल्लाहरूबाट पनि पाठकहरुले चासो लिइरहनुभएको छ । फोन, फेसबुक म्यासेन्जरमार्फत पुस्तकबारे चासो लिइरहनु भएको छ । कसरी अधिक पाठकहरूका हातमा पुर्याउने भनेर प्रकाशकले पनि मिहिनेत गर्नु भएको छ । खासगरी खेलकुद क्षेत्रभन्दा बाहिरका व्यक्तिहरूले पुस्तकबारे बढी चासो लिएको पाइयो । विभिन्न मिडियामा आएका पुस्तक अंश र प्रकाशित भएका समाचार पढेर पाठकहरूले चासो लिइरहनु भएको छ ।
यो पुस्तक कसरी लेखियो ? यसको पछाडिको कथा कस्तो रह्यो ?
किताब लेख्ने सोच कोभिड १९ आउनुभन्दा पहिले नै थियो । तर, बिचैमा लकडाउनका कारण भेटघाट बन्द भए । कतै लाइब्रेरी जान पाइएन । दुई वर्ष काम ठप्प /बन्द भयो । कोभिड महामारीको अन्त्य भइसकेपछि सहज वातावरण बन्यो । अध्ययन, अनुसन्धान गर्न, दस्तावेजहरु खोज्नतिर लागेँ । त्यसका लागि पूरै दुई वर्ष कस्सिएँ । कति तथ्यांकहरु नेपालमा भेटिएनन् । भारतका विभिन्न लाइब्रेरी पुगेर दस्तावेजहरु बटुलेँ ।
मैले खोजेको, चाहेको भन्दा बढी दस्तावेजहरु भेटिए । सिंगापुर, मलेसिया, फिलिपिन्सबाट प्रकाशित हुने पत्रपत्रिकाहरु पनि भारतका लाइब्रेरीमा फेला पारेँ । नेपालबाट पहिलो एसियन गेम खेल्ने मौका पाएका ६ जनामध्ये मीनबहादुर बिष्ट र गजराज जोशीसँग मैले वीस वर्षअगाडि नै अन्तर्वार्ता गरिसकेको थिएँ । त्यसबाहेक ७१ जनासँग कुराकानी गरेँ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ४४ वटा पत्रपत्रिकाको अध्ययन गरेर पुस्तक तयार गरियो ।

पुस्तकभित्र कस्ता खालका विषयवस्तुहरू समेटिएका छन् ? कुन विषयमा बढी केन्द्रीत छ ?
यो पुस्तक खासगरी राणा कालदेखि पञ्चायत कालसम्मको कालखण्डमा खेलकुदको इतिहासमा जे जति घटनाक्रम भए तिनलाई चरणबद्ध रुपमा लेखिएको दस्तावेज हो । नेपालमा राष्ट्रिय खेलकुद परिषद कसरी गठन भयो ? बृहत राष्ट्रिय खेलकुद कसरी गठन भयो ? नेपालले दक्षिण एसियाली खेलकुदको आयोजना कसरी गर्यो ? त्यसमा सफलता कसरी पायो ? यसको नेतृत्व, योजनाकार सबै शरदचन्द्र शाहले गरेका थिए ।
नेपालमा खेलकुदबारे त्यति पुस्तक लेखिएका छैनन् । संसारमै यो कम लेखिने विधामा पर्छ । मैले लेखेको पुस्तकमा खेलकुदबारे मात्र सिमित छैन । तत्कालिन समय, राजनीति लगायत चाखलाग्दा विषयवस्तुहरू समेट्ने कोशिस गरेको छु । राणा कालदेखि पञ्चायत कालसम्मको कालखण्डमा खेलकुद क्षेत्रमा भएका घटनाक्रमको अध्ययनका लागि यो पुस्तक राम्रो दस्तावेज बन्न सक्छ ।
लामो समय पत्रकारिता गर्नुभयो । त्यसमा पनि बढी समय पत्रिका, म्यागेजिन र पछिल्लो समय अनलाइन मिडियामा सक्रिय हुनुभयो । पत्रिकामा काम गर्नु र किताब लेख्नुबीच के फरक रहेछ ?
दुई वटै माध्यमका आ–आफ्नै विशेषता छन् । पत्रकार नभएको भए म किताब लेख्दिनँ थिए हुलाँ । किताब लेख्न गार्हो काम हो । अध्ययन, अनुसन्धान निकै फराकिलो हुनुपर्छ । नेपालमा हरेक कुराको डकुमेन्टेसन जुटाउन गार्हो छ । त्यसमा पनि खेलकुद प्राथमिकतामै छैन । तर, त्यही पत्रकारिताकै जगमा टेकेर मैले आधार बनाएको हो । पत्रिकामा लेख्दा कुनै व्यत्तिसँग गफ गरेर लेख्न सकिन्छ । तर, किताब लेख्ने क्रममा तथ्यमा टेकेर, अलि समय लगाएर लेख्नु पर्यो । बढी मिहिनेत चाहिन्छ ।

कुनै निश्चित लक्षित वर्गका लागि किताब लेख्नुभयो कि, खेलकुदमा रुची राख्ने सबै पाठकहरुका लागि ?
मलाई के लाग्यो भने यतिका वर्ष पत्रकारिता गरियो । तर, खेलकुद पत्रकारिताको दस्तावेज नै भेटिएन । मैले प्राविधिक कुरा भन्दा पनि खेल साहित्य, तत्कालिन समाजसँग जोडिएका कुरा, राजनीतिक अवस्था, आर्थिक अवस्थालाई समेट्न खोजेँ । त्यसबेला खेलकुद कसरी अगाडि बढ्यो ? दरबारलाई नसोधी राष्ट्रिय प्रतिष्ठासँग कुनै पनि कुरा अगाडि बढ्दैनथे ।
यस पुस्तकभित्र राजा त्रिभुवन, महेन्द्र, वीरेन्द्रका विभिन्न रोचक प्रसंगहरु पढ्न पाइन्छ ।
पुस्तक लेख्दै जाँदा कुन कुरा खड्किएको महसुस भयो ?
सबै कुरा यसै पुस्तकमा मिसायो भने बुझ्न कठिन होला भनेर सरल भाषामा, तथ्यमा टेकेर लेखियो । शुन्यबाट हाम्रो खेलकुद कसरी अगाडि बढ्यो ? त्यो देखाउन खोजिएको हो । यसमा समेट्न सकिने थुप्रै कुराहरु थिए । नेपालमा पुस्तक लेख्नका लागि सबै दस्तावेज भेटिदैनन् । राम्रो डकुमेन्टेसन गरिएको पाइदैन ।
नेपालमा अध्ययन, अनुसन्धानलाई त्यति महत्व दिइदैन । जिम्मेवार व्यक्ति, सरकारी निकायमा बस्ने, सरोकारवाला संस्थामा बस्नेहरुलाई अनुसन्धान र दस्तावेजको महत्व नै थाहा छैन । एउटा प्रसंग सुनाउँ, तत्कालिन प्रधानमन्त्री चन्द्र शमशेरले बेलायतबाट लाण्डन पार्सिबल पब्लिकेसन हाउसबाट लेखक पार्सिबललाई किताब लेख्नका लागि नेपाल झिकाए । नेपालीलाई पुस्तक लेखाए, भारतीयलाई अंग्रेजीमा अनुबाद गर्न लगाए । सम्पादन र छपाईका लागि बेलायतबाट नेपालमा विदेशीलाई बोलाए । अहिलेका शासकमा त चन्द्र शमशेर जत्तिको पनि चेतना भेटिएन । हरेक संस्थाको मेमोरी भनेको दस्तावेज नै हो । त्यो भोलिका पुस्ताका लागि पनि दस्तावेज हो ।
पुस्तक प्रकाशन भएर बजारमा गइसकेको चरणमा क-कसलाई सम्झिनु हुन्छ ?
शरदचन्द्र शाह मेमोरियल फाउन्डेसनसँग सहकार्य नभएको भए यो पुस्तक नै तयार हुँदैनथ्यो । यसको प्रकाशनमा क्रियटिभ बुक्सले एकदमै चासो लियो । फाउन्डेसनको सहयोगमा पुस्तक विमोचन कार्यक्रम पनि भव्य नै भयो । शरदचन्द्र शाह मेमोरियल फाउन्डेसन, प्रकाशक, मलाई सूचनादिने सबै व्यक्ति र शुभचिन्तक सबैलाई म सम्झिन चाहन्छु ।









चुनावमा भाग लिने कांग्रेसको निर्णय
अफ्रिकाको पहिलो जी–२० शिखर सम्मेलनः महत्त्वाकांक्षी एजेन्डा, अमेरिकाको बहिष्कार र कूटनीतिक तनावबीच सुरु
राजधानीमा एमालेको प्रदर्शन
वाटको विस्फोटक ब्याटिङमा लुम्बिनीविरुद्ध कर्णाली याक्सको शानदार जीत
लुम्बिनीविरुद्ध कर्णालीका मार्क वाटको विस्फोटक शतक
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
लोकतान्त्रिक निकासका लागि फागुन २१ को निर्वाचन अनिवार्य छ : प्रधानमन्त्री कार्की
कस्ताे रहला आज देशभरको मौसम ?
प्रतिक्रिया