बिहीबार, माघ २२, २०८२

यी हुन् एक क्विण्टल सुन बरामदमा पक्राउ पर्नेहरू, मल्होत्रादेखि अग्रवालमाथि अनुसन्धान केन्द्रित

मेरोन्यूज २०८० साउन ४ गते ९:२५

काठमाडौँ । राजस्व अनुसन्धान विभागले झण्डै एक क्विण्टल सुन बरामद प्रकरणमा हालसम्म एक जना एजेन्टसहित छ जनालाई पक्राउ गरेको छ ।

बूढानीलकण्ठमा रहेको ‘रेडी ट्रेडर्स प्रा.लि.’का नाममा आएको उक्त परिणामको सुन बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागेको अवस्थामा बरामद गरेको थियो ।

उक्त सुन बरामद प्रकरणमा पक्राउ पर्नेहरूमा रेडी ट्रेडर्स प्रा.लि.का सञ्चालक दोलखाको मेलुङ गाउँपालिका ३ घर भई हाल काठमाडौँको साँखु बस्ने २१ वर्षीय दिलिप भुजेल, सोही ठेगाना घर भई स्वयम्भू बस्ने वर्ष ५३ का रामकुमार भुजेल रहेका छन् ।

यस्तै, भन्सार एजेण्ट राजेन्द्र राई, हर्क राई र ट्याक्सी चालक अशोक लामा रहेका छन् । एक जनाको नाम खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

सुन प्रकरणमा काठमाडौँको कालिकास्थानमा रहेको सिल्भर सिटी अपार्टमेण्टका मालिक दिपक मल्होत्रा र सोनी अग्रवालतिर अनुसन्धान केन्द्रित रहेको स्रोतले जनाएको छ ।

विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ । सुन हङकङबाट ल्याइएको हो । नेपालमा एकैपटक यति धेरै सुन बरामद भएको यो पहिलो घटना हो।

प्रतिक्रिया