आइतबार, फागुन १०, २०८२

मन्त्री लिम्बुको नेतृत्वमा अन्तर्राष्ट्रिय युवा दिवस समारोह समिति गठन

मेरोन्यूज २०८० साउन १२ गते ७:३९

काठमाडौं । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुको अध्यक्षतामा अन्तर्राष्ट्रिय युवा दिवस मूल समारोह समिति गठन भएको छ। हरेक वर्ष अगस्ट १२ तारेखमा विश्वव्यापी रूपमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउने प्रचलन रहेको छ।

Advertisement
nepal life insurencenepal life insurence

राष्ट्रिय युवा परिवदद्वारा बिहीबार मन्त्रालयमा आयोजित भेलाद्वारा परिषद्का अध्यक्ष समेत रहेका मन्त्री लिम्बुको अध्यक्षतामा ६५७ सदस्सीय समिति घोषणा भएको हो। सन् २०२३ का लागि संयुक्त राष्ट्र सङ्घले ‘ दिगो विकास लक्ष्य प्राप्तिमा युवाको साथ, हरित विश्व निर्माणमा हरित सिप विकास’ भन्ने मूल नारा सहित दिवस मनाउन आह्वान गरेको छ।

बिहीबार युवा तथा खेलकुद मन्त्रालयमा महत्त्वपूर्ण सरोकारवाला एवम् विभिन्न क्षेत्रका युवा केन्द्रित सङ्घसंस्था र प्रतिनिधिहरूको उपस्थितिमा आयोजित वृहत् भेलाबाट मूल समारोह समिति बनाइएको परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए।

समितिमा परिषद्का कार्यकारी उपाध्यक्ष , विभिन्न मन्त्रालयका प्रतिनिधि, प्रदेश युवा परिषद्का उपाध्यक्ष , परिषद्का सबै सदस्यहरू, नेपाली सेना, नेपाल प्रहरी , सशस्त्र प्रहरी बलका प्रतिनिधि , राष्ट्रिय खेलकुद परिषद्, युवा स्वरोजगार कोष र नेपाल स्काउटका प्रतिनिधि रहनेछन् ।यस्तै हिसान, प्याब्सन, एनप्यावसन लगायतका प्रतिनिधि पनि राखिएको छ।

यस्तै विभिन्न युवा तथा विद्यार्थी संघ संगठनका प्रतिनिधि,परिषद् सम्वद्ध युवा सञ्जालका प्रतिनिधि, परिषद् आवद्ध संघ–संस्थाका प्रतिनिधि, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधि समेत रहनेछन् ।समितिमा परिषद्का सवै जिल्ला युवा समितिका अध्यक्षहरु पनि रहनेछन्।

आगामी श्रावण २७ गते हुने अन्तर्राष्ट्रिय युवा दिवसलाई साताव्यापी कार्यक्रमका साथ भव्य रूपमा मनाउन सो समिति बनाइएको परिषद्का कार्यकारी बस्नेतले जानकारी दिए। यसैगरी बस्नेतको संयोजकत्वमा सचिवालय समेत गठन गरिएको छ।

सन् २००० देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसको रूपमा मनाउँदै आइएको छ। विश्वका विभिन्न देशका युवा विषय हेर्ने मन्त्रीहरुको सम्मेलनको सिफारिस अनुसार १७ डिसेम्बर १९९९ मा सम्पन्न संयुक्त राष्ट्रसंघको ५४ औं साधारणसभाले अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसको रूपमा मनाउने घोषणा गरेको हो।

यो घोषणासँगै अन्तर्राष्ट्रिय युवा दिवसलाई विश्वभर युवा जागरण , अधिकार र सशक्तीकरण लगायतका विविध कार्यक्रम गर्दै मनाउने प्रचलन छ। नेपालमा पनि हरेक वर्ष युवा मन्त्रालय, राष्ट्रिय युवा परिषद् र विभिन्न संघ–संस्थाले युवा दिवस विविध कार्यक्रमका साथ युवा दिवस मनाउने गरेका छन्।

प्रतिक्रिया