शनिबार, फागुन ९, २०८२

कोशीमा नयाँ सरकार गठनको कसरत

कोशी सभामुखलाई राजीनामा गराउन कांग्रेसको प्रस्ताव

प्रचण्ड भन्छन्- विकल्प सबै खुल्ला राखौं, राप्रपालाई विश्वासमा लिन खोजौं

मेरोन्यूज २०८० साउन १३ गते १६:२९

काठमाडौँ । कोशी प्रदेशको नयाँ सरकार गठनका लागि फेरि सत्तागठबन्धन दलका मुख्य दुई दल कांग्रेस र माओवादीका बीचमा छलफल भएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा आज बिहान कांग्रेसका शीर्ष नेताहरुसँग प्रचण्डले छलफल गरेका थिए ।

Advertisement
nepal life insurencenepal life insurence


छलफलका लागि कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापतिसमेत रहेका उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा र नेता कृष्णप्रसाद सिटौला बालुवाटार पुगेका थिए । कोशीमा कांग्रेसका उद्दव थापालाई सभामुखसमेतको हस्ताक्षर प्रयोग गरेर गठबन्धन दलले सरकारको नेतृत्व सुम्पेका थिए । तर सर्वाेच्च अदालतले सभामुखको हस्ताक्षर प्रयोग गरेर सरकार गठन हुने विषयमा सम्वैधानिक प्रश्न उठाउँदै पदमुक्त गरेपछि फेरि नयाँ सरकार गठनको छलफल शुरु भएको हो ।

छलफलका क्रममा कांग्रेस नेताहरुले सभामुख बाबुराम गौतमलाई राजीनामा गराउन लगाएर फेरि बहुमतको सरकारको दावी गर्नुपर्ने प्रस्ताव गरेका थिए । कोशीमा एमाले र राप्रपा एकातिर उभिदा अन्य सवै दल अर्काेतिर उभिदा पनि ४६/ ४६ सांसद हुनेछन् । त्यस्तो बेला सभामुखले राजीनामा दिएमा भने कांग्रेस, माओवादी गठनबन्धनको सरकारका लागि बहुमत पुग्छ ।

तर माओवादीका तर्फबाट प्रदेश सांसद जितेर सभामुख बनेका बाबुराम गौतमले सरकार गठनका बेला आफुले गरेको कमजोरीलाई सर्वाेच्च अदालतले सञ्चाईदिएको भन्दै अहिले आफु राजीनामा दिने पक्षमा नरहेको बताईरहेका छन् । तर सरकार निर्माणका लागि कांग्रेसले भने उनलाई राजीनामा गराएरै भएपनि संख्या पुरयाउनुपर्ने प्रस्ताव प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग गरेका छन् ।


तर प्रधानमन्त्री प्रचण्डले भने राप्रपासँगको छलफल पनि अझै एकचरण गर्ने गरि प्रस्ताव गरेको स्रोत बताउँछ । राप्रपालाई मनाउन कांग्रेसका अहिलेका संसदीय दलका नेता उद्दव थापाको विकल्पमा अन्य कुनै नेताका नाममा सहमति बन्छ भने त्यो विकल्प पनि खुल्ला गरेर जानुपर्ने विषयमा पनि बालुवाटारमा छलफल भएको स्रोतको भनाइृ छ । कांग्रेसभित्र थापा सिटौला पक्षका नेता हुन् ।

तर उनको पार्टीभित्रै पनि सर्वसहमत हुने अवस्था छैन । कांग्रेसभित्रै अर्काे कुनै नेतालाई विकल्पमा सार्दा राप्रपा सहमत भईहाल्छकी भन्ने बहस पनि छ । कोशीमा सरकार गठनका लागि प्रदेशसभामा ४७ सांसदको समर्थन आवश्यक पर्छ । त्यहाँ ९३ सदस्यीय कोशी प्रदेश सभा छ । तर गठबन्धनमा कांग्रेसका २९, माओवादीका सभामुखबाहेक १२, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ गरी ४६, एमालेका ४० र राप्रपाका ६ सांसद छन् ।

अहिलेको राजनीतिक समीकरणमा कसैको सरकार गठन हुने अवस्था देखिँदैन । यस्तो अवस्थामा राप्रपालाई विश्वासमा लिन कांग्रेस९माओवादीको प्रयास जारी रहेको छ । राप्रपालाई विश्वासमा लिने, सभामुख बाबुराम गौतमले राजीनामा दिनेलगायतका विकल्प सवै खुल्ला राखेर छलफल गर्ने समझदारी बिहान बालुवाटार छलफलमा भएको एक नेताले बताए ।

एमालेका नेता हिक्मतकुमार कार्कीले असार १५ को प्रदेशसभा बैठकमा विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेश प्रमुख खापुङले असार १७ मा ५ दिनको समयसीमा तोकेर संविधानको धारा १६८ को उपधारा ९२० अनुसार सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए ।

प्रतिक्रिया