नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउनुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल–भारत आर्थिक सहकार्यलाई थप परिणाममुखी बनाउनुपर्नेमा जोड दिएका छन् ।
भारतको राजधानी नयाँ दिल्लीमा सुरु भएको ‘दोस्रो इन्डो–नेपाल व्यापार महोत्सव २०२६’ लाई शुक्रबार सम्बोधन गर्दै उनले नेपाल–भारतबीच सहज भन्सार प्रक्रिया, मापदण्ड समन्वय, डिजिटल व्यापार प्रणाली सुदृढीकरण तथा साना–मझौला उद्योगलाई वित्तीय पहुँच र प्रविधि हस्तान्तरणमा सहजीकरण गर्नुपर्नेमा जोड दिए ।
अध्यक्ष ढकालले भारत नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार र प्रमुख लगानीस्रोत रहेको उल्लेख गर्दै खुला सीमा, सांस्कृतिक निकटता र जनस्तरको सम्बन्धले दुई देशबीचको साझेदारीलाई विशिष्ट बनाएको बताए ।
उनले विश्व अर्थतन्त्र अनिश्चितता र आपूर्ति शृंखलामा अवरोधको अवस्थामा रहेको उल्लेख गर्दै छिमेकी राष्ट्रबीच सहकार्य अझ सुदृढ गर्नुपर्नेमा जोड दिए ।
भारतको हालैको केन्द्रीय बजेटले पूर्वाधार, डिजिटल कनेक्टिभिटी, हरित ऊर्जा तथा साना–मझौला उद्योग प्रवद्र्धनमा दिएको प्राथमिकताले नेपालका लागि समेत नयाँ अवसर सिर्जना गर्ने उनको धारणा थियो ।
अध्यक्ष ढकालले नेपाल जलविद्युतमा समृद्ध रहेको र भारततर्फ विद्युत निर्यात सुरु भइसकेको जानकारी दिँदै उपयुक्त प्रसारण लाइन र नीतिगत स्थायित्व भएमा नेपाल भारतको विश्वासिलो हरित ऊर्जा साझेदार बन्न सक्ने बताए ।
यस्तै, उनले पर्यटन क्षेत्रमा नेपालले प्राकृतिक सौन्दर्य, साहसिक तथा आध्यात्मिक गन्तव्यहरू प्रस्तुत गरेको उल्लेख गर्दै होटल, रिसोर्ट तथा केबलकार परियोजनामा लगानीको अवसर विस्तार भइरहेको जानकारी पनि गराए ।
उनले भने, “नेपालमा ऊर्जा, पर्यटन औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, सीमापार लजिस्टिक्स, कृषि प्रशोधन, औषधि उद्योग, शिक्षा र स्वास्थ्य सेवामा प्रशस्त सम्भावना रहेको छ । यस्ता क्षेत्रमा लगानी गर्न भारतीय लगानीकर्ताहरुलाई आग्रह गर्छु ।”
नेपालको निजी क्षेत्रले सधैँ राजनीतिक स्थायित्व र आर्थिक अनुशासनको पक्षमा आवाज उठाउँदै आएको उल्लेख गर्दै उनले दीर्घकालीन रूपमा लगानीकर्ताको विश्वास कायम गर्ने पक्षमा नेपालमा नीतिगत सुधार भइरहेको पनि उल्लेख गरे ।
उनले इन्डो–नेपाल व्यापार महोत्सव केवल औपचारिक कार्यक्रम नभई सद्भावनालाई व्यावसायिक साझेदारीमा रूपान्तरण गर्ने मञ्च भएको उल्लेख गर्दै अध्यक्ष ढकालले हरित ऊर्जा, डिजिटल सेवा, पर्यटन र उत्पादन क्षेत्रमा ठोस सहकार्य अघि बढाउन भारतीय उद्योगी व्यवसायी एवं लगानीकर्तालाई आह्वान पनि गरे ।
उनले राजनीतिक इच्छाशक्ति, नीतिगत स्थायित्व र आपसी विश्वासका आधारमा इन्डो–नेपाल आर्थिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउन सकिने विश्वास पनि व्यक्त गरे।

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
प्रतिक्रिया