राजश्वले सिआईबीलाई बुझायो सुन तस्करी आरोपमा पक्राउ परेका १७ अभियुक्त र अनुसन्धान फाइल

काठमाडौँ । गत साउन ३ गते राजस्व अनुसन्धान विभागले बरामद गरेको करिब एक सय किलो सुन, त्यस प्रकरणमा पक्राउ परेका व्यक्तिहरु र अनुसन्धान प्रतिवेदन आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई बुझाएको छ।
अहिलेसम्म संकलित अनुसन्धानका प्रमाणहरु, अनुसन्धानको फाइल जे जस्तो अवस्थामा छ, त्यही अवस्थामा र पक्राउ परेका १७ जनालाई सीआईबी पठाइएको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारी दिए।
‘हामीले पक्राउ गरेका सबै आरोपीहरु, हामीले संकलन गरेका प्रमाण र अहिलेसम्मको अनुसन्धान फाइल जस्ताको तस्तै सीआईबीमा पठाएका छौँ,’ महानिर्देशक ढुंगानाले भने ।
सरकारले बिहीबार राजस्वले अनुसन्धान गरिरहेको यो प्रकरणको थप अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिने निर्णय गरेको थियो । सरकारको निर्णयपछि आइतबार राजस्वले अनुसन्धानका सबै फाइल र पक्राउ परेकाहरुलाई प्रहरीमा हस्तान्तरण गरेको हो ।
यो प्रकरण अनुसन्धान गर्न सिआईबीले डीएसपी दुर्गाराज दाहाललाई अनुसन्धान अधिकृत तोकेको छ । दाहालको नेतृत्वमा शुक्रबारदेखि नै अनुसन्धान सुरु भइसकेको सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले जानकारी दिइन् । राजस्वबाट फाइल आइसकेपछि अनुसन्धान अगाडि बढाउने विधिबारे प्रष्ट हुने एआईजी बज्राचार्यले जानकारी दिइन्।
राजस्वले फरक मितिमा यो प्रकरणमा संलग्न रहेको आरोपमा १८ जनालाई पक्राउ गरेको छ। तीमध्ये एकजना बिरामी भएका कारण हाजिरी जमानीमा छाडिएको छ।
पक्राउ पर्नेहरुमा ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, रेडी ट्रेडका सञ्चालक दिलीप भुजेल, दिलीपका मामा रामकुमार भुजेल र दिलीपलाई कम्पनी खोल्न लगाउने हर्कराज राई रहेका छन्।
यस्तै तिब्बतीमूलका भारतीय नागरिक थुप्तेन छिरिङ, चिनियाँ नागरिक जिक्वाङ लिन, कार्गो कम्पनी सञ्चालकहरु राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ, पुस्करराज भट्ट, भन्सार अधिकृत सन्तोष चन्द, एक्सरे अपरेटर सरोज श्रेष्ठ र भन्सार जाँचमै संलग्न कुमार ढकाल पक्राउ परेका छन्।
तस्करीको सुन भन्सार पास गर्न सहयोग गरेको भन्दै भन्सार एजेन्टहरू यादव शंकर पराजुली, सुदर्शन गौतम र रुक्मिना सुब्बा पक्राउ परेका थिए। तर सुब्बा क्यान्सरको बिरामी भएकाले छाडिएको छ।
चिनियाँ नागरिक लिनलाई भाडामा गोदाम खोजिदिने नुवाकोटका सन्तोष तामाङ पनि पक्राउ परेका छन्।
उनीहरुलाई यसअघि ललितपुर परिसर र सानेपा प्रभागको हिरासतमा राखेर राजस्वले अनुसन्धान गरिरहेको थियो । पक्राउ परेकाहरुविरुद्ध सीआईबीले राजस्व छली र संगठित अपराधमा एकसाथ अनुसन्धान अघि बढाउने भएको छ।
















नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
प्रचारप्रसार गर्नुअघि राजनीतिक दल वा उम्मेदवारले घोषणापत्र सार्वजनिक गर्नुपर्ने
निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन आग्रह
प्रधानमन्त्री कप क्रिकेटः बैतडी लगातार विजयी
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया