शनिबार, फागुन १६, २०८२

सशस्त्र युद्धमा बालसेनाबारेको रिटमा १५ असोजमा सुनुवाइ

मेरोन्यूज २०८० साउन ३२ गते १९:१९

काठमाडौँ । दश वर्षसम्म चलेको जनयुद्धका क्रममा बालसेना प्रयोग गरेको भन्दै परेको रिटमा प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसहितले सर्वोच्च अदालतमा जवाफ पठाएका छन्।

Advertisement
nepal life insurencenepal life insurence

अदालतले मागेको जवाफ आएपछि सर्वोच्चले रिटको सुनुवाइ आगामी असोज १५ गतेका लागि तोकेको छ।

माओवादीका पूर्वबालसेना लेनिन विष्टले गत जेठ २८ गते दायर गरेको रिटमा दाहाल र बाबुरामसहितका विपक्षीहरुले जवाफ पठाएका हुन्।

दाहाल र बाबुराम दुवै नेताले आफूहरुले जनयुद्धका क्रममा बालसेनाको प्रयोग नगरेको जवाफ दिएका छन् । दुबैले यो विषय संयुक्त राष्ट्रसंघीय मिसन अनमिनले नै टुंगो लगाइसकेको बताएका छन्।

दुवै नेताले लेनिन विष्टले बालसैनिक प्रयोगबारे गरेको जिकिरसहितको रिट नै खारेजभागी हुने तर्क पनि जवाफमा गरेका छन्।

यसअघि यो रिट सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिए पनि सर्वोच्चको आदेशमा दर्ता भएको थियो। न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले रिछ दर्ता गर्न आदेश दिएको थियो।

बालसेना प्रयोगबारे दाहालविरुद्धको रिट दर्ता भएपछि अदालतले कारण देखाउन आदेश दिएको थियो। रिटमाथिको सुनुवाइपछि न्यायाधीश सपना प्रधान मल्लको इजलासले बालसेना प्रयोगबारे कारण देखाउन आदेश दिएकी थिइन् । साथै उनले रिटलाई अग्राधिकार दिएकी थिइन् ।

माओवादीकै पूर्वबाल सेना विष्टले जनयुद्धका क्रममा बालसेना प्रयोग अन्तर्राष्ट्रिय मानवीय कानुनविपरीतको कार्य भन्दै रिट हालेका थिए।

प्रतिक्रिया