बुधबार, फागुन ६, २०८२

अहिले देशमा इतिहासको सबैभन्दा लोकप्रिय सरकार छ : वर्षमान पुन

काँग्रेस–एमालेले बेलाबेला गाली गर्छन्, तर अप्ठेरो पर्दा निकासका लागि प्रचण्ड नै खोज्ने स्थिति छ

मेरोन्यूज २०८० भदौ २ गते १६:०४

काठमाण्डौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन अनन्तले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार जततामा लोकप्रिय भएको बताएका छन् । पार्टीको उपत्यका विशेष प्रदेश समिति बैठकमा शनिबार बोल्दै पुनले वर्तमान सरकार इतिहासकै सर्वथा लोकप्रिय सरकार भएको दाबी गरेका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

सुशासन र शुद्धीकरणको कामलाई अघि बढाएका कारण सरकारलाई जनताले मन पराएको उनको भनाइ थियो । ‘सरकारले सुशासन र शुद्धीकरणको कामलाई अघि बढाएको छ । सुशासनको जगमा समृद्धि हासिल गर्नेतिर सरकारको काम निर्देशित छ’, पुनले भने, ‘इतिहासमा पहिलोपटक सरकार पपुलर ९लोकप्रिय० भएको छ ।’

पुनले मुलुकलाई सही नेतृत्व गर्न सक्ने शक्ति आफ्नो दल र नेता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भएको बताएका छन् । पार्टीको उपत्यका विशेष प्रदेश समिति बैठकमा शनिबार बोल्दै उनले सोही क्षमताका कारण प्रतिनिधिसभामा तेश्रो शक्ति भएर पनि आफ्ना अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व गरिरहेको बताए । प्रचण्ड माओवादीको मात्र नभई काँग्रेस र एमालेको समेत नेता भएको दाबी उनको थियो । ‘३२ सिटसहित प्रतिनिधिसभामा हामी तेश्रो शक्ति छौं, तर सरकारको नेतृत्व गरिरहेका छौं’, पुनले भने, ‘राष्ट्रिय राजनीतिमा सकालीन नेता प्रचण्ड नै हो । काँग्रेस–एमालेले बेलाबेला गाली गर्छन्, तर अप्ठेरो पर्दा निकासका लागि प्रचण्ड नै खोज्ने स्थिति छ ।’ गत मंसिरमा सम्पन्न आम निर्वाचनमा पार्टीले करिब ११ प्रतिशत मत पाए पनि सरकारको कामबाट ९० प्रतिशत जनता खुसी भएको उनको भनाइ थियो । ‘१० देखि ११ प्रतिशत जनमत हाम्रो पक्षमा छ । तर सरकारको राम्रो कामबाट ९० प्रतिशत जनताले समर्थन गरेका छन्, हामीतर्फ आकर्षित भएका छन् ।’
पुनले आफ्नो अध्यक्ष नेतृत्वको वर्तमान गठबन्धन सरकारको सम्पूर्ण ध्यान मुलुकबाट भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्ने र त्यसको जगमा समृद्धिमा जाने रहेको बताए । ठूला भ्रष्टाचार र बेथितिहरुमाथि सरकार निर्मम ढंगले प्रस्तुत भएकाले जनतामा सरकार लोकप्रिय रहेको उनको भनाइ थियो ।
पुनले सुशासनका लागि काम गर्दा कहिले प्रतिपक्ष र कहिले सरकारमै सहकार्य गरिरहेका रानजीतिक शक्ति आफूहरुसँग चिढिएको बताए । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनाहिना प्रकरणको छानबिन अघि बढ्दै गरेका बेला एमालेले बहुमत जुटाउन प्रयास गरेको खुलासा पुनले गरे । तर, तत्काल सत्तारुढ दलका शीर्ष नेता बसेर त्यस्तो प्रयास विफल पारिएको उनले बताए । ‘सरकारले सुशासनका लागि काम गर्दा कहिले सरकारमा भएको र कहिले प्रतिपक्षमा रहेका दल चिढिने अवस्था देखियो’, पुनले भने ।
सरकारले गरेको राम्रा कामबारे जनतामा सम्प्रेषण गर्ने यद्देश्यले हालै सम्पन्न पार्टी केन्द्रीय समितिले तीन महिने अभियानको कार्यक्रम पारित गरेको बताए । पार्टी अध्यक्ष प्रचण्डले सात प्रदेशका एकएक वडामा आफैं गएर संगठन निर्माण गर्छु भन्नुले पार्टीमा नयाँ रक्तसञ्चार पैदा भएको उल्लेख गरे ।
उनले आफ्ना अध्यक्ष प्रचण्डमा परिस्थितिअनुसार अघि र पछि हिंड्न सक्ने कौशलता रहेकै कारण गत निर्वाचनमा पार्टी ३३ सितसहित तेश्रो शक्तिमा खुम्चिए पनि मुलुकको नेतृत्व गर्ने मौका आएको बताए ।
सरकारका काँग्रेससहितका दलसँगको सहकार्यमा रहेको भए पनि राष्ट्रिय मुद्धाहरुमा प्रमुख प्रतिपक्षीसहितका दलसँग हातेमालो गरेर अघि बढ्ने नीतिमा आफूहरु रहेको उल्लेख गरे । संसदका विषयगत समितिहरुमा बहुमत र अल्पमतका आधारमा सभापति चुन्ने परम्परा भए पनि सबैलाई मिलाएर लैजानकै लागि प्रतिपक्षी एमालेलेलाई तीन समितिको सभापति दिने सहमति भएको उनको भनाइ थियो । १२ बुँदे सहमति, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणमा सहकार्य गरेर आएको काँग्रेसलाई छाडेर आजको रानजीति अगाडि नबढ्ने उनको स्पष्टोक्ति थियो । आजको राजनीतिमा काँग्रेससँग मुद्धा मिलेकाले सरकारमा सँगै रहेको भन्दै उनले रणनीतिक र सैद्धान्तिक रुपमा कम्युनिष्टहरु एक ठाउँमा हुनुपर्छ भन्नेमा आफूहरु स्पष्ट रहेको जनाए । ‘अहिलेको परिवर्तन सही छ । यसलाई समयअनुसार परिमार्जन गर्दै जानुपर्छ भन्नेसँग सहकार्य गर्छौं’, उनले भने, ‘देशभित्रका मुख्य पार्टीहरुलाई सन्तुलन गरेर जाने हाम्रो नीति छ ।’
पुनले पूर्वमाओवादीसहित विचार र पृष्ठभूमि मिल्ने दलहरुसँग एकता र ध्रुवीकरण गर्दै जाने नीति रहेको पनि उल्लेख गरे । ‘हाम्रो अध्यक्ष प्रचण्डलाई बायाँतिर साइड लाइट देखाएर बायाँ हिंड्ने र बायाँतिर साइडलाइट देखाएर दायाँ हिंड्ने चरित्रको भन्ने पनि गरिएको छ’, उनले भने, ‘कहिलेकाहीं २४ घण्टामा पनि परिस्थितिमा फेरबदल आउन सक्छ । फेरिएको परिस्थितिअनुसार अघि बढ्न हामी सिपालु छौं । यो हाम्रो अध्यक्षको तरिका हो । माओवादी तरिका हो । विगतदेखि नै हामी यसैगरी आइरहेका छौं ।’ झट्टा हेर्दा छिटो कार्यनीति बदल्ने आफूहरुको तरिका विरोधाभाषपूर्ण लागे पनि त्यो सही र मुलुकको हितमा भएको दाबी पुनले गरे ।
फरक प्रसंगमा पुनले रुस–युक्रेन युद्धपछि अमेरिका–चीनलगायत शक्ति राष्ट्र र उनीहरुलाई समर्थन गर्ने मुलुकहरुबीच तीव्र ध्रुवीकरण भइरहेको चर्चा गरे । यद्यपि नेपाल असंलग्नताको नीतिअनुसार कुनै पनि ध्रुवीकरणको पक्षमा नलाग्ने स्पष्ट गरे । यद्यपि, विकास साझेदारका रुपमा भने सबै मुलुकसँग बराबर सम्बन्ध कायम गरी सहकार्यको नीति लिइने उल्लेख गरे ।
‘सुरु–युक्रेन युद्धको भूराजनीतिक प्रभाव एसिसा र दक्षिणपूर्वी एसियाका देशहरुमा पनि परेको छ । हाम्रो परराष्ट्र नीति असंलग्न हो । कुनै पनि सैन्य गठबन्धनमा आबद्ध हुँदैनौं’, पुनले भने, ‘तर, हाम्रो राष्ट्रिय हितमा हुने गरी आर्थिक विषयमा सबैसँग सहकार्य गर्छौं ।’

प्रतिक्रिया