बुधबार, फागुन ६, २०८२

विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन

मेरोन्यूज २०८० भदौ ४ गते १४:१९

काठमाडौं । संसदीय विशेष सुनुवाइ समितिले प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन गरेको छ । समितिले सोमबार प्रधानन्यायाधीशमा प्रस्तावित श्रेष्ठको सुनुवाइ गरेको थियो । अब राष्ट्रपतिले उनलाई नियुक्त गरेपछि कार्यभार सम्हाल्ने छन् ।

Advertisement
nepal life insurencenepal life insurence

उनीविरुद्ध समितिमा तीन वटा मात्र उजुरी परेका थिए । उजुरीकर्ताहरुसँगको छलफलपछि सोमबारै श्रेष्ठको सुनुवाइ भएको हो । प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठले अदालतमा बिचौलियाको प्रभाव रहेकाले त्यसलाई नियन्त्रण गर्नका लागि आफू कठोर भएर लाग्ने प्रतिबद्धता समितिमा गरेका छन् ।

श्रेष्ठले संसदीय सुनुवाइ समितिसमक्ष न्यायपालिका सुधारका लागि आफ्नो कार्ययोजनासहित धारणा व्यक्त गरेका थिए । उनले न्याय सम्पादनलाई चुस्त र व्यवस्थित बनाउनको लागि १८ पन्ने योजना पेश गरेका थिए ।

२०७३ साल साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त श्रेष्ठ सरकारी सेवामै लामो समय रहेर सर्वोच्चमा पुगेका हुन् । सन् १९५९ अक्टोबर ६ तारिखमा डोटीको सिलगढीमा जन्मिएका उनले मानवशास्त्रमा स्नातकोत्तर र कानूनमा डिप्लोमा गरेका छन् ।

सन् १९८२ अप्रिल ९ मा उनले शाखा अधिकृतको अस्थायी दरबन्दीमा सरकारी सेवा सुरु गरेका थिए । त्यसको दुई वर्षपछि सुदूर पश्चिम क्षेत्रीय अदालतमा उनी शाखा अधिकृत भएका थिए। सन् १९८८ फेब्रुअरी ६ तारिखमा श्रेष्ठ जिल्ला न्यायाधीश नियुक्त भएका थिए । उनी सर्वोच्चको न्यायाधीश नियुक्त हुनुअघि सन् २०१४ मा पुनरावेदन अदालत हेटौंडाका मुख्य न्यायाधीश नियुक्त भएका थिए ।

उनी सन् २०२४ को अक्टोबर ५ तारिखसम्म बहाल रहनेछन् ।

प्रतिक्रिया