शनिबार, फागुन १६, २०८२

श्रम स्वीकृति नलिई डाक्टर कुवेत पठाउने विज्ञापन गर्ने ओमेगा कम्पनी निलम्बन

मेरोन्यूज २०८० भदौ १२ गते १९:४२

काठमाडौं । श्रम स्वीकृति नलिइ नेपाली विशेषज्ञ चिकित्सकलाई रोजगारीको लागि कुवेतमा माग भएको भन्दै आवेदन माग्ने ओमेगा इन्टरनेसनल प्रालिलाई वैदेशिक रोगजार विभागले निलम्बन गरेको छ।

Advertisement
nepal life insurencenepal life insurence

सीपयुक्त दक्ष जनशक्तिलाई व्यक्तिगत रुपमा गन्तव्य मुलुक पठाउने गरी शंकास्पद कार्य गरेको भन्दै ओमेगा र अक्जोन इन्टरनेसनल प्रालिलाई विभागले मंगलबार निलम्बन गरेको हो ।

ओमेगाले विभागको पूर्वस्वीकृति बिना सामाजिक सञ्जालमार्फत नेपाली डाक्टरलाई वैदेशिक रोजगारीमा कुवेल पठाइदिने भ्रमपूर्ण सूचना प्रसारण गरेको विभागले बताएको छ ।

एउटै व्यक्तिको अर्को संस्था अक्जोनले पनि एजुकेसनल इन्स्टीच्युट एण्ड कन्सलटेन्सी वर्किङ भिसाको प्रलोभन देखाइ शंकास्पद कारोबार गरी व्यक्तिगत रुपमा दक्ष जनशक्ति वैदेशिक रोजगारमा पठाउने गरेको विभागले जनाएको छ।

विभागले दुवै कम्पनीको कार्य शंकास्पद देखिएको भन्दै थप अनुसन्धान गर्न तत्काललाई दुवै कम्पनीलाई निलम्बन गरेको विभागका निर्देशक कविराज उप्रेतीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

‘नेपाली डाक्टरलाई रोजगारीका लागि कुवेत पठाउने भन्दै विज्ञापन गरेको कम्पनीले पूर्व श्रमस्वीकृति लिएको थिएन, यसको विषयमा थप अनुसन्धान भइरहेको छ,’ उप्रेतीद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, ‘अनुसन्धानको दायरामा रहेकाले सो कम्पनीले कुनै गतिविधि गर्न नपाउने गरि निलम्बल गरिएको छ ।’

कुवेतमा रोजगार एजेन्टका रुपमा काम गरिरहेको ओमेगा इन्टरनेशनल प्राइभेट लिमिटेडले ९७५ जना विशेषज्ञ चिकित्सकका लागि आवेदन खुला गरेको फेसबुक पेजमा सूचना राखेको थियो ।

ओमेगाले सार्वजनिक गरेको सूचनामा कुवेतको अस्पतालमा काम गर्ने गरी विभिन्न सात वटा विधामा विशेषज्ञ डाक्टरहरु माग गरिएको थियो ।

विशेषज्ञ चिकित्सकको तलब ७ लाख ११ हजारदेखि १२ लाख ७० हजारसम्म हुने र उक्त तलबमा चिकित्सकले मासिक २६ दिन काम गर्नुपर्ने आमेगाले जारी गरेको सूचनामा उल्लेख थियो।

प्रतिक्रिया