आइतबार, फागुन ३, २०८२

आन्तरिक प्रतिस्पर्धा रोक्ने ओलीको रणनीति

शितल शर्मा २०८० भदौ १७ गते १४:५७

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र आन्तरिक प्रतिस्पर्धामार्फत नेतृत्व चयन गर्न नदिने रणनीति अबलम्बन गर्न खोजेका छन् । एमालेको अहिले प्रदेश अधिवेशन चल्न सुरु भएको छ ।
पार्टीमाथी चौतर्फी घेराबन्दी भएको र यस्तो बेला आन्तरिक प्रतिस्पर्धा गर्दा पार्टीभित्र गुटगत प्रवृति झन् मौलाउने मौका पाउने भन्दै ओलीले सहमतिमा नेतृत्व चयन गर्न दवाव बढाउन थालेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

यसको पछिल्लो संकेत ओलीले भदौं १६ (शनिबार) देखि सुरु भएको पार्टीको लुम्बिनी प्रदेश अधिवेशनमा देखाईसकेका छन् । लुम्बिनी प्रदेश अधिवेशनमा आन्तरिक प्रतिस्पर्धाबाटै अध्यक्षका लागि अहिलेका अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरि रिजाल आकांक्षी छन् ।

पार्टी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले आकांक्षीमध्ये एक– एक जनालाई बोकेर अध्यक्ष बनाउन लविङ थालेपछि ओली दवावमा छन् । केन्द्रीय पदाधिकारी नेताहरुको पिठूयुमा चढेर प्रदेश नेतृत्व हात पार्ने योजनामा प्रदेशका आकांक्षी लागेपछि ओली त्यसले पाटीृभित्र थप गुटबन्दी मौलाउने बुझाईमा छन् ।

टाउकोले पुच्छर छान्ने परम्परा बसाउँदा राजनीतिक दलमा वेथिती बढ्ने र पार्टीको काम प्रभावकारी ढंगले अगाडी जान नसक्ने निश्कर्षमा प्रायः नेपालका राजनीतिक दलहरु पुगिरहेकै बेला एमाले अध्यक्ष ओलीले भने झन् भद्रगोलतामा पार्टी फस्न सक्ने भन्दै सहमतिबाटै नेतृत्व चयन गर्ननिर्देशन दिन थालेका छन् ।

ओलीले त्यसका लागि अहिले पार्टी चौतर्फी घेराबन्दीमा रहेको कारण दिईरहेका छन् । पार्टी घेरावन्दीमा परेका बेला आन्तरिक प्रतिस्पर्धामा जानु उपयुक्त नहुने ओलीले अहिले तर्क अगाडी सारेका छन् । लुम्बिनीमा ओलीले त्यसैलाई आन्तरिक प्रतिस्पर्धा रोक्ने बलियो हतियार बनाउन चाहेका छन् ।

त्यहाँ उनले सचिव पद्मा अर्याललाई सहमतिमा नेतृत्व टुंग्गो लगाउने जिम्मा छोडेर काठमाडौ फर्केका छन् । ‘मेरो अन्तिम निष्कर्ष चुनावमा भरसक नजानुस् । लुम्बिनीले नमूना देखाउँछ भनेर प्रदेश अधिवेशनमा पहिले नम्बरमा राखेका हौं । एउटा पद नहुँदैमा केही बिग्रिँदैन । नेतृत्वले पार्टी हितविपरीत केही पनि सोच्दैन । तपाईँहरू एकताबद्ध भएर जानै पर्छ । तपाईँहरू पार्टीलाई के असर पर्छ भनेर सोचेर जानुपर्छ,’ ओलीले सहमतिमै प्रदेश नेतृत्व चयन गर्न आग्रह गदै नेता कार्यकर्तासँग भनेका छन् ।

लुम्बिनीको प्रदेश अधिवेशन उद्घाटन र त्यसपछिका अन्य बसाई सकेर काठमाडौं फर्किने क्रममा समेत ओलीले थप अगाडी बढेर भनेका छन्, ‘म नभए पनि, विष्णुजी नभए पनि सबै अधिकार इन्चार्ज पद्मा अर्यालजीलाई दिएको छु, यहाँको सबै आधिकारिक निर्णय उहाँले सुनाउनुहुन्छ ।’

‘फैसला दिनु पर्‍यो भने दृढतापूर्वक दिनुस्, मनाउनुस् ।’ ओलीले पद्मालाई पनि निर्देशन दिँदै भनेकी छिन् ।

शनिबारबाट शुरु भएको प्रदेश अधिवेशनका क्रममा लुम्बिनीमा ओलीले बढाएको यस्तो दवावले उनी अन्य प्रदेश नेतृत्व पनि आन्तरिक प्रतिस्पर्धामा गर्न दिने पक्षमा छैनन ।
‘लोकतान्त्रिक अभ्यास भनेको जिम्मेवारी बोध र अनुशासनसहितको अभ्यास हो र प्रतिस्पर्धामात्रै होइन, समझदारी, अझ उन्नतस्तरको समझदारी र सहमति लोकतन्त्रको उच्चस्तरीय अभ्यास हो । दलभित्र आपसी समझदारी सुदृढ एकताको आधार हो, तसर्थ, म सम्पूर्ण पार्टी सदस्यलाई उच्च समझदारीका साथ नेतृत्व चयनका लागि आग्रह गर्छु,’ ओलीले लुम्बिनी प्रदेश अधिवेशन उद्घाटनका क्रममा भनेका थिए ।

ओली खासमा पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा गराउँदा हाँगो फाट्न सक्ने भयमा छन् । माधव नेपाल लगायतका नेताहरुले पार्टी छोडेर बाहिरिएपछि एमालेमा ओली एक्लो बृहस्पति बनिरहेका छन् । तर उनको त्यो एक्लो वृहस्पति बनिरहने दाउमा पछिल्ला दिनमा खचमच देखिन थालेको छ ।

अर्थात एमालेभित्रै ओलीको विकल्पमा पूर्व राष्ट्रपति विद्या भण्डारीलाई एमालेमा स्वागत गरेर पार्टी नेतृत्व स्थापित गरेर फेरि नयाँ शिरामा कम्युनिष्ट एकताको गाँठो बाँध्ने । एमालेका केही नेताहरुले निरन्तर विद्या भण्डारीसँग गरिरहेको भेटघाटबाट पछिल्ला दिनमा ओली झस्किन थालेका छन् ।

गत मंसिरमा भएको चुनावका उम्मेदवार चयन र त्यसपछि केही समय एमालेसमेत सहभागी भएको प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री छनौटसम्म पनि पूर्व राष्ट्र«पति विद्या भण्डारीले त्यसवेला राष्ट्र«पतिकै भूमिकामा बढाएको दवावले पनि ओली भण्डारीप्रति पछिल्ला दिनमा शसंकित छन् ।

जसकाकारण पनि प्रदेश अधिवेशनलगायतमा आन्तरिक प्रतिस्पर्धा गराउँदा भण्डारीको थप उपस्थिती पार्टीभित्र बाक्लिदो हुनसक्ने डर ओलीमा छ । एमालेका एक् पदाधिकारीका अनुसार, सोही कारण पनि ओली अहिले आन्तरिक प्रतिस्पर्धा सकभर रोक्ने योजनामै देखिएका हुन् ।

ओलीले पार्टीको १० औं महाधिवेशनबाट समेत पार्टीमा आन्तरिक प्रतिस्पर्धा रोक्न चाहेकै छन् । चितवनमा सम्पन्न १० औं महाधिवेशनका बेला पनि ओलीले उम्मेदवार बन्ने, चुनावी प्रतिस्पर्धाबाट नेतृत्वमा पुग्न चाहने धेरै नेताहरुको आकांक्षालाई करौती लगाएका थिए ।

शितल शर्मा

मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया