तीन नेपाली चलचित्र बुसानमा

काठमाडौँ । पछिल्लो समय नेपाली चलचित्र विश्वका प्रसिद्ध महोत्सवमा छनोट भइरहेका छन् । ठूलो लगानी र मौलिक कथालाई छनोट गरिने ती महोत्सवमार्फत नेपाली चलचित्र निर्माणमासमेत बजेट सहयोग भएको छ ।
टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ४८औँ संस्करणमा पहिलो प्रदर्शनी गर्ने तयारीमा रहेको चलचित्र ‘गाउँ आएको बाटो’ दक्षिण कोरियाको प्रसिद्ध ‘बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा समेत छनोट भएको छ । ‘विन्डो अन एसियन सिनेमा’ अन्तर्गत छनोट भएको चलचित्रलाई नवीन सुब्बाले निर्देशन गरेका हुन् ।
उनले भने, “यसले हाम्रा चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्न सघाउने विश्वास छ ।” राई जातिको सामाजिक पृष्ठभूमिमा तयार भएको चलचित्रमा गाउँमा सडक आएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावलाई नियाल्ने प्रयास गरिएको छ । चलचित्रमा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायत कलाकारले अभिनय गरेका छन् ।
सोही महोत्सवमा सौरभ राईले निर्देशन गरेको ‘गुराँस’ पनि छनोट भएको छ । चेक रिपब्लिकको ‘कार्लोभी भारी अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ मा पहिलो प्रदर्शनी (प्रिमियर) भएको चलचित्रमा हराएको कुकुरको खोजीमा निस्किएकी १० वर्षीया बालिकाको आँखाबाट कथा प्रस्तुत गरिएको छ ।
दार्जिलिङको बदलिँदो आर्थिक र सामाजिक सम्बन्धलाई समेत प्रस्तुत गरिएको चलचित्रको लेखक निर्देशक राई ले नै गरेका छन् । चलचित्रमा तुलसी खवासले ‘गुराँस’को शीर्ष भूमिका निर्वाह गरेका छन् भने खगेन्द्र लामिछानेले पिताको भूमिकामा छन् । अभिनेता लामिछानेले विश्वले नेपालको मौलिक कथा हेर्न चाहेको बताए ।
उनले भने, “हाम्रो चलचित्र अन्तर्राष्ट्रिय महोत्सवमा छनोट हुनुनै हाम्रो मौलिकता त्यहाँ रुचाइनु हो । अहिले भेनिस, बुसान र टोरोन्टो जस्तो विश्वकै प्रसिद्ध महोत्सवमा हाम्रा चलचित्र छन् । यो गौरवको विषय हो ।” उनले निजी पहलमा प्राप्त भइरहेको उपलब्धिमा सरोकारवाला निकायले सहायता गर्नुपर्नेमा जोड दिए ।
निरञ्जन भेटवालले निर्देशन गरेको लघु चलचित्र ‘दि विटनेस ट्री’ पनि बुसानमा छनोट भएको छ । यो एसियाली लघुचलचित्र विधामा छानिएको हो । दक्षिण एसियामा प्रतिष्ठित मानिने बुसानको नयाँ संस्करण असोज १७ देखि २६ सम्म चल्नेछ ।


















सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
प्रधानमन्त्री कप क्रिकेटको उपाधि त्रिभुवन आर्मी क्लबलाई
रातो मच्छिन्द्रनाथको रथारोहण भोलि
पोखरामा शनिबारदेखि राष्ट्रिय जुनियर टेनिस सुरु हुँदै
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
‘भेहिकल फ्री असन’ वैशाख ५ गतेदेखि सुरु हुने
प्रतिक्रिया