सोमबार, वैशाख ८, २०८२

सरकारले नेम्वाङको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने, निर्णय गर्न बोलाइयो आकस्मिक मन्त्रिपरिषद्

एमालेले बोलायो आकस्मिक सचिवालय बैठक

मेरोन्यूज २०८० भदौ २६ गते ९:४९

काठमाडौं । संविधान सभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवासचन्द्र निम्वाङको निधनपछि आकस्मिक रूपमा मन्त्रिपरिषद् बैठक र नेकपा (एमाले)को सचिवालय बैठक बस्दैछन् ।

सरकारले संविधान सभा अध्यक्ष नेम्वाङको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गर्न आकस्मिक रूपमा मन्त्रिपरिषद् बैठक बोलाएको हो । बिहान १० बजेका लागि आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाइएको गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए । मन्त्रिपरिषद् बैठकले नेम्वाङलाई दिने सम्मानबारे निर्णय गर्ने गृहमन्त्री श्रेष्ठले बताए।

२०५१ मा कानुन मन्त्री भइसकेका नेम्वाङ २०६३ को अन्तरिम संसदका सभामुख थिए। पहिलो र दोस्रो संविधान सभाका अध्यक्ष रहेका नेम्वाङले संविधानका अन्तरवस्तुमा दलहरूलाई सहमतिमा ल्याउन भूमिका खेलेका थिए।

नेम्वाङकै नेतृत्वमा २०७२ असोज ३ गते नेपालको संविधान जारी भएको थियो।

यता एमाले पार्टी उपाध्यक्ष सुवास नेम्वाङको अकस्मात् निधन भएपछि त्यसबारे छलफल गर्न सचिवालय बैठक बोलाएको छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ।

०५४ सालमा एमालेका केन्द्रीय कमिटी सदस्य भएका नेम्वाङ २०७८ मंसिरमा चितवनमा भएको पार्टीको दशौं महाधिवशेनबाट उपाध्यक्ष चयन भएका थिए।

कोअर्डिनेसन केन्द्रदेखि नै भूमिगत राजनीतिमा सक्रिय रहेका नेम्वाङ एमालेभित्रको आन्तरिक राजनीतिमा संस्थापन पक्षधर नै भए पनि मिलेर जानुपर्छ भन्ने धारणा राख्थे।

एमालेका धेरै नेताहरू उनको अभिभावकीय भूमिकाको स्मरण गर्छन्। नेम्वाङको सोमबार राति १ बजेर ४० मिनेट जाँदा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको थियो।

प्रतिक्रिया