शनिबार, माघ २४, २०८२

सुन तस्करी प्रकरणमा यस्तो छ सीआइबीको अनुसन्धान रिपोट

मेरोन्यूज २०८० भदौ २७ गते १३:१८

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ‘ब्रेक सु’ लगायतका माध्यमबाट पछिल्लो समय ३ क्विन्टल ७८८ ग्राम सुन तस्करी भएको अनुसन्धानबाट पत्ता लगाएको दाबी गरेको छ । गत साउन ४ गते त्रिभुवन विमानस्थलबाट बाहिरिएको सुन राजस्व अनुसनधान विभागले वरामद गरेपछि थालेको अनुसन्धानपछि सीआइबीले त्यस्तो दावी सहितको अनुसनधान प्रतिवेदन तयार पारेको हो ।

सीआईबीले यस प्रकरणको अहिलेसम्मको अनुसन्धानका बारेमा बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

सीआईबीले पत्रकार सम्मेलनपछि आजै जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंलाई सुन तस्करी प्रकरणको प्रतिवेदन पेस गर्दै छ ।

सीआईबीले ३ अर्ब ५० करोड २ लाख १६ हजार ५ सय ५२ रुपैयाँ बराबरको सुन तस्करी भएको दाबी गर्दै त्यति नै बराबरको बिगो कायम गरी मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई राय पेस गर्ने भएको छ ।

उनीहरुलाई सातवटा ऐनको दफा अनुसारको कसुरमा मुद्दा चलाउन सीआईबीले राय दिएको छ । भन्सार ऐन २०६४ को दफा ५७ ९१० (घ) को १ (ख), संगठित अपराध निवारण ऐन २०७०, नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५, मुलुकी अपराध संहिता, २०७४ को दफा ४३ को एकिकृत कसूर, नेपाल नागरिकता ऐन २०६३, राहदानी ऐन २०७६, अध्यागमन ऐन २०४९ अनुसारको कसूरमा कारबाही गर्न राय दिइएको छ ।

यो प्रकरणमा हालसम्म ३२ जना पक्राउ परिसकेका छन् । ती मध्ये २६ जनालाई मुद्दा दायर गर्न राय दिइएको छ । १८ जना फरार छन् । फरार मध्ये १४ जना विदेशी नागरिक हुन् ।

सुन तस्करीको प्रकरण अनुसन्धानलाई जारी राख्दै मुद्दा चलाउने गरी राय दिएको हो ।

‘हाल सम्मको अनुसन्धानको क्रममा जम्मा ३२ जना नेपाली तथा बिदेशी नागरिकहरू पक्राउ परेका र रेडिट्रेड प्रा.लि.बाट आयात गरिएका ब्रेकप्याडहरूमा लुकाई छिपाई अवैध पैठारी गरेको जम्मा वरामद ६०.७१६ किलो र सुन निकाली पुन प्याकिङ गरिएको अवस्थामा बरामद भई आएका ब्रेकप्याडहरूको तौलबाट एकिन गरिएको ३०२.०६२ किलो गरी जम्मा ३६२.७७८ किलोग्राम सुनको हुन आउने मुल्य रु. ३,५०,०२,१६,५५२ (तिन अरब पचास करोड दुई लाख सोह हजार पाँच सय वाउन्न) बराबरको सनु अवैध पैठारी भएको पुष्टि हुन आएको’ सीआईबीले पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा छ ।

त्यसैगरी सुन अवैध पैठारी गर्न खडा गरिएका अन्य पाँच वटा कम्पनीहरू मार्फत ल्याईएको सुनको विवरणको पनि थप अनुसन्धान जारी राखिएको सीआईबीले जानकारी दिएको छ । ‘यस प्रकरणमा संलग्न ५ जना विदेशी नागरिकहरूले झुटा विवरण पेश गरि नेपाली नागरिकता तथा राहदानी समेत लिएको पुष्टि हुन आएको हुदाँ सो सम्बन्धमा समेत थप अनुसन्धान भई रहेको छ’ विज्ञप्तिमा छ ।

प्रतिक्रिया