शनिबार, फागुन २, २०८२

चिकित्सक हड्ताल

देशभरका स्वास्थ्य संस्था ठप्प, बिरामी मर्कामा

मेरोन्यूज २०८० भदौ ३१ गते १०:४५

काठमाडौं । चिकित्सक कुटिएको विरोधमा आज देशभरका स्वास्थ्य संस्थामा चिकित्सकहरुले आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेका छन् ।
देशभरका सबै सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरुमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा पूर्ण रुपमा बन्द गरिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरु हड्तालमा उत्रिदा बिरामीहरु अत्यावश्यक उपचार सेवा पाउनबाट बञ्चित भएका छन् ।

उपचारका लागि अस्पताल पुगेका बिरामीहरु गेटबाटै फर्कन बाध्य भएका छन् । चिकित्सकहरुले आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्दा बिरामीहरुले ओपीडी सेवा नपाएका हुन् ।

गत बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा। विकास थापा र डा। प्रशान्त विडारीमाथि बिरामीका आफन्तहरूबाट भएको कुटपिटको घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाहीको माग गर्दै चिकित्सक संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

स्थानीय सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयका जिम्मेवार व्यक्तिले नै मेलमिलापको बाहनामा घटनालाई निस्तेज पार्न खोजेको संघको आरोप छ । ती निकायमाथि पनि छानबिन गर्न संघले माग गरेको छ ।

संघले उक्त घटनामा संलग्न दोषीहरूको अबिलम्ब छानबिन गरी फौजदारी अभियोग तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानुनी कारबाहीको सुनिश्चितता हुनुपर्ने जनाएको छ ।

साथै देशभरका स्वास्थ्य संस्थाहरूमा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षाबलको व्यवस्था गरी भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ ।
डेंगुको लक्षण देखिएर सन्चो अस्पतालमा भर्न भएका बिरामीको भदौ २५ गते मृत्यु भएको थियो। अस्पतालको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तहरु विरोधमा उत्रिएका थिए। क्षतिपूर्तिको माग गर्दै आन्दोलनमा उत्रिएका उनीहरुले चिकित्सकद्वय थापा र विडारीमाथि हातपात गरेका थिए।

चिकित्सकमाथि कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। प्रहरीले रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधानलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ।

प्रतिक्रिया