शुक्रबार, फागुन १, २०८२

बागमती प्रदेशले क्यान्सरको उपचार गर्दा ५० हजार बराबरको खर्च व्यहोर्ने

मेरोन्यूज २०८० असोज ८ गते १३:०६

चितवन । जिल्लाका पाँच अस्पतालमा क्यान्सरको उपचार गर्दा बागमती प्रदेश सरकारले रु ५० हजार बराबरको खर्च व्यहोर्ने सम्झौता गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय र अस्पतालबीच सम्झौता गरिएसँगै प्रदेशभित्रका बिरामीले ती अस्पतालमा उपचार गर्दा रु ५० हजार थप छुट पाउने भएका छन् । सङ्घीय सरकारले दिने रु एक लाख खर्च भएपछि बिरामीले थप रु ५० हजार उपचार खर्च पाउने भएका हुन् ।

सम्झौता गरिएका अस्पतालमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन मेडिकल कलेजको सिएमसी क्यान्सर इन्स्टिच्यूट, नेशनल सिटी हस्पिटल र भरतपुर सेन्ट्रल हस्पिटल रहेका छन् । बकुलहर रत्ननगर अस्पतालसँग यसअघि नै सम्झौता भइसकेको थियो ।

यससँगै बागमती प्रदेशभित्रका क्यान्सरका बिरामीले उपचार गर्दा रु एक लाख ५० हजार बराबरको औषधि उपचार सेवा निःशुल्क पाउने भएका छन् । प्रदेश सरकारले यसअघि नै प्रदेशका अन्य २४ अस्पतालसँग यससम्बन्धी सम्झौता गरिसकेको छ ।

सम्झौता गरेका अस्पतालमा प्रदेशअन्तर्गतका १३ अस्पताल, पाटन अस्पताल, वीर अस्पताल, धुलिखेल अस्पताल, कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर रहेका छन् ।

यसैगरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र, त्रिवि शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पतालमा पनि रु ५० हजार बराबरको क्यान्सर रोगको उपचार निःशुल्क पाइने सम्झौता भइसकेको छ ।

प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले क्रमशः स्वास्थ्य सेवा निःशुल्क गरिनुपर्ने बताउनुभयो । आर्थिकरुपमा विपन्न भएकै कारण उपचारबाट बञ्चित हुन नपरोस् भन्नका लागि प्रदेश सरकारले सामाजिक स्वास्थ्य सुरक्षाका विभिन्न कार्यक्रम ल्याएको बताए । उनले भने, “उपचार नपाएर कसैको अकालमै ज्यान नजाओस् भनेर यी कार्यक्रम ल्याइएका हुन् ।”

प्रदेश सरकारले हृदय रोगको उपचारका लागि रु एक लाख १० हजार, रगत निःशुल्क, सीमान्तकृत जातीको स्वास्थ्य बीमा, आश्रितको स्वास्थ्य बीमा, स्वास्थ्य स्वयंसेविकाको स्वास्थ्य बीमालगायतका सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रम ल्याएको छ ।

प्रतिक्रिया