पुस्तक समीक्षा : ‘जीवन्त सम्बन्ध’ को गहिराइमा

काठमाडौँ । जीवनको अर्थ के हो, कसरी जीवनमा उद्देश्य, पूर्णता र सन्तुष्टि पाउन सकिन्छ, जीवनमा सम्बन्धले कस्तो प्रभाव पार्छ ? धेरै मानिसले यी र यस्तै प्रश्नका खोजीमा आफ्नो सम्पूर्ण जीवन केलाउन खोज्छन् तर कमैले मात्रै त्यसका गहिराइमा पुगेर वास्तविक अर्थ पहिल्याउँछन् । कतिले जीवनको अन्तिम क्षणमा मात्रै त्यसको अर्थको भेउ पाउँछन् तर त्यतिबेला उनीहरूको सम्बन्ध टुटिसकेको हुन्छ र ती आफूलाई रित्तिएको महसुस गर्छन् ।
हाम्रो समाजमा मानिसहरू अनेकांैँ कुराको पछि लाग्छन्, लोभलालच, ईष्र्या, प्रतिस्पर्धाले उनीहरूभित्रको जीवनको रहस्यलाई विकृत बनाएको हुन्छ । मानिसले व्यापारिक सफलता, धनसम्पत्ति र मनोरञ्जनका खोजीमा भाँैंतारिँदा असल सम्बन्धहरूलाई लत्याइरहेको हुन्छ, चाहे त्यो सम्बन्ध बाबुआमा, श्रीमान्श्रीमती, छोराछोरी वा परिवारका अन्य सदस्य, आफन्तजन, छरछिमेक वा अन्य शुभचिन्तकसँग किन नहोस् । जीवन्त सम्बन्धलाई धेरैले चिन्न नसक्दा तिनको जीवन गहिरो शून्यतातर्फ धकेलिएको छ र ती रित्तोपनको भावनाले निराशा, एकलोपन, अभाव र मूल्यहीन जीवनका भड्खालोमा आफूलाई उत्रिन नसक्ने गरी फसेको पाउँछन् ।
जगत्मा धेरै थोरै मानिसले मात्रै जीवनको सही अर्थ बुझेका हुन्छन् । तिनले भौतिक उपार्जनलाई भन्दा जीवन्त सम्बन्धलाई मुख्य देख्छन् र जुनसुकै पेसा, व्यवसायमा संलग्न रहेर पनि जीवनको सागरमा आफूलाई तैराउन सक्छन् । अर्काको रोग, पीडा, अभाव र मृत्युलाई नजिकबाट देखेको एउटा चिकित्सक जो यो अवस्थाबाट आफैँ गुज्रिन पुग्छ, ऊ त्यतिबेला जीवनको सही अनुभूति गर्न सक्छ र त्यसलाई अक्षरका माध्यमबाट बाहिर ल्याउँछ भने त्यो समाजको विम्ब बन्छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले आफ्ना पिताको असामयिक निधनपछि आफ्ना मनमा छचल्किएको भावनालाई ‘जीवन्त सम्बन्ध’ शीर्षक पुस्तकमा उतार्नुभएको छ । कुनै भौतिक उपलब्धिबाट मान्छेलाई सुख अनुभूति भए पनि त्यसको आयु लामो हुँदैन । जीविकोपार्जनका लागि भौतिक वस्तु, सुखसुविधा जरुरत परे पनि त्यही प्राप्तिलाई सम्पूर्ण जीवन ठानेर पिछा लाग्दा न त त्यसको कुनै पूर्णविराम नै हुन्छ, बरु दौडदा दौडँदै समयले हामीलाई धेरै पर धकेलिसकेको हुन्छ अर्थात् हामी जीवनको उत्तराद्र्धमा पुगिसकेका हुन्छौंँ । त्यति बेला बल्ल हाम्रो चेत खुल्छ, धनसम्पत्ति र सफलताले मात्र त सन्तुष्ट नदिने रहेछ । मानिस बेचैन भएर किन मर्छ, जति वृद्ध हुन्छ, त्यति बाँच्ने चाहना बढ्छ । यही कुरालाई उहाँले आफ्नो पुस्तकमा खोतल्नुभएको छ । पुस्तकमा सम्बन्धहरूको गहिराइलाई केलाइएको छ । व्यक्तिको कर्तव्य, सोच र दायित्वलगायत विषयमाथि केन्द्रित हुँदै मानिसको सोचमा सकारात्मक परिवर्तन ल्याउन सक्ने विश्वास लेखकको छ ।
जीवनमा खुसीका दुई प्रमुख स्रोत भौतिक र भावनात्मक पक्षलाई अथ्र्याउँदै उनी भन्छन् ।, “भौतिक खुसी वा सुखको सीमाको कम आयु हुन्छ । भावनात्मक सुख असीमित र चिरकाल हुन्छ । सांसारिक मानिस भौतिक सुखको प्रलोभनमा पर्छन् किनकि यो सुख आवरणीय हुन्छ तर ज्ञानीहरू भौतिक सुखबाट चाँडै तृप्त भएर भावनात्मक सुखका मार्गमा अग्रसर हुने गर्छन् । उनीहरूले जीवनलाई गहिराइमा बुझेका हुन्छन् तथा आफूलाई चिनेका हुन्छन् । अन्तर्मनको खुसी उनीहरूको प्राथमिकतामा पर्छ ।”
पुस्तकमा सकारात्मक सोचका साथै सामाजिक रूपान्तरण, पारिवारिक दायित्व एवं पेसागत जिम्मेवारीलाई सँगै कसरी अघि बढाउने भन्ने विषयमा पनि थुप्रै प्रसङ्ग उल्लेख गरिएको छ । दुनियाँमा धेरै जना आफूसँग भएका कुरालाई बुझ्न नसक्दा र मनन गर्न नसक्दा बढी दुःखी हुने गरेका छन् । त्यसैले जीवन र सम्बन्धलाई समयमै बुझ्न आवश्यक रहेको उनको ठम्याइ छ । वास्तवमा सम्बन्धले व्यक्तिगत जीवनलाई चराचर जगत्सँग जोड्ने अवसर प्रदान गर्छ । यसबाट मानिसले भावनात्मक सुखको प्राप्ति सँगसँगै आफ्नो जीवनलाई उद्देश्यपूर्ण बनाउन सक्छ । सम्बन्धले व्यक्तिलाई सन्तुष्ट हुन पनि सिकाउँछ । यसले मानिसमा त्याग, समर्पण, प्रेम, कर्तव्य आदि गुणको विकास गराउँछ । त्यसैले सम्बन्ध बुझ्नु भनेको जीवन बुझ्नु हो, बोधयुक्त जीवन बाँच्नु हो तथा जीवनको सार्थक गन्तव्य पहिचान गर्नु हो । जीवनमा भौतिक सुखमा मात्र रमाउने होइन, सम्बन्धलाई परिचालन गर्न सक्नुपर्ने उनको सुझाव छ ।
वरिष्ठ चिकित्सक डा अनिलको १० वर्षअघि पेसागत जीवनको सुरुआतकालमा लेखिएको ‘म पनि डाक्टर’ भन्ने पुस्तक पाठकहरूका माझ लोकप्रिय बनेको थियो । सो पुस्तक स्वस्थ रहन र रोगबारे सरल रूपमा जानकारी लिन निकै उपयोगी छ । प्रस्तुत दोस्रो पुस्तकले व्यक्तिको कर्तव्य, सोच र दायित्वलगायत विषयमा तत्वबोध गराएको छ । जीवन सम्बन्ध, संस्कार, संस्कृति, पारिवारिक सम्बन्ध, सङ्घर्ष, सन्तानद्वारा आमाबुबाको हेरचाह, सफलता, असफलता, सुखदुःख र पीडालगायत विषयमाथि संस्मरणात्मक शैलीमा यो पुस्तक लेखिएको छ ।
तीन वर्षअघि बुबाको मृत्युपछि जीवन र सम्बन्धलाई हेर्ने र सोच्ने तरिका नै परिवर्तन भई सोही कुराले उनलार्ई पुस्तक लेख्न प्रेरित गरेको हो । कृतिमा सामाजिक रूपान्तरण, पारिवारिक दायित्व एवं पेसागत जिम्मेवारीलाई निर्वाह गर्न सकिने विषयवस्तु समेटिएका छन् । बुबाको मृत्युपछि जीवनमा पारिवारिक सम्बन्धको अर्थ कति हुने रहेछ भन्ने आफूले बुझ्ने मौका पाएको र त्यसैलाई पुस्तकमा उतार्ने प्रयास गरेको उनको भनाइ छ । आफूले धेरै बिरामीको ज्यान जोगाए पनि आफ्नै पितालाई बचाउन नसकेकामा भावुक हुँदै जीवन के हो भन्ने वास्तविकतालाई बुझेपछि नै लेख्न उत्प्रेरणा जागेको उनले बताए । आफूले सामाजिक सञ्जालमा राखेका सवालमा सर्वसाधारणले राखेका विचारले पनि पुस्तक लेख्न सजिलो भएको उनको भनाइ छ ।
मुटुरोग विशेषज्ञका रूपमा धेरै बिरामीको मुटु छामेका यनले मुटुमात्र नभएर मानिसको मन, मस्तिष्क तथा आर्थिक र सामाजिक परिवेश पनि बुझ्ने मौका पाएका छन् । आफूलाई चिकित्सक भएर मात्रै नभएर समाजको एक सर्वसाधारण व्यक्तिका रूपमा उभ्याएर हेर्दा देखेको दुनियाँको मनस्थितिलाई पनि उनले पुस्तकमा उतारेका छन् । पछिल्लो समय मानिसले काम र पैसाका लागि परिवारलाई समय दिन सकिरहेको छैन । परिवारमा बाबुआमा, छोराछोरी, नातिनातिनाबीचका सम्बन्धमा दरार आएको छ । सबैका कुण्ठा छन्, अभाव महसुस गर्छन् । मानिसमा सम्पूर्ण कुरा छ र पनि ऊ खुसी हुन सकिरहेको छैन । जीवनमा के पेसा मात्रै सम्बन्ध हो, करिअर मात्रै सबथोक हो भन्ने प्रश्नमा रुमल्लिँदै त्यसभन्दा पनि पर जीवन छ भन्ने देखाउन नै आफूले पुस्तक लेखेको उनले बताए । ।
आज बाबुआमा, सन्तान, आफन्त, इष्टमित्र, समाजबीच दूरी बढ्दो छ । यसले मानिसको जीवनलाई नराम्ररी प्रभावित पारेको छ । यो पुस्तक पढेपछि जो कोहीले पनि आफ्ने जीवनको घटनाका माध्यमबाट आफैँलाई पात्र देख्न सक्छ । आफैंँले अनुभूत गर्छ कि लेखकको सोच गलत छ कि सही । पाठकका मनमा अनेक प्रश्न उब्जन्छ र आफैँले त्यसको उत्तर पुस्तकमा भेट्टाउँछ । मानिस अर्बाैंको सम्पत्ति, नाम, इज्जत हुँदा पनि यसले आफूलाई एक्लो, सहाराविहीन पाउँछ, सन्तानलाई कसरी हुर्काएछौँ भन्ने बोध हुन्छ ।
आफ्ना सन्तानलाई विदेश पठाउन खोज्ने अभिभावक अहिले दुःखी छन् भने विदेश जानेहरू पनि सुखी छैनन् । परिवारबाट टाढा रहँदा जस्तोसुकै भौतिक सम्पन्नता भए पनि नजिकको आत्मीयता पाउन सकिंँदैन । धन–दौलत, घर–गाडी, ऐश–आराम, मोज–मस्तीले पनि मानिसलाई आनन्द दिंँदैन । यी कुरा प्राप्ति हुने क्षणसम्म आइपुग्दा मानिसले आफ्नो समय, स्वास्थ्य, सम्बन्ध, सुख धेरै कुरा गुमाइसकेको हुन्छ । आर्जन गरेको कुराभन्दा गुमाएको कुराको हिस्सा ठूलो हुन्छ, जसको कुनै लेखाजोखा नै गर्न सकिंँदैन । मानिस तब मात्र सुखी रहन्छ, जब उसको पारिवारिक जीवन पूर्ण हुन्छ । परिवार, इष्टमित्रसँगको प्रेममय सम्बन्धले कहिल्यै एक्लो महसुस हुन पाउँदैन । आफ्ना आमाबुबा, छोराछोरी, श्रीमान्–श्रीमती, भाइबन्धुसँग नजिक हुनु र एकापसमा मित्रवत् सम्बन्धका साथ बाँच्नुले नै जीवनमा मिठास ल्याउँछ र त्यसले जीवनलाई आनन्दमा पु¥याउँछ । त्यसभन्दा ठूलो जीवन्त सम्बन्ध केही हुँदैन भन्ने नै पुस्तकले सन्देश दिएको छ ।
डा अनिलले विभिन्न अभियान सञ्चालन गर्दै आउनु भएको छ । सामाजिक सञ्जालमा ठूलो सङ्ख्यामा फ्यान र फलोअर्स भएका उनलार्ई सेलिब्रेटी डाक्टरका रुपमा पनि चिन्ने गरिन्छ । उनले बुवाको मृत्युपछि उनी जस्तै ज्येष्ठ नागरिकका लागि निःशुल्क उपचार गर्न सकियोस् भनेर डा ओम फाउन्डेसन स्थापना गर्नुभएको छ र पुस्तक बिक्रीबाट आउने रकम दुःखी र असहाय ज्येष्ठ नागरिकको उपचारमा खर्च गर्ने उनको योजना छ । पुस्तकको मूल्य एक हजार तोकिएको छ तर आवरणपृष्ठविना पनि रु ६०० मा किन्न सकिन्छ । त्रिपन्न खण्ड र २४० पृष्ठको पुस्तक अनलाइनमा दराज, इसेवा, हाम्रो पात्रो, डा ओम फाउन्डेसनको वेबसाइट र उनको फेसबुक पेजमार्फत पनि अर्डर गर्न सकिन्छ । समीक्षा पब्लिकेसनले वितरण गर्ने पुस्तक काठमाडौैंँ उपत्यकाभित्र निःशुल्क होम डेलिभरीको व्यवस्था गरिएको छ । विभिन्न सुपर स्टोर एवं कफी सप तथा क्याफे आउटलेटहरूमा समेत पुस्तक उपलब्ध हुने फाउन्डेसनले जनाएको छ ।
















शुक्रबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
प्रधानमन्त्रीद्वारा सोलुखुम्बुलगायत क्षेत्रमा निर्वाचन तयारीबारे जानकारी
टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास
दैलेखमा चक्कु प्रहार गरेर एक किशोरको हत्या
‘करेन्ट’ लागेर मजदुरको निधन
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
टी–२० विश्वकपमा पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो
खाना पकाउने ग्यासको अभाव देखिएपछि विभागले अनुगमन गर्दै
प्रतिक्रिया