शुक्रबार, फागुन १, २०८२

टोखामा असोज १४ देखि २१ गतेसम्म राजस्व सप्ताह

मेरोन्यूज २०८० असोज १० गते ८:५५

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकाले यही असोज १४ देखि २१ गतेसम्म राजस्व सप्ताह मनाउने भएको छ । टोखाले नगरपालिकाभित्रको करको दायरालाई फराकिलो बनाउँदै राजस्व वृद्धि गर्ने उद्देश्यले पहिलोपटक राजस्व सप्ताह मनाउन लागेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले नगरपालिकाको आन्तरिक स्रोतलाई वृद्धि गर्दै करको दायरालाई फराकिलो बनाउनका लागि कार्यपालिकाको बैठकको निर्णयानुसार राजस्व सप्ताह आयोजना गर्न लागेको जानकारी दिए। गत आवमा जम्मा रु २४ करोड ५२ लाख राजस्व सङ्कलन भएको उनको भनाइ थियो ।

टोखाले उठाउने राजस्वमध्ये सबैभन्दा बढी सम्पत्ति करमा ५० प्रतिशत, व्यावसायिक करमा ३३ प्रतिशत, घरबहाल करमा १६ प्रतिशत र अन्य शीर्षकमा १० प्रतिशत रहेको छ । उनले आगामी १४ गते बिहान प्रभातफेरी कार्यक्रम आयोजना गरिने र उक्त हप्ताभर करका बारेमा प्रचार–प्रसार तथा शिक्षा प्रदान गरिने बताए ।

प्रमुख प्रशासकीय अधिकृत बिसीले टोखाको कुल बजेटमध्ये ७७ प्रतिशत बजेट संघीय सरकारसँग भर पनुपर्ने अवस्था आएको उल्लेख गरे । राजस्व सप्ताहसम्बन्धी मङ्गलबार बसेको तयारी बैठकमा बोल्दै राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्रा डा डिल्लीराज खनालले आम नगरवासीलाई राजस्वका बारेमा जनचेतना प्रदान गर्न आवश्यक रहेको उल्लेख गरे । राजस्वले नगरवासीको जीवनस्तर उकास्न मद्दत पुग्ने उनको भनाइ थियो ।

करदाता सेवा कार्यालय बालाजुका कर अधिकृत लालप्रसाद पङ्गेनीले घर–घरमा पुगेर कर शिक्षा प्रदान गर्न सकेमात्र नगरपालिकाले राखेको लक्ष्य हासिल हुने बताए । करदाता सेवा कार्यालय लाजिम्पाटका कर अधिकृत तिलक खड्काले नगरवासीले कर नतिरे नगरपालिकाबाट पाउने सेवा, सुविधा कटौती हुन्छ भन्ने सन्देश दिन जरुरी रहेको बताए ।

नगरपालिकाले राजस्वलाई फराकिलो बनाउनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

प्रतिक्रिया