बिहीबार, वैशाख ३, २०८३

अन्तरिक्ष चित्रकला तथा वक्तृत्वकलाको आवेदन असोज २८ सम्म खुला

मेरोन्यूज २०८० असोज १४ गते १२:०१

काठमाडौँ । नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) ले राष्ट्रिय अन्तरिक्ष चित्रकला तथा अनलाइन वक्तृत्वकला प्रतियोगिताको आवेदन असोज २८ गतेसम्म खुल्ला गरेको जनाएको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

राष्ट्रिय विज्ञान दिवस (असोज १), विश्व अन्तरिक्ष सप्ताह (अक्टोबर ४–१०) तथा विश्व विज्ञान दिवस (कात्र्तिक २४) को सन्दर्भ पारेर उक्त प्रतियोगिता सञ्चालन गर्न लागिएको नासोका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । विद्यालय तहको कक्षा ६ देखि १२ सम्मका विद्यार्थी लक्षित चित्रकला तथा वक्तृत्वकला प्रतियोगितामा ईच्छुक विद्यार्थीले नासोको वेभसाइटमार्फत् आवेदन दर्ता गर्न सक्ने उनले बताए ।

भट्टराईका अनुसार एघारौँ राष्ट्रिय विज्ञान दिवसको अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सह–आयोजनामा सञ्चालन गरिने यस वर्षको प्रतियोगितामा कुनै दर्ता शुल्क लाग्ने छैन । यस वर्षको प्रतियोगिताको शीर्षक ‘अन्तरिक्ष र उद्यमशीलता’ रहेको उनले जानकारी दिए । सातौँ राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगिताको लागि कक्षा ६ देखि ८ सम्म अध्ययनरत विद्यार्थीले आवेदन दिन सक्नेछन् ।

प्रतियोगितामा प्रथम हुनेले टेलिस्कोप, पदक तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोस्रो र तेस्रो हुनेले क्रमशः गिफ्ट ह्याम्पर, पदक तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

पाँचौँ राष्ट्रिय अनलाइन अन्तरिक्ष वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीले आवेदन दिन सक्ने नासोले जनाएको छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई पुरस्कारस्वरुप क्रमशः नगद रू १० हजार, रू पाँच हजार र रू तीन हजारका साथै पदक र प्रमाणपत्र प्रदान गरिने भएको अध्यक्ष भट्टराईले बताए । दुवै प्रतियोगितामा सहभागी विद्यार्थीलाई प्रोत्साहनस्वरुप सहभागिताको प्रमाणपत्र प्रदान गरिने उनको भनाइ थियो ।

प्रतिक्रिया