रिगलको कैद मिनाहाविरूद्धको रिटमा महान्यायाधिवक्ताले नै बहस गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले योगराज ढकाल (रिगल)को कैद मिनाहा गर्ने सरकारी निर्णयविरूद्ध परेको रिटमा बहसका लागि उपस्थित हुन महान्यायाधीवक्ता डा. दिनमणि पोखरेललाई उपस्थित हुन आदेश दिएको छ ।
रिटको पूर्ण सुनुवाई असोज २५ गते तोक्न र बहस महान्यायाधीवक्ता डा.पोखरेलले गर्न आदेश दिएको हो ।
‘प्रस्तुत निवेदनमा महन्यायाधिवक्ता स्वयं समेतलाई बहसमा उपस्थित हुनु भनी महान्यायाधिवक्ताको कार्यालयलाई लेखी पठाउनू,’ सर्वोच्चको आदेशमा लेखिएको छ।
बिहीबार न्यायाधीश मनोजकुमार शर्माको इजलासले २४ गते साँझ ५ बजेभित्र लिखित जवाफ बुझाइसक्न सबै विपक्षीलाई आदेश गरेको छ।
‘प्रस्तुत विवादित विषयको छिटो छरितो निरूपण गर्न वाञ्छनीय देखिएकाले पूर्ण सुनुवाईको लागि पेशी तोकी अग्राधिकार दिइ उक्त दिन प्रस्तुत विवादको सुनुवाई हुने व्यवस्था गर्न र त्यो दिन आकस्मिक विदा परेमा वा कुनै कारणले इजलास नलाग्ने भइ सुनुवाइ हुन नसकेमा सोको भोलिपल्ट सुनुवाई हुने व्यवस्था गर्नु, साथै पेशीको जानकारी महान्यायाधीवक्ता कार्यालयलाई दिनु,’ इजलासले आदेशमा लेखेको छ ।
बाँकेका चेतन मानन्धरकी पत्नी भारती शेर्पा मानन्धरले दिएको रिटमा अर्को सुनुवाइको पेशी असोज २५ गतेलाई तोक्न पनि आदेश गरेको छ। सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले यो रिटलाई अग्राधिकारमा राखेर सुनुवाइ गर्न आदेश दिएको जानकारी दिए । अग्राधिकार भनेको त्यो दिनको पेशी सूचीमा पहिलो प्राथमिकतामा राखेर सुनुवाइ गर्नु हो।
न्यायाधीश शर्माको इजलासले राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका दिन माफी मिनाहासम्बन्धी गरेको निर्णयको सक्कल प्रति पनि असोज २४ गतेभित्रै झिकाउन आदेश दिएको छ। रिगलविरूद्ध नेपाल सरकारको मुद्दामा सर्वोच्चले दिएको मुद्दा फिर्तासम्बन्धी आदेश र अरू सबै मुद्दाहरूको मिसिल पनि मगाएको छ।
रिगल संविधान दिवसको दिन तुलसीपुर कारागारबाट छुटेका थिए। सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले कैद मिनाहा गरेपछि उनी कैद मुक्त भएका थिए।
०७५ भदौ अघिको घटना भए ४० प्रतिशत र त्यसपछिको घटना भए ५० प्रतिशत कैद सजाय भुक्तान गरेको कैदीलाई जेलमा असल चालचलन देखाएमा बाँकी कैद छुट दिने कानुनी व्यवस्था रहेको भन्दै सरकारले कैद मिनाहाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।
उनी सजाय माफी पाएर छुटेको थाहा पाएपछि मृतक चेतनकी श्रीमती भारतीले सर्वोच्चमा रिट हालेकी हुन्। भारतीले न्याय माग्दै बुधबार दिउँसो माइतीघर मण्डलबाट अनशनसमेत सुरू गरेकी छन्।
रिगलले २०७२ असार २८ गते नेपालगन्जमा चेतनको हत्या गरेका थिए। हत्या अभियोगमा जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ वैशाखमा रिगललाई हत्यामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो।



















एन्जल्स हार्ट र केभीकेएसएसलाई तेजस्वी कप
टिपरको ‘हाइड्रोलिक’ उठाउँदा करेन्ट लागेर चालकको मृत्यु
NC President Thapa urges party candidates, cadres to lend ears to all voters
सवारी दुर्घटनामा दुई जनाको मृत्यु, विभिन्न स्थानमा चार जना मृत भेटिए
Two people killed in road accidents, four found dead in different locations
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
रास्वपा छोडेका बागमती उपसभापति हुमागाईँ कांग्रेसमा प्रवेश
ऋषिराम कट्टेललाई रिहा गर्न सर्वोच्चको आदेश
आज २०८२ साल फागुन १३ गते बुधबारको राशिफल
प्रतिक्रिया