बिहीबार, जेठ ८, २०८२

गेटामा अस्पताल सञ्चालनको पहिलो दिनमै १८ बिरामीले लिए उपचार सेवा

मेरोन्यूज २०८० कार्तिक २ गते १२:१०

धनगढी । सुदूरपश्चिमको केन्द्रविन्दु कैलालीको गेटामा अस्पताल सञ्चालनमा आएको पहिलो दिन १८ जना बिरामीले स्वास्थ्य सेवा लिएका छन् ।

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको एक सय शय्या क्षमताको अस्पताललाई बुधवारदेखि सञ्चालनमा ल्याईएको हो ।

मेडिकल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठानपछि विश्वविद्यालय घोषणा गरिएको उक्त अस्पतालमा पहिलो दिन मै सेवा लिने बिरामी १८ जना पुगेका थिए ।

अस्पतालका निर्देशक प्रमोद जोशीका अनुसार बुधवार पहिलो दिन १८ जना विभिन्न रोगका बिरामीले स्वास्थ्य उपचार सेवा लिएको बताए । उनका अनुसार अस्पताल सञ्चालनका लागि आवश्यक बजेट, कर्मचारी व्यवस्थापन, स्वास्थ्य उपकरण औषधि लगायतको प्रबन्ध गरिएको जानकारी गराएका हुन् ।

आर्थिक वर्ष २०८०र८१ को बजेटमा गेटा अस्पताललाई एक सय शय्या क्षमताको अस्पतालको रुपमा विकास गर्न पूर्वाधार निर्माण, उपकरण खरिद र जनशक्ति व्यवस्थापनका लागि बजेट व्यवस्थापन गरिएको थियो। संघीय सरकारले चालु आर्थिक वर्षमा कर्मचारीको तलब सुविधाका लागि तीन करोड ५० लाख र उपकरण खरिदका लागि ८० करोड बजेट विनियोजन गरेको छ।

२०८० भदौ १३ गतेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव स्तरको निर्णय अनुसार वार्षिक विकास कार्यक्रम स्वीकृती भई प्राप्त भएको एवं चालु आर्थिक वर्षको बजेट कार्यान्वयन सम्वन्धि मार्ग दर्शन गेटा अस्पताललाई प्राप्त भएपछि अस्पताल सञ्चालनमा आएको अस्पतालका निर्देशक डाक्टर प्रमोद जोशीले बताए।

गेटामा ओपिडी सञ्चालनका लागि मन्त्रालयले भदौ २१ गते अनुमति दिएको थियो। सेती प्रादेशिक अस्पतालकै सेवा शुल्क लिने गरी गेटामा अस्पताल सञ्चालनमा आएको उनले बताए। अस्पताल सञ्चालनमा ल्याउन अहिले गेटामा निर्देशकसहित चिकित्सक तथा स्वास्थ्यकर्मी लगायत २६ जना जनशक्ति हाजिरी भइसकेका छन्।

अस्पताल सञ्चालनका लागि सहकायक स्तर र श्रेणीविहिन गरेर एक सय १० जना र नेपाल सरकार मन्त्रीपरिषदको २०८० असोज १६ गतेको निर्णयअनुसार राजपत्राकिंत तथा अधिकृत स्तर ३१ जनाको अस्थायी दरबन्दी संरचना स्वीकृत भएपछि अस्पताल सञ्चालनमा आएको हो।

गेटा अस्पतालबाट जनरल ओपिडी, हाडजोर्नी तथा नसारोग ओपिडी, स्त्री सेवा, जनरल सर्जरी, अल्ट्रासाउन, एक्सरे, प्रयोगशाला सेवा र फार्मेसी सेवा सञ्चालनमा ल्याइएको छ। साथै एमसीएच क्लिनिक सेवा कात्तिक महिनाभित्र, खोपसेवा विस्तार र अन्तर्ङ सेवा मंसिर महिनाभित्र, इमरजेन्सी सेवा र प्रसुती सेवा पौष महिनाभित्र, शल्यक्रिया सेवा विस्तार चैत महिनाभित्र, आइसियु तथा एनआइसियु सेवा आगामी बैशाखभित्र सञ्चालनमा ल्याउने तयारी भईरहेको छ।


प्रतिक्रिया