एसियाली पारा खेलकुदमा पलेशालाई ऐतिहासिक पदक

काठमाडौं । पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले चौथो एसियाली पारा खेलकुदमा नेपाललाई मंगलबार ऐतिहासिक पदक दिलाएकी छन् ।
चीनको हाङझाउमा जारी एसियाली पारा खेलकुदमा पलेशाले महिला के–४४ क्याटगोरीअन्तर्गत ५७ केजीमुनि तौल समूहमा कास्यपदक जित्दै इतिहास रचेकी हुन् । पलेशाले एसियाली पारा खेलकुदमा जितेको कास्य उनको मात्र नभइ नेपालकै निम्ति पहिलो पदक हो ।
नेपालले एसियाली पारा खेलकुदमा सुरुको संस्करणदेखि नै सहभागिता जनाउँदै आएको छ । पहिलो संस्करण चीनको ग्वाङझाउमा सन् २०१० मा भएको थियो । तेक्वान्दो भने यसै (चौथो) संस्करणदेखि मात्र समावेश गरिएको हो ।
हाङझाउस्थित एक्सएसजी स्पोर्ट्स सेन्टरमा भएको क्वार्टरफाइनलमा पलेशाले चीनकी लिटिङ याङलाई १४–१ अंकले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेकी थिइन् । सेमिफाइनलमा भने पलेशा कजाखस्तानकी कामिल्या दास्मोलोभासँग १६–१० ले चुकिन् ।
सेमिफाइनलमा पराजित भए पनि पलेशाले रिपेचेज चरणमा खेल्न पाउने अवसर थियो । रिपेचेज चरणको पहिलो कास्यपदक भिडन्तमा पलेशाले बाई पाएपछि पदक निश्चित भएको पलेशाका प्रशिक्षक कविराज नेगी लामाले जनाएका छन् ।
पलेशाको स्पर्धामा नेपालसहित चीन, कजाखस्तान र इरान गरी चार राष्ट्रका पाँच खेलाडी सहभागी थिए । रिपेचेज चरणको दोस्रो कास्यपदक भिडन्त चीनका लिटिङ र युजी लीबीच भएको थियो । त्यसमा युजी लीले ८–१ अंकले बाजी मारिन् । युजी ली तिनै खेलाडी हुन्, जसले टोकियो पारा ओलम्पिक–२०२२ को कास्यपदक भिडन्तमा पलेशालाई पराजित गरेकी थिइन् । फाइनलमा इरानकी रोजा इब्राहिमीले कजाखस्तानकी कमिल्यालाई ३४–१५ ले पाखा लगाउँदै स्वर्ण चुमिन् ।
केही महिनाअघि मात्र पलेशा अध्ययनका लागि चीनको सांघाई गएकी थिइन् । उनी त्यत्तैबाट एसियाली पारा खेलकुदमा सहभागी हुन हाङझाउ पुगेकी हुन् ।
पलेशाले सन् २०२१ म बहराइनमा भएको एसियाली युथ पारा गेम्समा स्वर्ण जितेकी थिइन् । २०१८ मा भियतनाममा भएको चौथो एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपकी कास्य विजेता २० वर्षीया पलेशाले जापानमा भएको टोकियो पारा ओलम्पिक–२०२० मा दुई ‘बाउट’ जितेर इतिहास रचेकी थिइन् ।
त्यति बेला पलेशाले रिपेचेजमा अमेरिकाकी ब्रिएना सलिनारोलाई १०–० र सर्बियाकी मारिजा मिसेभलाई २३–१५ ले हराउँदै चीनकी युजी लीसँग कास्यपदक भिडन्त पक्का गरेकी थिइन् । सो भिडन्तमा पलेशा १२–९ ले चुकेपछि पाँचौँ भएकी थिइन् । पलेशाले २०१८ मा काठमाडौंमा भएको दोस्रो काठमाडौं क्योरोगी तथा पुम्से अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेकी थिइन् ।
जावलाखेलस्थित डीएभी स्कुलमा अध्ययनरत रहँदा नै १० वर्षको उमेरदेखि तेक्वान्दो खेल्न थालेकी पलेशा २०१६ मा पारा राष्ट्रिय टिममा आबद्ध भएकी थिइन् । राष्ट्रिय टिममा आबद्ध भएपछि पलेशाको ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता २०१७ मा दक्षिण कोरियाको छुनचियोनमा भएको तेस्रो एसियाली पारा तेक्वान्दो खुला च्याम्पियनसिप हो । त्यसमा उनी पाँचौँ भएकी थिइन् ।
काठमाडौं महानगरपालिका–२८, बागबजार निवासी पलेशाले २०१७ मा लन्डनमा भएको विश्व पारा तेक्वान्दो, जोर्डनमा २०१९ मा भएको पाँचौँ एसियाली पारा खुला तेक्वान्दो र २०१९ मै टोकियो पारालिम्पक गेम्सको टेस्ट इभेन्टमा पाँचौँ स्थान हासिल गरेकी थिइन् । २०१९ मा टर्कीमा भएको आठौँ विश्व पारा तेक्वान्दोमा नवौँ भएकी पलेशाले साउदी अरेबियामा भएको विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा पनि सहभागिता जनाएकी थिइन् ।
पदक जितेकामा खुसी लागे पनि अझ धेरै राम्रो गर्न सकिन्थ्यो भन्ने आफूलाई लागेको उनले बताइन् । “पदक जितेकोमा खुसी छु । तर, योभन्दा अझै धेरै गर्न सक्थेँ । स्वर्ण नै जित्छु जस्तो लागेको थियो । मैले वेस्ट इफोर्ट पनि दिएकी हुँ,” उनले भनिन्, “यहाँ (सांघाई)मा आएको पनि धेरै भा’को छैन । नयाँ ठाउँ भएकाले ट्रेनिङमा पनि अलि सजिलो भएन । स्पाइरिङ पार्टनर पनि पाउन गाह्रो भयो ।”
ऐतिहासिक दिनमा जितेको ऐतिहासिक पदक राष्ट्रका निम्ति समर्पण गर्न चाहेको उनले उल्लेख गरिन् । दुई महिनाअघि सांघाई पुगेकी पलेशाले भनिन्, “खेल हो, कहिलेकाहीँ यस्तै हुन्छ । ऐतिहासिक विजयदशमीको दिन पदक जित्दा एकदमै खुसी छु । मैले पाएको पदक राष्ट्रका लागि समर्पण गर्न चाहन्छु ।”
टिम प्रशिक्षक लामाले सँगै तयारी प्रशिक्षण गराउन पाएको भए पलेशाले अझ राम्रो गर्न सक्ने बताए । “सँगै तयारी प्रशिक्षण गराउन पाएको भए अझ राम्रो नतिजा आउथ्यो होला । म पनि अलि अगाडि आएर पलेशालाई सांघाईमै प्रशिक्षण दिन पाएको भए योभन्दा राम्रो हुन्थ्यो कि भन्ने हो,” अन्तर्राष्ट्रिय लेभल–२ पारा तेक्वान्दो प्रशिक्षक लामाले भने, “पलेशा पदकको आशा गरिएकी खेलाडी पनि हुन् । आफ्नो चेलीले राष्ट्रलाई ऐतिहासिक पदक दिलाएकोमा ज्यादै खुसी छु । अब सम्बन्धित निकायले पेरिस पारालिम्पिकको तयारीका लागि समयमा नै ध्यान दिनुपर्छ । त्यसो हुने हो भने पारा ओलम्पिकमा पनि पदक टाडाको विषय हो जस्तो लाग्दैन ।”
नेपाली पारा तेक्वान्दोमा सफल प्रशिक्षक मानिने लामा एक्लैले २०१८ देखि पलेशालाई प्रशिक्षण दिइरहेका छन् ।
एसियाली पारा खेलकुदमा नेपालबाट विभिन्न १० खेलमा १९ खेलाडी सहभागी छन् । तेक्वान्दोबाट सहभागी पलेशा एक्ली खेलाडी हुन् । अक्टोबर ८ तारिखमा हाङझाउमै सम्पन्न १९औँ एसियाली खेलकुदमा नेपालले ऐतिहासिक एक रजत र एक कास्यपदक जितेको थियो । एसियाड इतिहासमै पहिलोपटक नेपालका लागि एरिका गुरुङले कराँतेमा रजत र महिला कबड्डी टिमले कास्यपदक जितेको थियो ।
जुडो
जुडोमा नेपालबाट सहभागी एक्लो खेलाडी मनोज भट्टको पराजयसँगै चुनौती समाप्त भएको छ । एक्सएसएल जिम्न्याजिममा भएको पुरुष ७३ केजीमुनि जे वानको राउन्ड अफ १६ र रिपेचेजमा मनोज पराजित भएसँगै नेपालको चुनौती समाप्त भएको हो ।
एक्सएल जिम्न्याजियममा भएको राउन्ड अफ १६ मा इन्डोनेसियाका अहनाफ रफ्लीले मनोजलाई पराजित गरे । रिपेचेजमा इरानका महदी बोरक्लौले मनोजलाई हराए । दुवै प्रतिद्वन्द्वीसँग मनोज इप्पोनका आधारमा पराजित भए ।
ब्याडमिन्टन
ब्याडमिन्टनमा नेपाल पुरुष डबल्स एसयू–५ समूह ‘बी’मा पराजित भएको छ । मलेसियाका हाउ लिक चेह र फरिज मोहम्मद विन अनुरको जोडीले नेपालका प्रकाश अधिकारी र हेमबहादुर गुरुङको जोडीलाई २१–६ र २१–८ को सोझो सेटमा हरायो ।
टेबलटेनिस
टेबलटेनिसमा नेपालकी लाली तामाङ र विवेक राई मंगलबार पराजित भए । दुवै ३–० को सोझो सेटमा पराजित भएका हुन् ।
जिएसपी जिम्न्याजियममा भएको महिला सिंगल्स क्लास ४ को समूह ‘डी’ मा लालीविरुद्धको प्रतिस्पर्धामा थाइल्यान्डकी वासाना श्रृगमले तीनै सेट समान ११–१ ले आफ्नो पक्षमा पारिन् ।
पुरुष सिंगल्स क्लास ७ को समूह ‘डी’मा हङकङका लाम हिङ चोइले विवेकलाई ११–६, ११–७ र ११–७ ले हराए ।















कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादा विपरित नगर्न प्राधिकरणकाे आग्रह
महाशिवरात्रि पर्वका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन
टी–२०विश्वकपमा आज इंग्ल्यान्डसँग भिड्दै नेपाल
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
प्रतिक्रिया