आदिनाथ मन्दिरमा आजदेखि एक महिने मेला सुरु

काठमाडौँ । काठमाडौँको चोभारडाँडास्थित आदिनाथ मन्दिरमा एक महिने मेला आजदेखि सुरु भएको छ ।
प्रत्येक वर्ष आश्विन शुक्ल (कोजाग्रत) पूर्णिमाका दिन सुरु हुने मेला कात्तिक शुक्ल पूर्णिमासम्म सञ्चालन हुन्छ ।
उक्त मेलामा काठमाडौँ उपत्यका तथा आसपासबाट भक्तजन सहभागी हुने गर्दछन् । यस मेलामा सहभागी भएमा भक्तजन भय, रोग र बिघ्नबाट मुक्त भई पारिवारिक सुख र समृद्धि प्राप्त हुने विश्वास गरिन्छ । मेला अवधिभर मन्दिरमा दर्शन गरे रोगव्याधि तथा छालासम्बन्धी रोग नलाग्ने किंवदन्ती पनि पाइन्छ ।
लिच्छवीकालीन राजा अंशुवर्माले स्थापना गरेको यो मन्दिर ऐतिहासिक र पुरातात्विक महत्वको छ । मन्दिरमा शिव र पार्वतीको संयुक्त आकार प्रतिविम्बित मूर्ति राखिएका छन्, जसलाई अर्धनारेश्वर (आदिनाथ) भनिन्छ । मन्दिरमा हिन्दू र बौद्ध अनुयायीले साझा मन्दिरका रुपमा आस्था प्रकट गर्ने गर्दछन् ।
हिन्दू धर्मावलम्बीले शिव शक्तिका रुपमा तथा बौद्ध धर्मावलम्बीले आनन्दादी लोकेश्वरका रुपमा आदिनाथलाई पूजा गर्ने गर्दछन् । बौद्ध धर्मावलम्बीले करुणाका प्रतीकका रुपमा र हिन्दू धर्मावलम्बीले आदिनाथका रूपमा देवतालाई सम्मान तथा पूजा गर्ने चलन छ । लोकेश्वरको ध्यान गरेमा लामो आयु प्राप्त हुने, अकालमा मृत्यु नहुने, धनसम्पत्ति प्राप्त हुने बौद्धमार्गीहरुको विश्वास छ ।
हिन्दू तथा बौद्ध अनुयायीको साझा संस्कृतिका रुपमा रहेको उक्त मन्दिरसँग दुवै धर्मका भक्तजनको अन्योन्यास्रित सम्बन्ध रहेको कीर्तिपुरका स्थानीयहरुको भनाइ छ ।
मन्दिरमा सप्त सत्वपूजा गरी पताका, ध्वजा, विभिन्न भाँडाकुँडा, गरगहना पहिल्यैदेखि चढाउने गरेको पाइन्छ । स्थानीय व्यवसायी कन्हैया कुँवरका अनुसार मेला अवधिभर प्रत्येक दिन विभिन्न बाजागाजासहित मन्दिरमा आएर भजनकीर्तन तथा पूजा हुने गर्दछ ।
काठमाडौँबाट करिब नौ किलोमिटर दक्षिणतर्फ अवस्थित उक्त मन्दिरमा विसं २०७२ को भूकम्प तथा परकम्पनका कारण क्षति पुगेकाले संरचना मर्मत तथा जीर्णोद्धार गरिएको छ ।
चोभारडाँडाबाट काठमाडौँ उपत्यकाको मनोरम दृश्य देख्न सकिन्छ । उक्त मन्दिरबाट नजिकै रहेको मन्जुश्री पार्क, जलविनायक मन्दिर, टौदह पनि धार्मिक महत्वका स्थल हुन् । काठमाडौँ उपत्यका जलमग्न भएपछि मञ्जुश्रीले चोभारको डाँडामा खड्ग प्रहार गरी पर्वत छेदन गरेको र पानीलाई निकास दिएको स्थान पनि यसै क्षेत्रमा छ ।
















रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
नेपाललाई युएईले दियो १२९ रनको लक्ष्य
योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता निकाय खारेज हाेइन, सुधार गर्छाैं: प्रधानमन्त्री
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
नेपाल अमेरिकासँग पराजित
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
प्रतिक्रिया