आइतबार, माघ २५, २०८२

राष्ट्रसंघका महासचिवलाई भित्तामा झुन्ड्याउन मिल्ने नेपालको चुच्चे नक्सा उपहार दिन प्रधानमन्त्रीलाई सिमाविद्को आग्रह

मेरोन्यूज २०८० कार्तिक १२ गते १०:०६

काठमाडौं । नेपाल भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसलाई नेपालको चुच्चे नक्सा भित्तामा झुन्डाउने गरि उपहार दिन प्रधानमन्त्रीसँग सिमाविद्हरुले आग्रह गरेका छन् । चार दिने नेपाल भ्रमणका क्रममा गुटेरेस आइतबार राती १ बजे काठमाडौं ओर्लेका छन् ।

उनले आजै प्रधानमन्त्री देखि राष्ट्रपतिसँग भेटवार्ता गदैछन् । प्रधानमन्त्रीसँगको शिष्टाचार भेटमा प्रधानमन्त्रीले गुटेरेसलाई नेपालको संसदले सर्वसहमतरुपमा पारित गरेको चुच्चे नक्सा भित्तामा झुन्डाउन मिल्ने गरि उपहार दिएर नेपालको सिमाका बारेमा सन्देश दिनुपर्ने सिमाविद्हरुको भनाई छ ।

‘महासचिव गुटेरेसले काठमाडौंमा प्रधानमन्त्री दाहाललाई भेट गर्दाको समयमा औपचारिक कुराकानीका सिलसिलामा प्रधानमन्त्रीले गुटेरेसलाई कूटनीतिक पत्रसाथ भित्तामा झुन्ड्याउन मिल्ने नेपालको चुच्चे नक्सा उपहारस्वरूप प्रदान गर्नुपर्छ ।’ सिमाविद् बुद्धिनारायण श्रेष्ठले भने,–‘संयुक्त राष्ट्रसंघअन्तर्गतका विभिन्न अन्तर्राष्ट्रिय निकायमा नेपालको नक्सा प्रयोग गर्दा यही चुच्चे नक्सा उपयोग गर्न निर्देशन गर्नुहुन भनी अनुरोध पनि गर्नुपर्छ ।’

श्रेष्ठले आजै यस विषयमा एक दैनिक पत्रिमामा लेख पनि लेखेका छन् । उनले महासचिव गुटेरेससागको भेटमा प्रधानमन्त्रीले नेपालको नक्साका बारेमा व्याख्या गर्दै नेपाल सरकारको औपचारिक नक्सा यही भएकाले र स्वनिर्णय गर्ने अधिकारअन्तर्गत यस नक्साले नेपालको भौगोलिक अखण्डता जाहेर गर्ने बताउनुपर्ने बताए ।

उनले भने, ‘संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्अन्तर्गतको ‘जियोइन्फर्म्याटिक्स डिभिजन’मा विश्वका विभिन्न देशका नक्साको आर्काइभ भएकाले यो नक्सा दर्ता गर्न पनि प्रधानमन्त्रीले गुटेरेससँग अनुरोध गर्नुपर्छ । यति भयो भने चुच्चे नक्साले विश्वव्यापी मान्यता पाउँछ । महासचिव गुटेरेसलाई अहिले चुच्चे नक्सा उपहार दिइएमा सरकारका तर्फबाट कालापानी मामिला सुल्झाउन विधिवत् अनुरोध गरिएको ठहर्न सक्छ ।’

प्रतिक्रिया