आइतबार, माघ २५, २०८२

गौशालामा हुसेनमाथि आक्रमण गर्नेविरुद्ध १५ वर्ष कैद माग

मेरोन्यूज २०८० कार्तिक १३ गते १४:१८

काठमाडौं । गत असोज १५ गते गौशालास्थित पिके डायगोनिस्टक प्रालिका सञ्चालक साबिर हुसेनमाथि दुई जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ।

२५ दिन लामो अनुसन्धानपछि रौतहटको गढिमाई नगरपालिका–९ का ३७ वर्षीय सिकिल देव सहनी र सोही नगरपालिका ९ का ४७ वर्षीय चुतुर्गुन सहनीविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको हो ।

ज्यान मार्ने उद्योग र हातहतियार तथा खरखजनाको कसुरमा मुद्दा दर्ता भएपछि जिल्ला अदालतमा मुद्दा दर्ता भएका दुवै प्रतिवादीको बयान भइरहेको छ। अब थुनछेक बहसपछि धरौटीमा रिहा गर्ने वा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश आउनेछ।

ज्यान मार्ने उद्योगको कसुरमा १० वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था छ। हातहतियार तथा खरखजनामा ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था कानुनमा छ।

लेनदेनको विवादमा हुसेनमाथि आक्रमण भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । हुसेनमाथि आक्रमण गरेर कटुवा पेस्तोल र चक्कु घटनास्थलमै छाडेर आक्रमणकारी भागेका थिए।

बाराको कलैया नगरपालिका–२१ घर भई हाल कोटेश्वर बस्दै आएका हुसेनको दाहिने तिघ्रा र ढाडमा चोट लागेको थियो। सुरुमा पेस्तोलबाट प्रहार गरे पनि गोली नपड्किएपछि हुसेनमाथि चक्कु प्रहार गरिएको थियो।

प्रतिक्रिया