आइतबार, वैशाख ६, २०८३

नेपालमा लगानी गर्न बेलायती लगानीकर्तालाई ढकालको आग्रह

मेरोन्यूज २०८० कार्तिक १५ गते १६:२८

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको पूर्वाधार विकासमा लगानी गर्न निजी क्षेत्र र विकास साझेदारहरूलाई आग्रह गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

बेलायतको लन्डनमा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले ठूला पूर्वाधार विकासका लागि नेपालले थप बाह्य पुँजी खोजिरहेकोले विदेशी निजी लगानीकर्ता तथा विकास साझेदारका लागि नेपालमा आकर्षक लगानीको अवसर रहेको बताएका हुन् ।

नेपालबाट आयात हुने जलविद्युतलाई नवीकरणीय ऊर्जा गणनामा समावेश गर्ने भारतको निर्णयलाई उल्लेख गर्दै अध्यक्ष ढकालले बढ्दो भारतीय बजारले जलविद्युत आयोजनामा लगानीको थप अवसर आएको तर्फ ध्यानाकर्षण गराए । अर्को छिमेकी मुलुक बंगलादेशको सुदृढ अर्थतन्त्रले ऊर्जा माग बढ्दा नेपालको जलविद्युतका लागि थप बजार सृजना भएको पनि अध्यक्ष ढकालले उल्लेख गरे ।

अध्यक्ष ढकालले, दुई ठुला आकर्षक ऊर्जा बजार लक्षित नेपालको जलविद्युतमा लगानी र सहकार्यका लागि बेलायती लगानीकर्ताहरूका साथै बहुपक्षीय र द्विपक्षीय विकास साझेदारहरूलाई विशेष आमन्त्रण पनि गरे ।

नेपाल बेलायती पर्यटकका लागि पहिलेदेखि नै लोकप्रिय गन्तव्य रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले थप पर्यटकहरूलाई स्वागत गर्न तयार र उत्साहित रहेको बताए ।

काठमाडौँ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति भएको तथा भगवान् बुद्धको जन्मस्थल लुम्बिनी र प्रसिद्ध पर्यटकीय गन्तव्य पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिएकाले पर्यटकहरूलाई नेपाल घुम्न थप सहज भएको छ ।

त्यसैले बढ्दो पर्यटन बजारका लागि केबलकार, रिसोर्ट, थिम पार्क, हिल स्टेसन र स्तरीय होटेल जस्ता पर्यटन पूर्वाधारमा लगानीको ठुलो सम्भावना रहेको पनि अध्यक्ष ढकालले उल्लेख गरे । बहुराष्ट्रिय कम्पनीहरूले नेपालमा गरेको लगानीबाट उच्च प्रतिफल प्राप्त गरिरहेकाले उत्पादन, कृषि प्रशोधन, आइसिटी सहित अन्य क्षेत्रमा लगानी बढाउन पनि अध्यक्ष ढकालले आग्रह गरे ।

बेलायत स्थित नेपाली राजदूतावासको पहलमा आयोजित लगानी सम्मेलनमा, नेपालका अर्थमन्त्री डा प्रकाश शरण महत सहित बेलायतको अन्तर्राष्ट्रिय लगानी निकायका उच्च अधिकारीहरू तथा बेलायती निजी लगानीकर्ताहरूले लगानीका अवसरहरूबारे छलफल गरेका थिए ।

प्रतिक्रिया