शनिबार, माघ २४, २०८२

संक्रमणकालीन न्यायबारे प्रमुख दलहरुबीच समझदारी

मेरोन्यूज २०८० कार्तिक १५ गते १७:४९

काठमाडौँ । प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बीच संक्रमणकालीन न्याय सम्बन्धमा समझदारी भएको छ ।

बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको छलफलमा समझदारी जुटेको हो ।

प्रधानमन्त्री दाहालले संक्रमणकालीन न्याय सम्बन्धमा प्रमुख दलहरुबीच समझदारी बनेको जानकारी दिए । एमालेले आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसँग प्रधानमन्त्री दाहालले बुधबार बिहान कांग्रेस सभापति र एमाले अध्यक्षसँग भएको भेटमा संक्रमणकालीन न्यायसम्बन्धी कानुनबारे समझदारी बनेको बताए ।

‘कांग्रेस सभापति, एमाले अध्यक्ष र म बसेका थियौं, एउटा अन्डरस्ट्यान्डिङ बनेको छ यो विषय छिट्टै टुंगिन्छ,’ प्रधानमन्त्री दाहालले भने ।

दाहालले पीडितलाई केन्द्रमा राखेर नै कानुन निर्माण हुने बताए । ‘हामीले पीडितकेन्द्रित भएर कानुन बन्ने भनेर पटक–पटक भन्दै आएका छौं । विधेयकमा पनि त्यही छ,’ उनले भने, ‘मैले जहिल्यै पनि दलहरुलाई एकै स्थानमा ल्याउन पहल गरेको छु । आज बिहानको मिटिङ पनि त्यही पहल हो । त्यो सकारात्मक भएको छ ।’

सत्य निरुपण तथा मेलमिलाप आयोग तथा बेपत्ता पारिएका व्यक्तिहरु छानबिनसम्बन्धी विधेयकले संसद्मा‌ विचाराधीन छ । कतिपय पीडितहरुले पीडितकेन्द्रित नभएको भन्दै आलोचना गर्दै आएका छन् ।

एमाले अध्यक्ष ओलीले राम्रै लक्षण देखिएको बताए । ‘अघि प्रधानमन्त्री ज्यु र म यहाँसँगै थियौँ, तपाईँहरूले देखिहाल्नुभयो । हाम्रो चेहरा, हाउभाउ, हात मिलाएको, मुस्कुराएको, खुसी भएको देख्नुभयो ।’, ओलीले भने, ‘एउटै चाडमा खुसीयालीपूर्ण ढङ्गले समावेश भएको देख्नुभयो । राम्रै लक्षण छ नि हैन त ।’

अध्यक्ष ओलीले शान्ति प्रक्रिया चाँडै सहमतिका साथ टुङ्ग्याउनुपर्ने पनि बताए । ‘भिक्टिमलाई सेन्टरमा राखेर टुङ्ग्याउनुपर्छ । सर्वोच्चको आदेश मानेर,अन्तर्राष्ट्रिय समुदायका कुरालाई ध्यान दिनुपर्छ र खास गरी पीडितलाई न्याय दिएर टुङ्ग्याउनुपर्छ’, ओलीको भनाइ छ ।

प्रतिक्रिया