धादिङबेँसीबाट तिप्लिङ छिचोलियो सडक सञ्जाल

मलेखु (धादिङ) धादिङको सबैभन्दा विकट बस्ती तिप्लिङमा मोटर बाटो जोडिएको छ ।
उत्तरी धादिङको सबैभन्दा दुर्गममा पर्ने रुविभ्याली गाउँपालिका–१ र २ मा पर्ने तिप्लिङमा धादिङबेँसीबाट मोटर बाटोले जोडेको हो ।
चार दशकअघिदेखि धादिङको सदरमुकामबाट खन्न सुरु गरेको उक्त सडक बल्ल तिप्लिङसँग जोडिएपछि स्थानीय खुसी भएका छन् । सडक सुविधा पुगेसँगै रुविभ्यालीको मुहार फेरिने आशा पलाएको गाउँपालिका अध्यक्ष रामसिंह तामाङले बताए । रुविभ्यालीको सबैभन्दा अग्लो स्थान तीन हजार आठ सय ५० मिटर उचाइमा पर्ने पाङसाङ प्रवेशद्वारसम्म अहिले सडक सुविधा पुगेको छ । विकट बस्ती लब्दुङबाट पुरुसम्म मोटर पुगिसकेको छ भने लापासम्म पुग्ने सडक भने खन्ने प्रयास भइरहेको अध्यक्ष तामाङले जानकारी दिए ।
धादिङको सदरमुकाम धादिङबेँसीबाट खनियबासको किन्ताङफेदी, रुविभ्यालीको सेर्तुङ हुँदै तिप्लिङको पाङसाङ पास निस्किएर रसुवाको स्याफ्रुबेँसी पुग्न सकिने भएको छ । तीन हजार आठ सय ५० मिटर उचाइमा खनिएको यो सडक जिल्लाकै सबैभन्दा उच्च स्थानमा खनिएको पहिलो सडक हो ।
धादिङ र रसुवाको सिमाना सोम्दाङबाट तिप्लिङसम्म २८ किलोमिटर सडक विभाग, गाउँपालिका र विभिन्न गैरसरकारी संस्थाको रु दुई करोड ५० लाखको लागतमा निर्माण गरिएको हो । सदरमुकाम धादिङबेँसीबाट ७० किलोमिटर सडक भने नेपाल सरकारको लगानीमा खनिएको रुविभ्याली गाउँपालिकाका उपाध्यक्ष फेलामा तामाङले जानकारी दिए । सडक पुगेपछि आवतजावतमा त सहज भएको छ नै विकास निर्माणका कामका लागि निर्माण सामग्री ढुवानीमा समेत सजिलो भएको तामाङले बताए ।
मोटर चल्ने सडक नहुँदा त्यस क्षेत्रका स्थानीय तीनदेखि चार दिनको पैदल हिँडेर धादिङसम्म आउनुपर्ने बाध्यता रहेकामा अब भने सो बाध्यता हट्ने र एकै दिनमा धादिङको सदरमुकाम आइपुग्न सकिनेछ । पशुपालन र जडीबुटी उत्पादनका लागि राम्रो मानिएको तिप्लिङमा सडक पुगेसँगै अब विकासको लहर आएको आभास स्थानीयले गरेका छन् । सडक सञ्जाल जोडिए पनि सबैखालका मोटर भने जान सक्दैन । धेरै घुम्ती र उकालो–आरालो अत्यधिक भएकाले जोखिम भने थुप्रै छ । खोलामा पुल नहुँदा पानीमै जोखिम मोल्नुपर्ने बाध्यता छ ।
















दुर्गा प्रसाईलाई तत्काल रिहा गर्न राप्रपाको माग
पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै, कस्ले जित्ला झापा–४ यसपालीकाे निर्वाचन ?
साफ यू-१९ महिला च्याम्पियनसिपमा भारतलाई उपाधि
इस्लामाबादको मस्जिदमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो
टी-२० विश्वकपः पाकिस्तानको विजयी सुरुवात
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
राष्ट्रिय महिला क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
प्रतिक्रिया