सोमबार, माघ २६, २०८२

टिकटकसँग सद्भाव बिगार्ने सामग्री हटाउन सरकारले माग्यो सहयोग

मेरोन्यूज २०८० कार्तिक १९ गते १८:१७

काठमाडौं । सरकारले टिकटकका अन्तर्राष्ट्रिय प्रतिनिधिहरुसँग टिकटकमा प्रकाशन तथा प्रसारण हुने गैरकानूनी सामग्री स्वतः हट्ने व्यवस्था मिलाउन आग्रह गरेको छ ।

गृह मन्त्रालयले टिकटक दुरुपयोग गरेर हालिने यस्ता सामग्रीलाई हटाएर शान्ति सुव्यवस्था र समाजिक सद्भाव कायम राख्न सहयोग गर्न आग्रह गरिएको जनाएको छ । दोषीउपर कानुन बमोजिम कारवाही गर्न नेपाल प्रहरीको साइवर व्युरो लगायत सरकारी निकाय र सिंगापुरस्थित टिकटकको कार्यालयबीच सहकार्य बढाउने सहमति पनि भएको छ ।

टिकटकमार्फत सामाजिक सद्भाव बिगार्ने, घृणा तथा विद्वेष फैलाउने, विशिष्ट व्यक्तिहरुको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव बिगार्ने र अश्लील खालका गतिविधि तथा सामग्रीहरु हटाउन र त्यस्ता कार्य गर्ने व्यक्तिहरु पत्ता लगाई कानूनी कारवाहीको दायरामा ल्याउन सहज हुने भएको गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

‘जिम्मेवार नागरिकको रुपमा कानुनसम्मत शिक्षामूलक र सामाजिक सद्भाव नविगार्ने सामग्री मात्र प्रकाशन, प्रसारण गरी असल नागरिकको भूमिका निर्वाह गर्न र गैरकानुनी कार्य गरेवापत हुने कानूनी कारबाहीबाट बच्न सम्बन्धित सबैमा अनुरोध गरिन्छ’, गृह मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

गृह मन्त्रालयले गलत सामग्रीले व्यक्ति तथा समाजलाई नकारात्मक प्रभाव पर्ने, व्यक्तिको चरित्र हत्या गर्ने, शान्ति सुरक्षाको अवस्था बिगार्ने, जातीय, भाषिक, धार्मिक सदभाव खल्बल्याउने र राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्ने लगायतका दुष्प्रभाव सिर्जना गर्ने बताएको छ ।

प्रतिक्रिया