सोमबार, चैत ३०, २०८२

हिमचितुवाको आक्रमणबाट ८२ च्याङ्ग्रा मरे

मेरोन्यूज २०८० कार्तिक २५ गते १४:५२

म्याग्दी । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ ढाक्मरमा हिमचितुवाको आक्रमणबाट एउटै खोरमा रहेका ८२ च्याङ्ग्रा मरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

मिङ्मार गुरुङको खोरमा गएराति पसेका हिमचितुवाले आक्रमण गर्दा ८२ च्याङ्ग्रा मृत र आठ घाइते अवस्थामा भेटिएका वडा सदस्य ङवाङ छवत्तर गुरुङले जानकारी दिए ।

“रातको समयमा तारबारसहितको पर्खाल नाघेर खोरभित्र पसेका चार वटा चितुवाले च्याङ्ग्रा मारेको हो”, उनले भने, “रू ३० लाखभन्दा बढीको क्षति गरेको अनुमान गरेका छौँ ।” वडा सदस्य गुरुङका अनुसार केही च्याङ्ग्राको आन्द्राभुँडी निकालेर छाडेको छ भने धेरैको रगत खाएर मारेको छ । घाइते च्याङ्ग्राको पनि मृत्यु भएको वडा कार्यालयले जनाएको छ

मुस्ताङमा हिमचितुवाले पु¥याएको यो अहिलेसम्मको ठूलो क्षति भएको कृषकको भनाइ छ । लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्ट, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको इलाका संरक्षण कार्यालय लोमान्थाङ र चराङ प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थलमा पुगेका छन् ।

हिमचितुवा संरक्षित दुर्लभ वन्यजन्तु हो । मुस्ताङमा हिमचितुवा कति छन् भन्ने यकिन तथ्याङ्क छैन । ढाक्मर गाउँको पश्चिमतर्फको ठूलो रातो पहाडको ओढारमा हिमचितुवाको बासस्थान रहेको स्थानीय छिरिङ गुरुङले बताए ।

गत वर्ष मुस्ताङमा वन्यजन्तुको आक्रमणबाट १९ कृषकको ६५ पशु मरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र वन डिभिजन कार्यालय मुस्ताङको तथ्याङ्क छ ।

प्रतिक्रिया