बिहीबार, चैत १९, २०८२

विश्वकप फाइनल : अस्ट्रेलियाका यी खेलाडीले बिगार्न सक्छन् भारतको खेल

मेरोन्यूज २०८० मंसिर ३ गते १३:५२

काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटको फाइनल खेल आइतबार हुँदैछ । फाइनलका लागि अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भारत र अस्ट्रेलिया भिड्दै छन् ।

Advertisement
nepal life insurencenepal life insurence

आजकाे खेलमा एकतिर भारतीय टोली छ, जसले पूरै प्रतियोगितामा एक खेल पनि हारेको छैन। अर्कोतर्फ अष्ट्रेलियाको टोली, जो लिग खेल र सेमिफाइनलमा उत्कृष्ट प्रदर्शन गरेपछि बलियो लयमा देखिएको छ ।

भारत १२ वर्षपछि चौथो पटक एकदिवसीय विश्वकपको फाइनलमा पुगेको हो । यस्तै अस्ट्रेलियाको टोली आठौं पटक फाइनलमा पुगेको हो । तर भारतको प्रदर्शन र फर्मलाई हेर्दा क्रिकेट फ्यानहरूले टिम इन्डियालाई ‘क्लियर कट विनर’ मान्न थालेका छन्।

तर पछिल्लो केही खेलमा अस्ट्रेलियाली टोलीका केही खेलाडीले देखाएको असाधारण प्रदर्शनका कारण तिनले फाइनलमा भारतको खेल बिगार्नसक्ने चर्चा पनि भइरहेको छ।

यस्तो अवस्थामा भारतीय टोलीले अस्ट्रेलिायका ब्याट्सम्यानसँग बढी सजग रहनुपर्नेछ। अस्ट्रेलियाको ब्याटिङ लाइनअपले यो विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो क्षमता प्रमाणित गरेको छ।

चरम दबाबमा पनि अभूतपूर्व प्रदर्शन गर्दै अफगानिस्तानविरुद्ध आफ्नो टोलीलाई जित दिलाउन सफल ग्लेन म्याक्सवेल होस् वा डेभिड वार्नर, जसले सुरुवाती ब्याटिङले विपक्षी टोलीको मनोबल चकनाचुर पारेका छन्।

यी ब्याट्सम्यानले दिन सक्छन् चुनौती
अष्ट्रेलियाका ब्याट्सम्यानले ठुलो स्कोर बनाउने देखि रन पछ्याउने दबाबको सामना गर्ने क्षमता देखाएका छन्।

विश्वकपमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको कुरा गर्ने हो भने प्रदर्शनका आधारमा अष्ट्रेलियाका तीन ब्याट्सम्यान शीर्ष १२ मा परेका छन् ।

अस्ट्रेलियाका ओपनिङ ब्याट्सम्यान डेभिड वार्नरले विश्वकपका १० खेलमा ५२.८० को औसतमा ५२८ रन बनाएका छन् । जसमा दुई शतक र दुई अर्धशतक समावेश छ ।

आक्रामक ब्याटिङका ​​लागि चर्चित वार्नर विश्वकपमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा छैटौं स्थानमा छन् ।

उनी बाहेक ब्याटिङमा मिचेल मार्सको प्रदर्शन उत्कृष्ट रहेको छ । उनले खेलेका नौ खेलमा ५३.२५ को औसतमा ४२६ रन बनाएका छन् ।

उनी विश्वकपमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा नवौं स्थानमा छन् । मार्सले यो विश्वकपमा अहिलेसम्म दुई शतक प्रहार गरिसकेका छन् ।

यस बाहेक ग्लेन म्याक्सवेल पनि यो सूचीमा १२ औं स्थानमा छन् ।

के होला भारतको रणनीति ?
विश्वकपमा अष्ट्रेलियाको लिग चरणको अन्तिम खेलमा म्याक्सवेलले अफगानिस्तानविरुद्ध दोहोरो शतक प्रहार गरी टोलीलाई जित दिलाएको अवस्थालाई एकदिवसीय क्रिकेटको अहिलेसम्मकै उत्कृष्ट इनिङ्स मानिन्छ ।

यो अविस्मरणीय पारी खेलेका म्याक्सवेलले अहिलेसम्म प्रतियोगितामा ६६ को औसतमा ३९८ रन बनाएका छन् । उनले आफ्नो आक्रामक ब्याटिङबाट जुनसुकै बेला खेलको ढाँचा बदल्न सक्ने क्षमता रहेको प्रमाणित गरेका छन् ।

यस्तो अवस्थामा भारतीय टोलीले म्याक्सवेलसँगै वार्नर र मार्सलाई पनि मैदानमा धेरै समय बिताउन नदिने प्रयास गर्नेछ ।

यी सबै खेलाडीहरूले कुनै पनि बलिङ आक्रमणलाई ध्वस्त पार्न सक्छन् भन्ने कुरामा कुनै शंका छैन।

अस्ट्रेलियाका उत्कृष्ट बलरको कुरा गर्ने हो भने विश्वकपमा एडम जाम्पाले धेरै उत्कृष्ट ब्याट्सम्यानलाई आफ्नो स्पिन जालमा फसाएर पेवेलियन पठाए।

उनले १० खेलमा २२ विकेट लिए र विश्वकपमा दोस्रो सर्वाधिक विकेट लिने बलर हुन्। फाइनलमा जाम्पाको जादुले काम गर्‍यो भने भारतीय ब्याटिङ लाइनअपलाई समस्या पर्नसक्छ।

यदि अष्ट्रेलियाको टोलीमा भारतीय खेल बिगार्ने खेलाडी छन् भने भारतीय टोली पनि त्योभन्दा कम छैन । भारतीय खेलाडीले पनि यसअघिका खेलमा बलियो प्रदर्शन गर्दै आफ्नो क्षमता प्रमाणित गरेका छन् ।

-बीबीसीबाट

प्रतिक्रिया