दूधको मूल्य घट्दा किसान निराश

नारायणगढ (चितवन) । रत्ननगर नगरपालिका–१६ हात्तीगौँडेका युवराज थापा केही वर्षअघिसम्म कुनै संस्थामा जागिर खान्थे ।
जागिर मात्रैले घरखर्च चल्ने अवस्था नदेखेपछि उनले जागिर छाडेर घरमा घरायसी प्रयोजनका लागि पालिएकामा तीन–चारवटा गाई थपेर गङ्गा–जमुना गाईफार्म दर्ता गरी व्यावसायिकरूपमा गाई पाल्न थाले । केही महिना अघिसम्म ५५ वटा गाई रहेको उनको गोठमा हाल ४५ वटा गाई छन् । व्यावसायिकरुपले गाई पाल्न थालेको एक दशक पुग्नै लाग्दा दूध बिक्रीमा खासै समस्या नआएकामा यसवर्ष भने बिक्रीमा समस्या भएको छ । कृषक थापा भन्छन्, “गत वर्षको दसैँ र तिहारमा पनि दूध बिक्रीमा समस्या थिएन, यसपालिको दसैँ–तिहारमा भने दूध नबिकेकाले समस्या आयो ।”
व्यावसायिकरूपमा गाईपालन गर्न सुरुमा घाँसको राम्रो प्रबन्ध गर्नुपर्ने उनको अनुभव छ । आफ्ना गाईका लागि दुई बिघा जग्गामा सुपर नेपियर घाँस तथा अन्य स्थानमा जैलगायत मौसमी घाँस लगाएका कृषक थापा सबै पशुपालक किसानले व्यवसाय गर्दा घाँस लाउन अनिवार्य रहेको बताउछन् ।
उनी भन्छन्, “गाईलाई घाँस नभइकन उत्पादन हुँदैन, दाना चोकर खुवाउनभन्दा घाँसमा आधारित रहनुपर्छ ।” रत्ननगर–१६ मा रहेको आफू आवद्घ भद्रकाली दूध उत्पादक सहकारीबाट सुपर नेपियर घाँसको कार्यक्रममार्फत अन्य किसानलाई पनि घाँस लगाउन प्रेरित गरेको उनको भनाइ छ । थापाको गोठ (फार्म) मा हाल होलस्टेन र जर्सी जातका गाई छन् । उनी दैनिक गोठमा खटेर काम गर्नाका साथै सहयोगी पनि राखेका छन् ।
गाईलाई लाग्ने साधारण रोग तथा प्राविधिक समस्याको समाधानका लागि आफैँ योग्य रहेको र थप जटिल समस्या तथा रोग लागेमा मात्र पशु प्राविधिक बोलाउने गरेको कृषक थापा बताउछन् ।
भद्रकाली दूध उत्पादक सहकारी संस्थाको अध्यक्षसमेत रहेका उनले आफूलाई मात्रै नभएर अन्य किसानको समस्याका लागि पनि सहयोगी भूमिका निर्वाह गर्दै आएका छन् । थापा हाल नेपालका बजारमा बाहिरबाट दूध आएकाले यहाँको दूध बिक्रीमा समस्या भएपछि गाई घटाउँदै लग्नुपरेको गुनासो गर्छन् । दैनिक तीन सय लिटर दूध उत्पादन हुँदै आएको उनको फार्ममा हाल गाई घटेसँगै उत्पादन पनि घटेको छ ।
थापा भनछन् , “भारतबाट दूध तथा पाउडर आएका कारणले नेपालको दूध खपत हुन सकेको छैन । डेरीमा लगेको दूध बेलुका व्यापारी लिन आउने वा नआउने थाहा छैन त्यही भएर गाई बेच्नु परेको हो ।” केही समय अघि मात्रै रु ७९ प्रतिलिटरमा बिक्री भएको दूध हाल रु ७० मा दिनुपरेको गुनासो गर्दै उनी भन्छन् “व्यापारीले दूध नलाने र सधैँ मूल्य मात्र घटाउने गर्दा पेसाप्रति नै नैरास्य भएर छाड्नुपर्ने स्थिति भयो । विगतका वर्षमा यस्तो समस्या थिएन ।”
किसानको समस्या राज्यले समाधान गर्ने हो भने कसैले पनि रोजगारीका लागि विदेश जानुपर्दैन । उत्पादनले मूल्य पाएमा यही जति पनि अवसर रहेको कृषक थापाको भनाइ छ । दूधै बेचेर छोराछोरीलाई पढाउनेदेखि घरखर्च राम्रैसँग चलाए पनि हाल दूध बिक्री नहुँदा अलि अलमलमा परेका उनी भन्छन्, “मुख्य बजारमा लैजादा दूध खरिदको मात्र घटेको छ । मैले बुझ्दा दूध खानेलाई महँगो र उत्पादन गरी बेच्नेलाई सस्तो भएको छ ।”
















काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल
निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
प्रचारप्रसार गर्नुअघि राजनीतिक दल वा उम्मेदवारले घोषणापत्र सार्वजनिक गर्नुपर्ने
निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन आग्रह
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया