भूकम्पपीडितको मानसिक समस्या पहिचान गर्न परामर्श सेवा

त्रिवेणी (रुकुम पश्चिम) । भूकम्पपीडितको मानसिक समस्या पहिचान गर्न रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले एकीकृत स्वास्थ्य घुम्ती शिविरमार्फत परामर्श सेवा प्रवाह गरिरहेको छ ।
गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी घाइते तथा बिरामीका लागि चिकित्सकको समूह टोल–टोलमा पुगेर विभिन्न संस्थाको सहयोगमा भूकम्पपीडितलाई स्वास्थ्य सेवा प्रवाह गरिरहेको हो ।
दुई दिन सञ्चालन भएको स्वास्थ्य शिविर बिहीबार सम्पन्न भए पनि विभिन्न सङ्घसंस्थाको सहयोगमा भूकम्पपछिको मानसिक तनाव कम गर्न प्रभावित क्षेत्रमा मनोसामाजिक परामर्शको काम जारी रहेको आठबीसकोट नगरपालिकाका स्वास्थ्य संयोजक प्रेमप्रकाश रोकायले जानकारी दिए । उनका अनुसार दुई दिन लगाएर भूकम्पले बढी प्रभावित पारेको क्षेत्र वडा नं ९, १०, ११, १२, १३ र १४ मा घाइते तथा बिरामीको निःशुल्क स्वास्थ्य चाँज तथा बिरामीलाई आवश्यक औषधि पनि उपलब्ध गराइएको हो ।
नगरपालिकामा दुई दिन सञ्चालन गरिएको शिविरमा जाँच गरिएका घाइते तथा बिरामीमा कुनै न कुनै खालको समस्या देखिएको रोकायले बताए । नगरपालिकामा बढी प्रभावित वडा नं ९ देखि १४ सम्मका घाइते, बिरामी तथा सर्वसाधारणको जाँच गर्दा ज्वरो, रुघाखोकी, पखाला, शरीर दुख्नेदेखि मानसिक समस्यासम्म देखिएको उनले जानकारी दिए ।
सामान्य खालका बिरामीलाई औषधि दिइएको जनाउँदै मानसिक समस्या देखिएकालाई तत्कालका लागि सामान्य परामर्श दिइएको रोकायले बताए। सामान्य परामर्शले मानसिक समस्या कम नहुने भएकाले यही मङ्सिर ११ गते नगर अस्पतालमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक परार्मश शिविरमा सञ्चालन गरिने उनले जानकारी दिए ।
नगरपालिको आयोजनामा सिएमसी नेपालको प्राविधिक सहयोगमा वरिष्ठ मानसिक रोग विशषज्ञद्वारा मानसिक तथा मनोसामाजिक परामर्श शिविर सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।
भूकम्पका कारण बढी प्रभावित क्षेत्रमा पीडितमा मानसिक समस्या देखिएकाले आवस्यक सुझाव दिई तनाव कम गर्न वडा–वडामा विभिन्न मनोसामाजिक परामर्श सेवा केन्द्र सञ्चालन गरिएको नगरपालिकाका स्वास्थ्य संयोजक रोकायले जानकारी दिए ।
पीडितको समस्या बुझ्न, आवश्यक सल्लाह, सुझाव दिन र मानसिक समस्या पहिचानको विवरण सङ्कलन गर्न विभिन्न सङ्घसंस्थाले नगरपालिकासँग समन्वय गरिरहेका नगरउपप्रमुख धनकुमारी शाहीले जानकारी दिए । उनका अनुसार सामाजिक क्षेत्रमा काम गर्दै आएका ओरेक, टिपिओ, सिएमसी र सोसेस नेपालले सहकार्य गरिरहेका छन् । उपप्रमुख शाहीले बढी प्रभावित क्षेत्र तथा आफन्त गुमाएका परिवारलाई पहिलो प्राथमिकतामा राखेर परामर्श सेवा दिइने जानकारी दिए ।
पछिल्लो समय अत्यधिक चिसो बढेकाले परिवारमा ज्वरो, रुघाखोकीलगायत स्वास्थ्य समस्या देखिन थालेको आठबीसकोट–१३ भल्माका स्थानीय हरिबहादुर ओलीले बताए । उनका अनुसार केही भूकम्पपीडित परिवारलाई अस्थायी आवास निर्माण भए पनि धेरै पीडित घरपरिवार अस्थायी आवास निर्माण नहुँदा भूकम्पपीडित त्रिपालमै रात कटाउन बाध्य छन् ।
अस्थायी आवास समयमै नबन्ने हो र त्रिपालकै साहारा भइरहने हो भने अझ धेरै स्वास्थ्य समस्या देखिने शिक्षक भीवबहादुर ओलीको भनाइ थियो ।
















गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
पुरातत्व विभागका तत्कालीन इन्जिनियर र सहायक पथप्रदर्शकविरुद्ध भ्रष्टाचार मुद्दा दायर
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
राष्ट्र बैंकले आजका लागी निर्धारण गरेको मुद्राको विनिमयदर
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
प्रतिक्रिया